२५ करोडमा गोबर ग्यास उद्योग

समाधान संवाददाता २०७६ भदौ २९ गते १३:०९

युवराज श्रेष्ठ
पोखरा

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सरकारले घरघरमा गोवर ग्यास बनाउन एक दशक अघिसम्म आर्थिक सहायता दिन्थ्यो । गाईभैंसीको गोबर र घरबाट निस्कने कुहिने फोहोर प्रयोग गरेर खाना पकाउन ग्यास निकाल्ने र मल बनाउने प्रविधिले अहिले उद्योगको रुप लिएको छ ।

घरघरमा बनाइएको गोबर ग्यासलाई अहिले एलपी ग्यास सिलिन्डर र बिजुलीले विस्थापित गरिदिएको छ । एलपी ग्यासभन्दा गोबर ग्यास सस्तो, वातावरणमैत्री र आफै उत्पादन गर्न सकिने भएपनि उपभोक्ता गोबर ग्यासमा टिक्न सकेनन् । तर त्यही गोबर ग्यास औद्योगिक रुपमा उत्पादन भएपछि सिलिन्डरमा बिक्री हुन थालेको छ । जुन एलपी ग्यासभन्दा बढी प्रज्वलनशील, सस्तो र वातावरणमैत्री समेत छ ।

Advertisement

पोखरा ३२ मझुवामा निर्माण गरिएको बायोग्यास प्लान्टले अहिले दैनिक १०० सिलिन्डर यस्तो ग्यास उत्पादन गरिरहेको छ । उद्योगको शुक्रबार साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसदद्वय चन्द्रमोहन गौचन, मीनबहादुर गुरुङ, प्रमुख सचिव हरिप्रसाद बस्याल, प्रदेश निति तथा योजना आयोगका सदस्यद्वय डा. विष्णु बराल, डा. भीमा ढुंगाना लगायतले अवलोकन गरे ।

गण्डकी ऊर्जा प्रालिले स्थापना गरेको यो उद्योग पुरा क्षमतामा चल्दा दैनिक २०० सिलिन्डर ग्यास उत्पादन गर्न सक्छ । प्रतिसिलिन्डर १ हजार १ सय ५९ रुपैयाँमा बिक्री थालेको यो ग्यास अहिले बजारमा पाइने एलपी ग्यासभन्दा बढी टिकाउ भएको उपभोक्ताको अनुभव छ ।

Advertisement

पोखराको मोर्डन चाउमिन उद्योगले एलपी ग्यासमा मासिक ६५ हजार खर्च गर्नुपथ्र्यो । बायोग्यास सिलिन्डर प्रयोग गर्न थालेपछि मासिक ३५ हजार खर्च गरे पुगेको छ । मणिपाल शिक्षण अस्पतालको क्यान्टिनमा पनि बायोग्यास प्रयोग गर्न थालेपछि खर्च घटेको सञ्चालकले बताएका छन् ।

गण्डकी ऊर्जाका प्रमुख अपरेटर अधिकृत असीम कायस्थका अनुसार उद्योग सञ्चालन गर्न विभिन्न गाईभैंसी र कुखुरा फारमबाट मल लिइएको छ । यसका अलवा घरबाट निस्कने कुहिने फोहोर पनि संकलन गरेर बायोग्यासका लागि प्रयोग भएको छ । पूर्ण क्षमतामा उद्योग चलाउँदा दैनिक ४५ टन मल, कुहिने फेहोर र पानी चाहिन्छ ।

पोखरा महानगरमा बढ्दो फोहोर व्यवस्थापन गर्न कुहिने फोहोर छुट्याएर उद्योगलाई बेच्न सकिने विकल्प खडा भएको छ । जसले महानगरलाई आम्दानी दिलाउँछ भने फोहोरको पुन प्रयोग गरी मल बनाउन सकिन्छ ।

उद्योगमा फोहोर घोल्न तीनवटा टंकी निर्माण गरिएको छ । सुरुमा गाई, भैंसी, कुखुराको मल, घरबाट निस्कने कुहिने फोहोर र पानीको उचित मात्रा मिलाएर मिक्सिङ टंकीमा घोलिन्छ । घोल पाइपको माध्यमबाट डाइजेस्ट टंकीमा पठाइन्छ । डाइजेस्ट टंकीबाट रेसिड्यु टंकीमा पुगेपछि ग्यास पाइपमार्फत फिलिङ स्टेसनमा पठाइन्छ भने मल अर्को ठाउँमा जम्मा गरिन्छ ।

एलपी ग्यास बाल्दा कार्बन उत्सर्जन गर्छ । अहिलेको विश्वव्यापी वातावरणीय समस्या निम्त्याएको जलवायु परिवर्तनको प्रमुख कारण नै कार्बन उत्सर्जन हो । यसको विपरित बायोग्यासले कार्बन उत्सर्जन गर्दैन ।

उद्योगका मेकानिकल इञ्जिनियर जितेन्द्र रामका अनुसार यो ग्यास प्रकृतिका ज्वलनशील पदार्थहरु मिथेन, कार्बनडाइअक्साइड र हाइड्रोजन सल्फाइडको मिश्रण हो । ‘यसले जलवायु परिवर्तनलाई रोक्छ र वातावरण स्वच्छ राख्न मद्दत पुर्‍याउँछ,’ उनले भने, ‘त्यसैले यसलाई सफा ऊर्जा अर्थात क्लिन इनर्जी भनिएको हो ।’

घरघरमा निर्माण गरिएको गोबर ग्यास प्लान्टले असफलता बेहोरे पनि सोही प्रविधिको औद्योगिक विस्तार भने व्यापक छ । अहिले गण्डकी प्रदेशमै नवलपुरमा समेत यस्तो उद्योग छ । तर नेपालका बायोग्यास उत्पादन गर्ने यही उद्योग सबै भन्दा ठूलो उद्योग हो । सन् २०१६ मा निर्माण थालेर २ महिनाअघि परीक्षण उत्पादन थालेको उद्योगमा अहिले २५ जना कार्यरत छ । उद्योग स्थापना गर्न २५ करोड रुपैयाँ लगानी गरिएको उद्योगका सञ्चालक गैरआवासीय नेपाली संघ एनआरएनका पूर्व सल्लाहकार परिषद सदस्य त्रिलोक गुरुङले जानकारी दिए ।

अहिले उक्त उद्योगका विभिन्न रेस्टुरेन्ट र उद्योग गरी १० वटा नियमित ग्राहक छन् । अहिले उत्पादन भइरहेको ग्यास उनीहरुलाई नै बिक्री गरिरहेको उद्योगले जनाएको छ । पूरा क्षमतामा उत्पादन थालेपछि थप ग्राहकलाई ग्यास उपलब्ध गराउने उद्योगले जनाएको छ । उद्योगले घरघरमा वितरणका लागि भने अहिले योजना नगरेको जनाएको छ ।

उद्योगको भ्रमण पश्चात गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आयात प्रतिस्थापन गर्न यस्ता उद्योगको विस्तार हुनुपर्ने बताए । ‘प्रदेश सरकारले ग्यास आयात विस्थापनका लागि बिजुलीबाट खाना पकाउन मिल्ने बिजुली चुल्होको प्रयोग गर्न परीक्षणको तयारी गरिरहेको छ,’ उनले भने, ‘होटल, रेस्टुरेन्ट लगायत ठूलो मात्रामा ऊर्जा चाहिने ठाउँमा क्लिन इनर्जीको उपयोग बढाउनुपर्छ ।’ उनले भारतसँगको व्यापार घाटा कम गर्न पनि बिजुली र वैकल्पिक उर्जाको उत्पादन र खपत बढाउनुपर्ने बताए । प्रदेश सरकारले यस्तो उद्योगलाई स्वागत गर्ने भन्दै आवश्यक समस्याहरुको समाधान पनि गरिदिने बताए ।

अहिले नेपालमा भारतबाट वार्षिक २२ अर्ब रुपैयाँको एलपी ग्यास आयात भइरहेको निति तथा योजना आयोग गण्डकीका सदस्य डा. विष्णु बराल बताउँछन् । उनका अनुसार गण्डकी प्रदेशमा मात्र ४ अर्बको एलपी ग्यास आयात हुन्छ । एलपी ग्यास आयात प्रतिस्थापन गर्न अरु धेरै यस्ता उद्योग खोल्नुपर्ने उनको भनाइ छ ।

आयोगकै सदस्य डा. भीमा ढुङ्गानाले स्थानीय कच्चा पदार्थको प्रयोग गरी स्वच्छ ग्यास र मल उत्पादन गर्ने प्रविधि भित्र्याउनुपर्ने बताउँछन् । उद्योगबाट उत्पादन भएको मल अर्गानिक रहेको र माटोको उर्वराशक्ति बढाउन निकै सहयोग पुर्‍याउने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया