स्याङ्जामा डेंगुविरुद्ध अभियान

समाधान संवाददाता २०७६ भदौ २६ गते १३:०६

सुशील सुवेदी
वालिङ

डेंगु रोग देशभर त्रासको विषय बनेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग नियन्त्रण गर्न वालिङ नगरपालिकाले लामखुट्टेको बसोबास हुने क्षेत्र पहिचान गर्दै सफा गर्ने अभियान सुरु गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका र फेदीखोला गाउँपालिकामा बुधबार यस्तै अभियान चलाएको छ ।

वालिङ नगरपालिकाले ‘सर्च एन्ड डिस्ट्रोए’ अभियान अन्तर्गत नगरभित्रको बजार क्षेत्रमा पानी जमेका स्थानमा ‘ब्लिचिङ पाउडर’, लामखुट्टेको बसोबास हुने सम्भावित क्षेत्रमा सफाइ गर्दै घर घरमा सचेतनामूलक कार्यक्रम गरेको छ ।

Advertisement

रोग लागेपछि पछुतो मान्नुभन्दा रोग लाग्न नदिन सचेतनामूलक कार्यक्रम गरिएको नगरप्रमुख दिलीप प्रताप खाँणले बताए । ‘सर्च एन्ड डिस्ट्रोए’ अभियानमा सहयोग गर्न नगरबासीलाई आग्रह गर्दै खाँणले भने, ‘जबसम्म डेंगु रोगको प्रकोप कम हुँदैन तबसम्म यो अभियान जारी रहन्छ ।’

वालिङ मोडबाट सुुरु गरिएको अभियानमा बजार क्षेत्रका चोक चोकमा कोण सभा र माइकिङ गर्दै डेंगु रोगबारे सचेत गराइएको थियो । वर्कसपमा रहेका टायरमा पानी जम्न नदिन सम्बन्धित व्यक्तिहरुलाई सचेत गराइएको थियो भने माइकिङमार्फत घर वरिपरि पानी जम्ने स्थानमा पानी जम्न नदिन वा पानीका ड्रमहरु, बाल्टिन छोपेर राख्न सुझाव दिइएको थियो ।

Advertisement

फेदीखोलामा भने विद्यालयका विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम गरिएको छ । १ हप्तासम्म चलेको कार्यक्रम अन्तर्गत पालिकाको स्वास्थ्य शाखाले २४ विद्यालयमा अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । अभियानमा रोग लाग्ने कारण, लक्षण र रोकथामको उपाय पाठ्यपुस्तकमा पनि पढ्ने हुनाले विद्यार्थीलाई नै व्यावहारिक ज्ञान दिँदा आफ्नो घर र समाजमा सकारात्मक सन्देश फैलिने सुवेदीको विश्वास छ । उनले भने, ‘विद्यार्थीलाई रोग लाग्न नदिने उपाय सिकायौँ भने घरमा र टोलमा उनीहरुले नै सिकाउँछन् ।’

वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख मणि पंगेनीले सचेतनामूलक कार्यक्रमले ज्वरो आउनासाथ स्वास्थ्य चौकीमा चेक जाँच गर्न जाने बानी विकास भएको बताए । उनले भने, ‘सामान्य ज्वरो आउँदा बेवास्ता गर्ने बिरामी स्वास्थ्य चौकी जान थालेका छन् । उनीहरुमध्ये जिल्लाभर करिब ४० जनामा डेंगु देखिएको छ ।’ नगरभित्र २ जनामा डेंगु देखिएको पंगेनीले बताए ।

तपाईको प्रतिक्रिया