४ दिनपछि खुल्याे बेनी जाेमसाेम सडक

समाधान संवाददाता २०७६ भदौ २७ गते १२:४४

एसके थकाली
मुस्ताङ

बेनी–जोमसोम सडक ४ दिनपछि सुचारु भएको छ । कालीगण्डकी करिडोर तथा नारच्याङ हाइड्रोका ब्लास्टर प्राविधिकको सहयोगमा बुधबार साँझदेखि बाटो खुलाइएको हो ।

म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र थासाङ गाउँपालिका वडा नम्बर ४ स्थित काभ्रेभीरमा करिब १५ मिटर सडक भासिएपछि बेनी–जोमसोम सीधा आउजाउ बन्द भएको थियो । काभ्रेभीरस्थित कडा चट्टाने पहाडमुनिको सडक भासिएको थियो ।

Advertisement

उक्त स्थानमा सब बेस उठाएर सडक सञ्चालन गर्नसमेत सम्भव नभएकाले बिस्फोटन गरी रक कटिङ गरेर सडक ट्र्याक खुला गरिएको बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए । उनले करिडोर तथा बिस्फोेटक प्राविधिकले कठिन जोखिम मोलेर सडक खुला गरेको बताए ।

हिमालपारिको बेनी जोमसोम सडक अबरुद्ध हुँदा मुस्ताङ आउजाउ गर्ने सवारी साधन तथा मुक्तिनाथ जाने तीर्थालुलाई समेत सास्ती पुगेको करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । यस्तै लगातार ४ दिनसम्म सडक अवरुद्ध मुस्ताङबाट स्याउ ढुवानीमा समेत बाधा पुगेको थियो । मुस्ताङमा खाद्यान्न तथा निर्माण सामग्री ओसारपसार प्रवाहित भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया