प्रदेश मामिला समितिद्वारा कारागार अनुगमन

समाधान संवाददाता २०७६ भदौ ३१ गते १३:४३

कृष्ण न्यौपाने
दमौली

गण्डकी प्रदेश मामिला समिति टोलीले जिल्ला कारागार तनहुँको सोमबार अनुगमन गरेको छ । प्रदेश मामिला समिति सदस्य एवं प्रदेश सांसद रोशन गाहामगरको संयोजकत्वमा मीना गुरुङ, डोबाटे विक लगायतको टोलीले कारागारको भौतिक अवस्था अनुगमन गरी त्यहाँको समस्या तथा वस्तुस्थितिबारे जानकारी लिएको हो ।

अनुगमन टोलीसँग कैदीबन्दीले भौतिक पूर्वाधारको कमी, शौचालयमा पालो पर्खनुपर्ने र खानेपानीको नियमित आपूर्ति नहुने समस्या रहेको बताए । अनुगमनको क्रममा तत्काल सुधार गर्नुपर्ने खानेपानीको आपूर्ति व्यवस्था रहेको टोली संयोजक गाहामगरले जानकारी दिए ।

Advertisement

‘बन्दीगृहका कैदीबन्दीका समस्या, भौतिक अवस्था आदिमा नीतिगत सुधार गर्न सरकारलाई सुझाव दिने उद्देश्यले अनुगमन गरिएको हो,’ उनले भने । छोटो समयमै टुंगिनुपर्ने मुद्दा टुंगो लाग्न नसकेको, वकिलमार्फत् परामर्श लिन सहज व्यवस्था गर्नुपर्ने लगायत गुनासा कैदीबन्दीले सुनाएको सांसद गाहामगरले बताए । उनले शौचालय र भान्छाकोठा टाढा राख्नुपर्ने अवस्था देखिएको बताउँदै सरसफाइ अवस्था राम्रो देखिएको उल्लेख गरे ।

कारागारको क्षमता ३५ जना भए पनि थुनुवा र कैदी गरी हाल १ सय ४३ जना रहेको कारागार प्रमुख विजयराज पौडेलले जानकारी दिए ।

Advertisement

प्रदेश मामिला समितिले प्रदेशका ११ वटै कारागारको स्थलगत निरीक्षण गरी सरकारलाई सुझाव दिनेछ । कारागारमा पछिल्लो समय लागुऔषध, जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगका कैदी र बन्दीको चाप बढी छ ।

क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी भएपछि कारागारमा बिहानको समयमा शौचालय प्रयोग गर्न लाइन बस्नुपर्ने बाध्यता छ ।

अनुगमन टोलीमा जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका उपप्रमुख मीरा जोशी, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी उपरीक्षक विनोद सिलवाल लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया