तालवाराही स्कुलः विरोध थेग्न नसक्दा बन्दको सूचना

समाधान संवाददाता २०७६ भदौ ३१ गते ११:४९

अमृत सुवेदी
पोखरा

प्रधानाध्यापकमाथि अनियमिताको आरोप लागेपछि पोखराको बैदामस्थित तालवाराही माध्यमिक विद्यालयमा सूचना टाँसेर बिदा गरिएको छ । प्राधानाध्यापक भद्रकाली लामिछानेको हस्ताक्षरमा सूचना टाँस गरिएको छ । भइपरी, संकट वा चाडवाडका कारण विद्यालय एक्कासी बिदा गरिएको होइन । विद्यालयमा प्राधानाध्यापक लामिछानेमाथि आर्थिक अनियमितता र बिहानी कक्षा सञ्चालनकोसमेत गरी दोहोरो सुविधाको प्रश्न उठेपछि बिदा भएको सूचना टाँसिएको हो । सम्बन्धित निकायले अनुसन्धान र अध्ययन गरिरहेकै बेला लामिछानेले विद्यालयमा लामो बिदा दिएकी हुन् ।

सोमबार बिहान विद्यार्थी झोला बोकेर विद्यालय पुग्दा मुल गेट बन्द देखेपछि अचम्मै गरेका थिए । बिदाको बारेमा अघिल्लो दिन विद्यार्थी र शिक्षकलाई जानकारी गराइएको थिएन । गेटमा टाँसेको सूचना पढेपछि मात्र विद्यार्थीले बिदाको बारेमा जानकारी पाए । सूचनामा सोमबारबाट लागु हुनेगरी कात्तिक १४ गतेसम्मका लागि वद्यालय बन्द रहने उल्लेख छ ।

Advertisement

यस्तो छ आरोप
भद्रकाली लामिछाने नेपाल सरकारको माध्यामिक तह तृत्तीय श्रेणीको शिक्षक हुन् । तर, लामिछानेले द्वित्तीय श्रेणीको तलब लिइरहेकी छन् । विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर १ स्तरवृद्धिको रकम आन्तरिक स्रोतबाट लामिछानेले बुझिरहेकी छन् ।
त्योबाहेक बिहानमा ११ र १२ को कक्षा सञ्चालन गरेबापत उनले थप १९ हजार ६ सय रुपैयाँ रकम थापिरहेकी छन् । प्रअ भत्ता बेग्लै छ । पोहोर विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर आफूलाई पदोन्नति गरेको लामिछानेको तर्क छ । कामको आधारमा नभइ १ तह माथिको तलब सुविधा बढ्ने गरी अन्य केही शिक्षकको पनि यसरी पदोन्नति भएको छ ।

यिनै विषयलाई लिएर गएको शुक्रबार पोखरा महानगरपालिकामा उजुरी परेको छ । विद्यालय व्यवस्थान समितिको निर्णयबाट योगदानका आधारमा अतिरिक्त रकमको दिन पाउने व्यवस्था छ । तर, स्तरवृद्धिको बारेमा नियम बाहिर गएर व्यवस्थापनले निर्णय गरेको उजुरीमा उल्लेख छ ।

Advertisement

त्यही विषयमा विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिबीच नै मतभेदसमेत थियो । यही विषयमा विद्यालयमा विवाद बढेपछि उजुरीका आधारमा अध्ययन गर्न वडा शिक्षा समितिले जिम्मा लियो । समितिले पनि फाइल मागिरहेको थियो । तर, सोमबार एक्कासी कात्तिक १५ गतेसम्म विद्यालय बिदा गरिएको सूचना टाँस भयो । पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका शाखा अधिकृत वसन्तराज पौडेलको नेतृत्व टोलीले सोमबारदेखि विद्यालयमा अध्ययन थालेको छ ।

वडा र व्यवस्थापन समिति भन्छः झुक्कियौं
विद्यालयमा असहज परिस्थिति सिर्जना भएको भन्दै विद्यालय प्रधानाध्यापक भद्रकाली लामिछानेले वडा शिक्षा समिति संयोजक तथा वडाध्यक्ष जगत पहारीसँग सल्लाह गरेकी थिइन् । यही विषयमा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेसँग पनि लामिछानेले छलफल गरिन् ।

लामिछानेले विद्यालयमा असहज परिस्थिति, त्रासको वातावरण सिर्जना भएको कारण देखाउँदै उनीहरुसँगको राय सल्लाहमै असोज १२ गतेसम्म बिदा भएको सूचना टाँसिन् । त्यसलगत्तै दसैं, तिहार र छट लगायतका चाड भएकाले कात्तिक १५ गतेमात्रै विद्यालय खुल्ने सूचनामा छ ।

एक्कासी यसरी लामो समय विद्यालय गरिएको भन्दै शिक्षक, अभिभावक, स्थानीय र विद्यार्थीसमेत विरोध जनाएका छन् । त्यसपछि व्यवस्थापन समिति अध्यक्ष न्यौपाने र शिक्षा समिति संयोजक वडाध्यक्ष पहारीले आफूहरु झुक्किएको बताएका छन् ।

१÷२ दिनका लागिमात्रै बिदा गर्ने भनिएको हुनसक्ने भएकाले अनुमति दिएको तर यति लामो होला भन्ने जानकारी नभएको बताए । ‘स्कुलको घटना बाहिर आइसकेपछि वडाकै अधिकृत सविता ढुंगानाको नेतृत्वमा अध्ययन समिति गठन ग¥यौं । तर, म्याडमले फाइल दिनुभएन । विश्वनाथ भट्टराईको संयोजकत्वमा फेरि अर्को समिति बनाइयो । उहाँ फेरि पनि आउनुभएन,’ वडाध्यक्ष पहारीले भने, ‘हिजो बिदा गर्ने भन्नुभएको थियो । तर, यति लामो बिदा होला भन्ने लागेको थिएन ।’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष न्यौपाने पनि यस्तै प्रतिक्रिया दिन्छन् । अहिले बिदा लिएपछि आफू चाहिँदा बिदा नपाउने भएकाले शिक्षक कर्मचारीसमेत असन्तुष्ट छन् ।

दबाबपछि विद्यालय खुल्ने, परीक्षा नरोकिने
असोज १ गतेबाट १० कक्षासम्मको आन्तरिक परीक्षा सुरु हुँदै थियो । सोमबारदेखि विद्यालय आकस्मिक रुपमा बिदा भएको सूचना आएपछि परीक्षा नरोक्न भन्दै विद्यार्थीले नाराबाजी गरे ।

कक्षा १० की ऋतिका तामाङले विद्यालयका समस्या भए छानबिनमा सहयोग गरेर परीक्षा नरोक्न भन्दै चिच्याउँदै थिइन् । सरिना गुरुङको माग परीक्षा रोक्नै नहुने थियो । उनीहरुजस्तै थुप्रै विद्यार्थी विद्यालय पोसाकमा आएका थिए । विद्यालय आउँदा बिदा भएको थाहा पाएपछि उनीहरु उनीले विद्यालय गेटमा नाराबाजी गरे ।

उनीहरुसँगै अभिभावक र शिक्षक पनि थपिए । स्थानीयले पनि सोधखोज गर्दै उनीहरुलाई समर्थन दिन थाल्यो । तत्काल पोखरा महानगरपालिकाको टोली पुग्यो । टोलीले वडा शिक्षा समिति र विद्यालय व्यवस्थापन समितिलाई पनि बोलाएर छलफल थाल्यो । विद्यार्थी अभिभावकको दबाबकैबीच असोज १ गतेबाट परीक्षा नरोक्ने गरी विद्यालय खुल्ने भएको छ । परीक्षालाई प्रभावित हुन नदिइ महानगरले विद्यालयमाथि अनुसन्धान र अध्ययन गरिने अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया