—सम्पादकीय— फोहर व्यवस्थापन उद्योग

समाधान संवाददाता २०७६ भदौ ३० गते १४:५८

पोखरा ३२ मजुवामा गोबर ग्यास उद्योग खुलेको छ । २५ करोड रुपैयाँमा खुलेका उद्योगले अहिले धमाधम दिनकै १०० सिलिन्डर बायो ग्यास बजारमा पठाइरहेको छ । उद्योगको क्षमता भने २०० सिलिन्डर हो । अहिले जेजति फोहोर संकलन गरेको छ, त्यसबाट क्षमताको आधामात्रै उत्पादन भइरहेको छ । दिनमा २०० टन फोहोर हुने हो भने क्षमतामै उद्योग चल्न सक्ने त्यसका अधिकारीहरुले बताएका छन् । गाईंभैसीको गोबर, मानिसका भान्छाबाट निस्कने कुहिने फोहोर र कुखुराको सुली तथा बंगुरको मल उक्त उद्योगलाई चाहिने कच्चा पदार्थ हो । पोखरामा त्यो कच्चा पदार्थको अभाव नहुनुपर्ने हो । मात्रै व्यवस्थापन र समन्वय अभावबाट उक्त उद्योगले एकातिर कच्चा पदार्थ पर्याप्तमात्रामा पाएको छैन र अर्काेतिर पोखरा सहरको फोहोर व्यवस्थापन पनि हुन सकेको छैन ।

पोखरामा दैनिक २ सय टन फोहोर उत्पादन भइरहेको छ । यो महानगरपालिकाकै तथ्यांक हो । आधाउधी त कुहिने फोहोर हुन्छ नै । अरु कतिपय पुन प्रयोग गर्न मिल्ने खाले हुन्छ । कामै नलाग्ने भन्ने साह्रै कम हुन्छ फोहोर । प्लास्टिक फोहोरबाट पोखरा १४ मा रबरको पाइप बनाउने उद्योग सुरु भइसकेको छ । पोखराको १३ नम्बर वडाले प्लास्टिक फोहोर उक्त उद्योगलाई दिन सुरु गरिसकेको छ । अर्कातिर बायोग्यास उद्योग खुल्यो । यी दुवै फोहोर व्यवस्थापन उद्योग हुन् । पोखरा महानगरपालिकाले अहिलेसम्म फोहोर व्यवस्थापनमा परम्परागत तरिका अपनाइरहेको छ । ल्यान्डफिल साइटमा लगेर फोहोर पुरिरहेको छ । वास्तवमा पैसा पुरिरहेको छ । उल्टै खर्च गरिरहेको छ यो काममा लागि । पैसा पुर्न पैसै खर्च भइरहेको छ । महानगरपालिकाले किन फोहोर व्यवस्थापन उद्योगसँग सहकार्य नगर्ने अब ?

घरघरमै फोहोर कुहिने र नकुहिने गरी वर्गीकरण गर्न गराउन सकिन्छ । फोहोर व्यवस्थापन गर्ने उद्योगहरुले उल्टै पैसा तिरेरै त्यस्ता फोहोर आफैंले पैसा तिरेर घरघरबाट उठाउन सक्छन् । त्यस्तो गर्न असम्भव छ भने महानगरपालिकाले ल्यान्डफिल साइटको सट्टा त्यस्ता उद्योगमा फोहोर उपलब्ध गराउन किन नसक्ने ? जुन उद्योगले महानगरपालिकालाई शुल्क तिर्छ त्यसैलाई फोहोर दिए आम्दानी पनि हुने व्यवस्थापनको टन्टो पनि नहुने । यस्तो गर्नु कुनै नौलो काइदा पटक्कै होइन । विकसित देशमा भइरहेकै यही छ । नेपालमै पनि स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि स्याङ्जाको वालिङ र धरान नगरपालिकाले यस्तो गर्न थालिसकेका छन् । पोखरा त झन् अरु भन्दा अगाडि हुनुपर्ने हो, तर हुन सकेको छैन । ल्यान्डफिल साइटको आयु सकिएको छ । १५ वर्षे उमेर नाघिसक्यो । अझै फोहोर त्यहीं लगिन्छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ल्यान्डफिल साइटको नजिकै छ, जहाज उड्ने बेलासम्म त्यो साइटमा फोहोर लैजान पाइने छैन । त्यसैले पनि बेलैमा सोच्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया