पोखरा रंगशालामा मन्त्री विश्वकर्माको चासो

समाधान संवाददाता २०७६ भदौ ३० गते १३:२९

समाधान संवाददाता
पोखरा

युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले आइतबार पोखरा रंगशालाको निर्माण प्रगतिबारे जानकारी लिएका छन् । उनले बजेटका कारणले पूर्वाधारको काम रोकिने दाबी गरे । उनले पोखरा रंगशालाको निर्माण तीव्र रुपमा अघि बढेको बताउँदै बजेटको कमी नहुने सुनाए । आइतबार बिहान फुटबल स्टेडियम, आर्चरी, इस्क्बास, टेनिस लगायतको खेलमैदानको निरीक्षण गर्दै बजेको कारण पूर्वाधार बनाउन नरोकिने बताएका छन् ।

मन्त्री विश्वकर्माले तोकिएको समयभन्दा अघि नै भौतिक निर्माणको काम सकिने बताए । उनले क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिको निर्माण गर्न खेलकुद ऐन पास नभएको कारण समस्या भएको जनाए ।

Advertisement

पोखरामा रंगशाला निर्माण तीव्र पार्न पनि मन्त्री विश्वकर्माले निर्देशन दिए । भदौ २६ गते मन्त्रिपरिषदको बैठकले १३ औं दक्षिण एशियाली खेलकुद कार्यविधि पारित गरेको जानकारी दिँदै १३ औं दक्षिण एसियाली खेलकुद पूर्व तयारी तयारी तीव्र रुपमा अघि बढेको जानकारी मन्त्रीले दिए । असोज १० गतेभित्र विभिन्न उपसमिति निर्माण गर्ने र पोखराका स्थानीयलाई राखेर स्थानीय व्यवस्थापन सहजीकरण समिति बनाउने उनले सुनाए ।

उनले साग नेपालको प्रतिष्ठाको विषय भएकाले स्वीकृति लिएर काम अगाडि बढाउन निर्देशन गरे । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा आर्चरी, प्याराग्लाइडिङ, ह्यान्डबल, ट्रायथोलन, भारत्तोलन, क्रिकेट, महिला फुटबल खेल पोखरा रंगशालामा खेलाइने तयारी छ । १३ औं दक्षिण एसियाली खेलकुद डिसेम्बर १ देखि १० सम्म पोखरा र काठमाडौंमा आयोजना गरिने छ । खेलाडीलाई आवश्यक पर्ने चेन्जिङ रुम र शौचालय लगायतको निर्माण पोखरा रंगशालामा अहिलेसम्म भएको छैन ।

Advertisement

‘फुटबल स्टेडियमको ४० प्रतिशत काम सकियो’
पोखरा रंगशालामा बन्दै गरेको फुटबल स्टेडियमको ४० प्रतिशत काम सकिएको निर्माण कम्पनीले बताएको छ । निर्माण कम्पनीका दीपक बरालले अहिले ४० प्रतिशत काम सकिएको जनाए । अहिले फुटबल स्टेडियमभित्रको ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ट्र्याक पिच गर्ने तयारीमा रहेको बरालले जानकारी दिए । उनले अहिले पिच गर्ने तयारी गरिएको र अहिले मौसमको कारण केही समस्या आएको बताए । ‘पोखरामा केही दिनअघिबाट पानी परेका कारण पिच गर्ने काम रोकेका हौँ,’ बरालले भने, ‘केही दिन घाम लागेपछि पिच गर्न सुरु गछौँ ।’

अहिले ट्र्याकको सफा गर्ने, र मैदानको भागमा बालुवा राखेर समथर बनाउने लगायत काम भइरहेको बरालले बताए । पिच गरिएको ठाउँमा ग्रानुयन्स सिन्थेटिक राखिने छ । पोखरामा शनिबार नै केही मात्रामा ग्रानुयन्स सिन्थेटिक ल्याइएको बरालले बताए । बरालका अनुसार अबको केही समयमा मैदानको भागमा बिच्छ्याउने घाँस पोखरामा आउने छ । १ सय ४० जना कामदार प्रयोग गरेर निर्माणको गरिएको बरालले सुनाए ।

तपाईको प्रतिक्रिया