प्रहरीकै साँठगाँठमा मिटर ब्याज धन्दा

समाधान संवाददाता २०७६ भदौ २७ गते १३:०१

अमृत सुवेदी
पोखरा

१६ लाख रुपैयाँ ऋण लिएको ३ करोड रुपैयाँ बुझाइसक्दा पनि तिरिसकिँदैन । ब्याज तिर्न केही दिन ढिला भयो कि ५० देखि १ लाख रुपैयाँसम्म थप तिर्नुपर्छ । जति तिर्दा पनि ऋण नसकिएपछि टाटै पल्टिने अवस्था आउँछ । तिर्न नसक्ने बताएपछि ऋण दिने व्यक्तिले धम्क्याउँछन् । जबरजस्ती तमसुक बनाउँछन् । त्यतिमात्रै होइन अपहरण गरिन्छ र मरणासन्न हुने गरी कुटिन्छ । धन्न प्रहरी पुग्छ र अपरहरण गर्ने पक्राउ पर्छन् । ऋणीको ज्यान जोगिन्छ ।

यो घटनाका भुक्तमान हुन्, पोखराका रत्नबहादुर कार्की । यो घटनाको मुख्य जड हो, मिटर ब्याज । मिटर ब्याजले कसरी मान्छे टाट पल्टिन्छ र सहरमा मिटर ब्याजको धन्दा कसरी चलिरहेको छ भन्ने यो प्रतिनिधि घटना हो । छोटो समयमै धेरै ब्याजमार्फत पैसा कमाउने धन्दाबाट रत्नबहादुर सिकार भए तर उठिबास हुनबाट जोगिएका छन् ।

Advertisement

८ वर्ष पहिले पोखरा लेकसाइडको जरेबर निवासी रत्नबहादुरले पोखरा नयाँगाउँका गौतम थापासँग १६ लाख रुपैयाँ लिएका थिए । उनले त्यसभन्दा अघि पनि उनै गौतमसँग ७ लाख रुपैयाँ लिएर ११ लाख रुपैयाँ लिएका थिए । दोस्रोपटक लिएको ऋण बुझाउन नसक्दा रत्नबहादुर बुधबार गौतमको समूहबाट अपहरणमा परे ।

गौतमको समूहले रत्नबहादुरलाई अपहरण गरी शान्तिवनस्थित निर्माण व्यवसायी समितिको कम्पाउन्डमा पुर्‍याएका थिए । नयाँबजारदेखि निर्माण व्यवसायीको कार्यालयमा पुर्‍याएर कुटपिट गर्दागर्दै प्रहरी पुगेको थियो । रत्नबहादुरले अपहरणमा पर्ना साथ प्रहरीको १०० नम्बरमा फोन गर्नचाहिँ भ्याए । प्रहरीले गौतम थापासहित ४ जनालाई पक्राउ गर्‍यो ।

Advertisement

पक्राउ पर्नेमा गौतम थापासहित प्रेमबहादुर थापा, रोहित सुनार र वासुदेव पोखरेल छन् । उनीहरु पनि निर्माण व्यवसायी समितिको सदस्य भएको प्रहरीले जनाएको छ ।

सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय कार्यालय अगाडिबाट रत्नबहादुरलाई गौतमको समूहका वासुदेव र प्रेमले ग२च २७४९ नम्बरको कारमा हालेका थिए । ग१२प ९८५७ नम्बरको मोटरसाइकलमा गौतम र रोहितले स्कटिङ गरेर समितिको कार्यालयमा पुर्‍याएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

‘रत्नबहादुरले आफ्नो ज्यानै जान सक्ने बताएपछि प्रहरीले उनीमाथि निगरानी गर्न प्रहरी नै खटाएको थियो । गौतमको समूहले जुनसुकै बेला मार्न सक्ने धम्की दिएका थिए,’ एसपी कार्कीले भने, ‘धन्न हामी समयमै पुग्यौं र रत्नबहादुरलाई उद्दार गर्न सक्यौं ।’ कास्की प्रहरी प्रवक्ता राजकुमार केसीको कमान्डमा गएको टोलीले रत्नबहादुरको उद्दार र अपहरणकारीलाई पक्राउ गरेको थियो ।

आवरणमा निर्माण व्यवसायी, धन्दा ठगी
पक्राउ परेका ४ जना निर्माण व्यवसायीको सदस्य भए पनि उनीहरुको असली काम ठगी धन्दा नै भएको प्रहरीको निष्कर्ष छ । उनीहरुले लामो समयदेखि पोखरामा मिटर ब्याजदेखि गुण्डागर्दीसम्मको ठगी धन्दा चलाउँदै आएका थिए ।

‘उनीहरुको आवरणमा व्यवसाय छ । एकजनाको ग्रिल उद्योग पनि छ । तर, उनीहरुको मुख्य काम मिटर ब्याज र गुण्डागर्दीकै देखियो,’ एसपी कार्कीले भने, ‘उनीहरुले लामो समयदेखि यो धन्दा चलाउँदै आएका रहेछन् ।’

मिटर ब्याजमा पैसा चलाउन र गुण्डागर्दीको काम गर्न गौतमको समूहमा २६ जना छन् । ४ जना पक्राउ परे । अन्यको पनि संलग्नता र अन्य अनुसन्धान भइरहेको एसपी कार्कीले बताए । उनीहरु सुरुमा ठगी धन्दा चलाउन वाइसियल भन्ने गरेको खुलेको छ ।

‘पहिले वाइसिएल हौं भनेर सहर बजारमा प्रभाव जमाउने र धन्दा चलाउने गरेको देखियो,’ एसपी कार्कीले भने, ‘ठेक्कापट्टामा प्रभाव जमाउन उनीहरु तनहुँ, स्याङ्जामात्रै नभएर चितवनसम्म पुग्ने गरेको खुलेको छ ।’

उजुरी नगर्दै फोन
गौतम समूहले पोखरा त्यसै मिटर ब्याजको धन्दा चलाएको होइन । त्यसका पछाडि प्रहरीकै पनि हात भएको अनुसन्धानबाट देखिएको छ । गौतमबाट लिएको ऋण तिर्न नसकेपछि रत्नबहादुरको उल्टो दिनगन्ती सुरु भएको थियो । कति बेला के हुन्छ भन्ने त्रासमै बस्नुपर्ने ।

‘उनलाई कहिले ग्रिल उद्योग लगेर कुट्ने, कहिले तमसुक बनाउने, चेक काट्न लगाउने गर्दा रहेछन्,’ कास्की प्रहरी प्रमुख एसपी कार्कीले भने, ‘घरमै पुगेर धम्की दिने गरेका रहेछन् ।’ १६ लाख रुपैयाँ ऋण लिँदा गौतम समूहले कसैलाई साक्षी बस्नै दिएका थिएनन् । कतिपय पैसा बुझाए पनि तमसुक नै नच्यातेको पीडित रत्नबहादुरको गुनासो छ ।

लामो समयदेखि तनाव र ज्यानकै जोखिम भएपछि केही गएको साल नै रत्नबहादुर प्रहरी कार्यालयमा उजुरी दिन पुगे । तर, कार्यालयबाट बाहिरिनेबित्तिकै उनलाई फोन आयो । प्रहरीलाई उजुरी गरेर केही नहुने भन्दै भित्र सबै आफ्नो सेटिङ भएको उनीहरु बताउँथे । ‘उल्टै प्रहरीको डर देखाउँथे । सब मेरा मान्छे हुन् भन्थे,’ रत्नबहादुर भन्छन्, ‘कहाँ जाऔं । कोसँग न्याय मागौं हुन्थ्यो । धेरै पटक कुटिनुपर्‍यो ।’

फेरि पनि प्रहरीकोमा उजुरी गर्न गए राम्रो नहुने भन्दै धम्की दिने गरेको गौतमले पनि बयान दिएका छन् । ‘एकातिर गुण्डाले तर्साएको छ । त्यसमा झन् पुलिसको डर पनि देखाइदिएपछि के हुन्छ होला,’ एसपी कार्कीले भने । त्यसमा प्रहरीकोसमेत संलग्नता रहेकोबारे थप अनुसन्धान भइरहेको कार्कीले बताए ।

यसअघि उजुरी नै दिन नसकेका रत्नबहादुरले अहिले कास्की प्रहरीको नेतृत्व फेरिएपछि फेरि उजुरी दिए । अहिले उनैको उजुरीका आधारमा प्रहरीले मिटर ब्याजीको धन्दाको खोजी गरिरहेको छ ।

प्रहरी कार्यालयमा जिम हल
गौतम समूहले धन्दा चलाउनुका पछाडि प्रहरीलाई प्रभावमा पारेको अनुसन्धानबाट देखिएको छ । गौतम समूह जिल्ला प्रहरी कार्यालय कास्कीभित्रै व्यायाम हल बनाइदिएका थिए । व्यायाम हल निर्माण समितिको गौतम स्वयं उपाध्यक्ष थिए । त्यसको अध्यक्ष तत्तकालीन कास्की प्रहरी प्रमुख एसपी ओम राना आफैं थिए ।

गौतम समूहले प्रहरी भित्र यस्तो संगठन बनाएको थियो कि केही भइहाले तु खबर पुगिहाल्थ्यो । ‘उनीहरुको उठबस र बाससमेत पहिलेका एसपी साब र डिएसपी साबहरुसँग हुन्थ्यो,’ एक प्रहरी अधिकृतले भने, ‘उनीहरुले प्रहरीसँग प्रभाव र उठबस राम्रो भएकै कारण फाइदा उठाएका थिए ।’

गौतम समूहले वडा प्रहरी कार्यालय बैदाममा पनि ग्रिलको काम पाएको थियो । प्रहरी संगठनका मुख्य मुख्य शाखा प्रमुखसँग उनीहरुले सम्बन्ध बलियो बनाएर फाइदा उठाउने गरेको अनुसन्धानबाट देखिएको छ । ‘मान्छेहरुका अघिल्तिर फोनमा पनि बसेर ओ एसपी साब, ओ डिएसपी साब फलानोलाई के गर्ने हो साह्रै दियो भन्ने । कहिले अन्तरंग कुरा गर्ने गर्थे,’ एक प्रहरीले भने ।

पैसाले आपत परेको मान्छे खोजी
प्रहरीका अनुसार मिटर ब्याजको धन्दा चलाउने समूहले बजारमा पैसाले आपत परेको मान्छेको खोजी गर्ने मिसन नै चलाएको थियो । त्यो समूहमा मिटर ब्याजमा पैसा लगाउने र त्यस्ता व्यक्तिको खोजी गर्ने दुबै खाले मान्छे भएको प्रहरी बताउँछ ।

एकपटक कारोबार गरिसकेका रत्नबहादुरलाई गौतमले एकजना कुमाल थरका व्यक्तिसँग मागेका थिए । बैंकबाट ऋण लिएका रत्नबहादुरलाई पटकपटक पत्र आइरहेको थियो । बैंकको ऋणबाट मुक्त हुन उनले छोटो समयका लागि अर्को चर्को ब्याजमा ऋण लिएका थिए ।

उनीहरुले कागजबिना नै पैसाको लेनदेन गर्ने गरको प्रहरी प्रमुख कार्कीले बताए । ‘मान्छेले बैंकमा धितो राखेको हुन्छ । कुनै कारणले धितो तिर्न सक्दैन । बैंकले पैसा माग्दै पत्राचार गर्छ,’ कार्कीले भने, ‘अनि त्यस्ता व्यक्तिको सम्पर्कमा जाने र बैंकको पैसा म तिरिदिन्छु तर जग्गा पास गराइदिनुपर्छ भन्ने । २ करोड रुपैयाँ पर्ने जग्गाको पहिले बैंकको ५० लाख तिरेर पास गरिहाल्ने । पछि जग्गाधनी पैसा माग्दा नदिने, प्रमाण खोज्ने र जग्गै खाइदिने पनि गिरोहमा देखियो ।’ कुन मान्छेलाई पैसाको अप्ठेरो परेको छ भनेर बुझ्दै हिँड्ने समूह नै रहेको एसपी कार्कीले बताए ।

तपाईको प्रतिक्रिया