बांगो शीर्षकः सिधै डलर कमाइ
सुमन थापामगर
केही दिनअघि स्याङ्जाको हरिनास गाउँपालिका ललहीको मीनडाँडाका ३० वर्षीय चित्रबहादुर र उनका ४ वर्षीय छोरा रिजन खड्काको निर्मम तरिकाले मारिए । मृक्तकको सानो छोरालाई नदेखेको भए पनि म चित्रलाई चिन्थेँ । मेरो र उसको गाउँको दुरी लगभग आधा घण्टाको फरकमात्र छ । अझै ठाउँठाउँका सडक सुविधा पुगेपछि त त्यो दुरी पनि केही मिनेटमा नै घटेको छ ।
जिल्ला सदरमुकामबाट धेरै टाढा यो ठाउँ पोखराबाट लगभग ३ घण्टामा नै पुग्न सकिन्छ गाडीमा । ललहीमा बाबुछोराको हत्या भयो रे भन्ने फेसबुकमा देख्दा को रहेछ भन्ने मनमा लाग्यो । पहिले को हो को भन्ने भएपनि बाबुछोराको फोटो नै देखेपछि झसङ्ग भएँ, अनि मन एक तमासको बन्यो । म रेडियोमा समाचार पढ्ने समाचार बाचिक पनि, आफैँले चिनको साथीको हत्याको समाचार पढ्न निकै सकस भयो । केही समय दिमागले काम समेत गरेन । घटना किन र कसरी भयो भन्ने प्रश्नले मनमा डेरा जमायो । घटना भएको केही दिन बितिसके । त्यही समाचार लगातार मिडियामा आइरहँदा अझै पनि मेरो मनमा यो प्रश्न आउन छोडेको छैन ।
त्यतैका साथी घटनाका बारेमा जान्न उत्सुक छन् । धेरैले फोन, फेसबुक तथा अन्य सामाजिक सञ्जालको माध्यमबाट अनुसन्धानमा के भइरहेको छ, यो विषयमा बुझिरहेका छन् । मेरो पनि मनमा अझै ऊ र उसको छोरालाई कसले त्यस्तो निर्ममतापूर्वक हत्या ग¥यो भन्ने प्रश्न छ ।
यही प्रश्न र उत्तरको बीचमा समाचार पढ्नुभन्दा पहिले फेसबुक चलाइरहेकी थिएँ, अचानक मेरो आँखा फेसबुकमा कसैले सेयर गरेको भिडियो देखेँ, उही साथी र छोरोको तस्बिरसहित भिडियो । आफैँले चिनेको मान्छेको बारेमा के भनेको रहेछ भनेर त्यो युट्युब खोलेर हरेँ ।
भिडियोको हेडलाइन हेरेर म आफैँ छक्क परे । ‘स्याङ्जामा ४ वर्षका छोरा र ३० वर्षका बुबालाई टुक्राटुक्रा पारेर पापीले’, ‘सानो नाति र छोराको हत्यारालाई फाँसी दे’, ‘मुकुट लगाएर आएका थिए हत्यारा’ जस्ता अप्ठेरो लाग्ने शीर्षक देखिए । मृतकका आमाबाबालाई बोल्न लगाइएको थियो ।
उनीहरु छोरा तथा नातिको हत्यारालाई पत्ता लगाएर सजाय दिन आँसु झार्दै बोलिरहेका थिए । शीर्षक र भिडियोको सामग्री हेर्दा लाग्यो सायद मानिस सोचभन्दा धेरै संवेदनहीन बनिसकेछन् । जवान छोरा र नाबालक नाति गुमाएको परिवारलाई गएर माइक ठड्याउँदै के भन्न चाहनुहुन्छ, कसले मा¥यो तपाईंको परिवारको सदस्यलाई भनेर सोध्न कसरी सकेका होलान् ? घटना भइसकेपछि कतिपय कुरालाई अनुसन्धानका लागि मिडियामा बाहिर नल्याउने प्रहरीको नीति हुन्छ । तर यी सबै कुरालाई बेवास्ता गर्दै घटना हुनासाथ उनीहरु माइक, क्यामरासहित घटनास्थल नै सार्वजनिक गर्न तल्लीन बन्छन् र घटनाका बारेमा आफ्नै मत राख्छन् मानौं कि उनीहरु नै प्रहरी, अदालत तथा न्यायाधीश हुन् ।
घटनास्थल समेत केही नसोचेर सार्वजिक गरिदिन्छन् । यस्तो अवस्थामा अनुसन्धानका लागि प्रहरीलाई समस्या आउन सक्छ भन्ने सोच्नुपर्छ, तर यो विषयमा युट्युबर गम्भीर भएको देखिएका छैनन् । हुन त पत्रकारको धर्म नै सूचना खोतल्नु हो, त्यहाँ आफ्नो भावनालाई सकेसम्म दबाउनुपर्छ भनिन्छ । यसको मतलब मानवता नै बिर्सनुपर्छ भन्ने होइन ।
यो त एउटा उदाहरणमात्र हो आजभोलि । सामाजिक सञ्जालको प्रयोग बढेसँगै युट्युब च्यानल खोलेर भिडियो अपलोड गर्दै डलर कमाउने अभियान नै चलेको छ अहिले । केही राम्रा र उत्कृष्ट सामग्री पेस गर्ने युट्युब च्यानल नभएको होइन । तर नराम्रोको भीडमा राम्रा युट्युब च्यानल पनि हराएका छन् । व्यक्ति अनुसार नै युट्युब च्यानल हुन्छन् । शीर्षक हेर्दा के नै होला भनेर खोलेर हेरे सामग्री अर्कै हुन्छ । शीर्षक अर्कै, त्योभित्रको सामग्री अर्कै हुने युट्युब च्यानलको बिगबिगी छ आजभोलि । यसले धेरैलाई समस्यामा पनि पारेको छ ।
कुनै घटना भए युट्युब च्यानल चलाउने नै माइक, क्यामरा बोकेर सबैभन्दा अगाडि पुग्छन् । घटनाका विषयमा उनीहरुको आफन्तलाई नै बोल्न लगाइन्छ । मलाई कहिलेकाहीँ लाग्छ, त्यसरी आफन्त गुमाउने कसरी त्यसरी बोल्न सकेका होलान् ? हुन त हत्या जस्तो जघन्य अपराधमा आफ्नो आफन्तलाई गुमाउँदा न्यायको आशामा आक्रोश पनि व्यक्त गरेका होलान् । तर के, आफन्तले आक्रोश व्यक्त गरे भन्दैमा हामीले त्यसलाई नै डलर कमाउने माध्यम बनाउने त ? के उनीहरुमा संवेदना छैन ? आफन्तलाई गुमाएर पीडामा बसेकालाई कहिले पनि मनमा मेरा पनि परिवारमा यस्तै घटना घटेको खण्डमा यस्तै प्रश्न अरु युट्युबरले सोधे भने म के गर्छु होला ? भन्ने सोच आयो कि आएन होला त्यस्ता युट्युबरलाई ?
केही समय अगाडि १ जना पत्रकार दाइले एउटा युट्युबरले यस्तै सामग्री अपलोड गरेर महिनामा २÷३ लाख कमाउने बताए । ती दाइको बुझाइमा पनि यस्तो विषयवस्तु समेट्नु नराम्रो विषय थिएन । उक्त युट्युबको सब्सक्राइब तथा लाइक्स् हेर्दा हो कि जस्तो पनि लाग्यो । त्यहाँ पनि शीर्षक हेर्दा खतरै भिडियो राखिएको होला भन्ने लागेको थियो । तर भिडियोमा त्यति धेरै सामग्री नै थिएन । शीर्षक एउटा तर सामग्री अर्कै । अनि सोच्न बाध्य भएँ कसैको भावना, वेदना र संवेदना पस्किएर कमाएको पैसा पनि कमाइ नै हुन्छ ?
हरेक व्यक्ति मरेर जानै पर्छ । अनि घाटमा कसैको शव जलाएकोदेखि उनीहरुको आफन्तको रोदन र पीडालाई पस्किएर डलर कमाउनेले आफैँले आफैंलाई प्रश्न गर्नैपर्छ ‘के साँच्चै मैले राम्रो काम गरेको छु त कसैको पीडा र रोदनलाई बेचेर ?’ यस्ता सामग्रीले युट्युबरले डलर कमाएपनि उनीहरुको परिवारमा के समस्या आउन सक्छ भन्ने सोच्नुपर्छ । कामभन्दा पहिले मानवता कुनै पनि हालतमा बिर्सनु हुँदैन हामीले । केही युट्युब च्यानलबाट भने राम्रा विषयवस्तु पनि आइरहेका छन् । राम्रा च्यालनमा न त हेरौं हेरौं लाग्ने शीर्षक हुन्छ, न त त्यस्ता संवेदनविहीन विषयवस्तु नै । हरेक कुराको फाइदा तथा बेफाइदा दुवै हुन्छन् । सामाजिक सञ्जालका पनि छन् । तर अहिले सामाजिक सञ्जाललाई नकारात्मक तरिकाले प्रयोग गर्नेको संख्या बढिरहेको छ ।
आफ्नो आफन्तको मृत्यु सबैलाई पीडादायक हुन्छ । कसैलाई गुमाउनुपर्दाको पीडा भोग्नेले मात्र थाहा पाउन सक्छन् । त्यही आँसु, रोदन सबैलाई प्रयोग गरेर डलर कमाउनु पक्कै पनि ठीक होइन । युट्युबले डलर दिँदैनथ्यो भने कतिले युट्युबमा पत्रिकारिता गर्थे होलान् ? थुप्रैलाई यहाँ पत्रकारिताको प्यासन भन्दा पैसाको प्यास ज्यादा छ ।
युट्युबको माध्यमबाट घटनाका विवरण राम्रो शीर्षक र सही तरिकाले प्रस्तुत गर्न सकिन्छ । तर अहिले सब्सक्राइब र लाइक्स् वृद्धि गर्ने बाहनामा शीर्षकलाई बांगोटिंगो बनाउने चलन बढेको छ । कोही चर्चित व्यक्तित्वका मृत्यु भएको सुन्नासाथ युट्युब च्यानल चलाउने व्यक्ति पत्रकारभन्दा अगाडि गएर भिडियो खिचिसकेका हुन्छन् । जहाँ घाटमा भइरहेको हरेक कुरा पस्किएको हुन्छ । कसैको रोदन सुनेर युट्युब चलाउनेको मनमा पीडा हुन्न होला जस्तो लाग्छ त्यो सबै हेर्दा । हो, युट्युबर पनि पत्रकार नै होलान् र पत्रकारिताको अधिकार उनीहरुले प्रयोग गर्न पाउनुपर्छ । तर अधिकार पाएका छौं भन्दैमा आफ्नो कर्तव्य पनि त बिर्सनु हुँदैन ।
अहिले त युट्युबबाट नै भाइरल हुनेको भीड नै छ । केही व्यक्ति हिट भएका पनि छन् । युट्युबमार्फत् नानाथरी अन्तर्वार्ता दिएर भाइरल भएका छन् । अझै भनौं बजार भाइरल हुनेको नै छ । तर भाइरल हुन नचाहने र राम्रै काम गरेर मिडियामा आउन चाहनेलाई यस्तो च्यानलले पीडा दिएको छ ।
बोलेको विषय एउटा हुन्छ, शीर्षक अर्कै राखिन्छ, त्यो पनि नकारात्मक रुपमा । अनि त्यही भिडियो तथा शीर्षकले नै केहीलाई असर गरिरहेको हुन्छ । यहाँ सकारात्मकभन्दा पनि नकामरात्मक कुराले बजार पिटिरहेका छन् । केही समय अगाडि नायिका स्वस्तिमा खड्काले त्यसरी नै भिडियो तथा शीर्षकलाई एउटा युट्युब च्यानलले फरकफरक राखिदिएपछि युट्युबरलाई आफूले पत्रकार नै नमान्ने बताइन् । राम्रो विषयमा बोल्दासमेत शीर्षक नकारात्मक राखेर भिडियो सार्वजनिक गरिदिँदा आफूले केही समय तनाव भोग्नुपरेको उनको अनुभव थियो ।
मिस नेपाल वल्र्ड २०१८ शृंखला खतिवडाको पनि पीडा त्यस्तै छ । सामाजिक सञ्जालले उनलाई धेरै असर गरेको छ । उनले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘जहाँ मैले अन्तर्वार्ता राम्रो गरेछु भन्ने सोच आउँछ त्यहाँ भ्यु बढी आएको हुन्न, तर शीर्षक बंग्याएर उच्छृंखल बनाइदिँदा भ्यु बढी आइरहेको हुन्छ ।’ सामाजिक सञ्जाललाई सही ढंगले प्रयोग गर्नुपर्नेमा अहिले नकारात्मक ढंगले प्रस्तुत गर्न खोजिएको उनको बुझाइ छ ।
यो त केही उदाहरण मात्र हो । यस्ता घटना धेरै छन् नेपालमा प्रविधिको विकाससँगै सामाजिक सञ्जाल प्रयोग गर्ने अहिले नेपालमा धेरै बढेका छन् । फेसबुक, इस्टाग्राम, ट्वीटर जस्ता सामाजिक सञ्जालमा जोडिइरहेका छन् । त्यसमध्येमा युट्युब च्यानल पनि एउटा सामाजिक सञ्जाल नै हो, जसको सकारात्मक भन्दा पनि नकारात्मक रुपमा प्रयोग बढिरहेको छ । नानाथरी शीर्षकसहित आउने सामग्रीले कुनैलाई असर गरिरहेको हुन्छ । धेरैको अहिले गुनासो हुन्छ, युट्युबरले आफूले भनेको भन्दा नकारात्मक र फरक शीर्षक राखेर भिडियो राख्दा समस्या प¥यो । यो समस्याबाट सेलिब्रेटीदेखि लिएर सामान्य व्यक्ति पनि पीडित छन् ।
केही युट्युब च्यालनले यस्तै नकारात्मक कुरा बढी राख्दा सजाय पनि भोगेका छन् । कानुन अनुसार केहीले सजाय पाउँदासमेत त्यस्ता भिडियो सामग्री राख्नेको भीड घटेको छैन । राज्यले त्यस्ता युट्युबलाई नियमन गर्न नसक्दा यो समस्या झन् बढेको छ भन्दा उनुचित नहोला । पत्रकारलाई विभिन्न बाहनामा कारबाही गर्ने र कठोर कानुन ल्याउन पनि पछि नपर्ने सरकारले युट्युबलाई जे मन लाग्यो त्यही भिडियो र शीर्षक राख्दा किन कारबाहीको दायरामा ल्याउन सकिरहेको छैन ?
नेपालको सन्दर्भमा कुरा गर्ने हो भने यस्ता थोरैमात्र युट्युब च्यालन छन् जसले राम्रा विषयलाई महत्व दिइरहेका छन् । डलर कमाउने नाममा उच्छृंखल शीर्षकसहित भिडियो राख्नेलाई कारबाहीको दायरामा ल्याउनु आवश्यक जस्तै बन्दै गइरहेको छ । होइन भने राम्रो काम गरेर उदाहरण प्रस्तुत गर्न चाहने युट्युबरलाई समेत यसले असर गर्नेछ ।
तपाईको प्रतिक्रिया