गोरखामा ‘पुलिस अफ द मन्थ’ प्रहरी निरीक्षक रामचन्द्र घिमिरेलाई

समाधान संवाददाता २०७६ भदौ २९ गते १३:१९

मोहसिन अलि मियाँ
गोरखा

उत्कृष्ट कार्यसम्पादन गर्नेलाई सम्मान गर्न जिल्ला प्रहरी कार्यालय गोरखाले ‘पुलिस अफ द मन्थ’ कार्यक्रम सुरु गरेको छ । जिल्लाभर रहेका प्रहरी चौकीबाट सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरीलाई हरेक महिना सम्मान गर्ने कार्यक्रम ल्याइएको एसपी ओमप्रसाद अधिकारीले बताए । सोही अनुसार भदौ महिनामा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामचन्द्र घिमिरेलाई नगदसहित सम्मान गरिएको छ ।

सम्मानित भएका घिमिरेको तस्बिर कार्यालयको गेटमा रहेको फोटो बोर्डमा असोज महिनाभर राखिने बताइएको छ । ‘अब हरेक महिना हामी पुलिस अफ द मन्थ घोषित गर्छौं’ एसपी अधिकारीले भने ‘जसले प्रहरीमा राम्रो काम गरेर उत्कृष्ट बन्ने उत्साह र प्रतिस्पर्धा चलोस् भन्ने हाम्रो उद्देश्य हो ।’

Advertisement

गेटसँगै रहेको फोटोबोर्डमा राखिएको घिमिरेको तस्बिरमा लेखिएको छ ‘समाजमा शान्ति सुरक्षा कायम गर्नुका साथै सूचना संकलन तथा अपराध अनुसन्धान कार्यमा उत्कृष्ट योगदान दिइ उल्लेखनीय नजिता दिन सफल भएको ।’ उनले केहि समयअघि गोरखा नगरपालिका ९ मा भएको २ हत्या घटनाको अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । ‘हामी जिल्लाभरको चौकीबाट प्रत्येक महिना प्रतिवेदन माग गर्छौं, त्यसलाई अध्ययन अनुसन्धान गरेर डिएसपीको कमान्डमा रहेको छनोट समितिले सर्वोत्कृष्ट प्रहरी छान्छ’ एसपी अधिकारीले थपे ‘नगद सहित सम्मानित गरेर भोलीका दिनमा प्रमोसनमा समेत सपोर्ट हुने हिसावले हामी रेकर्डमा राख्छौं ।’

कार्यक्रमले प्रहरीमा सर्वोत्कृष्ट काम गर्नका लागि सकारात्मक प्रतिस्पर्धाको भावना हुने विश्वास प्रहरीको छ । गत साउन महिनामा ‘पुलिस अफ द मन्थ’ प्रहरी निरीक्षक भीमबहादुर खत्री भएका थिए ।

Advertisement

हराएको मोबाइल खोज्ने अभियानमा प्रहरी
गत महिनादेखि जिल्ला प्रहरी कार्यालय गोरखाले हराएका मोबाइल खोज्ने अभियान समेत सुरु गरेको छ । प्रहरी कार्यालयमा १ युनिट नै स्थापना गरेर हराएका र चोरी भएका मोबाइल खोजेर सम्बन्धितलाई हस्तान्तरण गरिरहेको छ । यसैबीच भदौ महिनामा ५ वटा हराएका मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ ।

२०७२ सालदेखि हराएर प्रहरीमा निवेदन दिएका मध्ये देशका विभिन्न जिल्लाबाट सो मोबाइल बरामद गरी ल्याइएको एसपी ओमप्रसाद अधिकारीले बताए । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै भेट्टिएका मोबाइल सम्बन्धित धनीलाई हस्तान्तरण समेत गरेको छ । प्रहरीले साउन महिनामा समेत ५ वटा मोबाइल फेला पारेको थियो ।

फरार १० जना अभियुक्त पक्राउ
त्यस्तै जिल्ला अदालत गोरखाबाट सजाय सुनाइएका १० जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको बताएको छ । जिल्ला अदालतले सजाय सुनाइएर समेत फरार रहेका १० जनालाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी अदालतको जिम्मा लगाइएको एसपी अधिकारीको भनाई छ ।

यसरी पक्राउ पर्नेमा धार्चे ७ का मानबहादुर गुरुङ, सुजन गुरुङ, सूर्यमान गुरुङ, सर्किनी गुरुङ, छममाया गुरुङ, गोरखा नगरपालिका ९ का कृष्णबहादुर कमर योगी, सन्दिप श्रेष्ठ, मनिस पन्त, ६ का कृष्ण शाही, जयराम शाही, आशिष शाही, २ का मनध्वज घले, ८ का दीलमान गुरुङ र जीवन गुरुङ रहेको अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरुलाई विभिन्न कसुरमा अदालतले सजाय तोके पनि फरार रहेकाले पक्राउ गरिएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया