आर्चरीको खेलाडी छनोट सुरु

समाधान संवाददाता २०७६ भदौ ३० गते १४:३२

रासस, कास्की

आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा सुरु भएको छ । पोखरा रंगशालाको आर्चरी मैदानमा शनिबारदेखि ‘रिकर्भ’ ‘क्याटेगोरी’ का लागि खेलाडी छनोट प्रक्रिया सुरु गरिएको नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले बताए ।

आर्चरीको रिकर्भ र ‘कम्पाउन्ड’ गरी २ क्याटेगोरीमा प्रतिस्पर्धा हुने भएकाले आगामी भदौ ३० गतेसम्म खेलाडी छनोट गरिसकिने उनले जानकारी दिए । रिकर्भका लागि १७ पुरुष र ११ महिलामध्येबाट सागका लागि ४ पुरुष र ४ महिला छनोट गरी आगामी असोज १ गतेबाट पोखरामै बन्द प्रशिक्षण सुरु गरिने अध्यक्ष गुरुङको भनाइ छ । सागको आर्चरीको प्रतिस्पर्धा पोखरामा सञ्चालन गर्ने निश्चित भइसकेको छ ।

Advertisement

कम्पाउन्डतर्फ भने यसअघिनै ४ पुरुष र ४ महिला खेलाडी छनोट गरिसकिएको संघले जनाएको छ । पुरुषतर्फ रमेश भट्टचन, सनातन मल्ल, योगेन्द्र शेरचन र मीनप्रसाद गौचन छन् । महिलातर्फ पार्सदा आचार्य, मोनिका राना, रश्मी दर्लामी र मञ्जु बजगार्इँ अन्तिम सूचीमा परेका छन् । सागको आर्चरीतर्फ १० स्वर्ण, १० रजत र १० काश्य पदका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने नेपाल आर्चरी संघका वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए ।

रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्टमा पदका लागि प्रतिस्पर्धा हुने थकालीले जानकारी दिए । श्रीलंकाको कोलम्बोमा सम्पन्न भएको सागको १० औं संस्करणबाट आर्चरी खेल प्रतियोगितामा समावेश गरिएको थियो ।

Advertisement

नेपालले ११ औं र १२ औं सागमा पुरुष व्यक्तिगततर्फ काश्य पदक जितेको र आफ्नै घरेलु मैदानमा प्रतियोगिता आयोजना गरिएकाले स्वर्ण पदक जित्ने गरी तयारी गरिएको अध्यक्ष गुरुङले बताए । महिला व्यक्तिगतमा स्वर्ण तथा पुरुष समूह र व्यक्तिगतमा समेत पदक आउने सम्भावना रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया