एग्बोसाले गर्‍यो मार्फामा स्वास्थ्य शिविर

समाधान संवाददाता २०७६ भदौ ३१ गते १३:४८

एसके थकाली, जोमसोम

पर्यटकीय गाउँ मार्फामा शनिबार बृहत स्वास्थ्य शिविर भएको छ । गण्डकी बोर्डिङ स्कुल पोखराका पूर्वविद्यार्थीको संस्था एग्बोसाको आयोजनामा शिविर भएको हो ।

घरपझोङ, बारागुङ र थासाङ गाउँपालिकाका बिरामीलाई लक्ष्य गरी आयोजित निशुल्क स्वास्थ्य शिविरमा करिब १ हजार बिरामीले स्वास्थ्य परीक्षण गरे । शिविरमा उपस्थित बिरामीलाई निशुल्क औषधिसमेत वितरण गरिएको थियो ।

Advertisement

शिविरमा २६ जना विशेषज्ञ चिकित्सक तथा १० जना मेडिकल टिम खटिएका थिए । शिविर बिहान ६ बजेदेखि राति ९ बजेसम्म चलेको थियो । शिविरमा मुटु, दम, क्यान्सर, नाक, कान घाँटी, आँखा, दाँत, हाडजोर्नी, पिसाब, स्त्री तथा प्रसूति र थायोराइड सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरका केही बिरामीको सामान्य शल्यक्रिया गरिनुका साथै सबैको अनिवार्य रगत र पिसाब परीक्षण गरिएको शिविर कोअर्डिनेटर दीपक मल्लले जानकारी दिए ।

स्वास्थ्य शिविरका लागि पूर्वविद्यार्थीले आफ्नै खर्च र प्राविधिक सहयोग गरेको एग्बोसा काठमाडौंकी अध्यक्ष डा. सुजीता हिराचनले बताइन् । गण्डकी स्कुलका पूर्वविद्यार्थीसमेत रहेका संघीय सांसद प्रेमप्रसाद तुलाचनले शिविरको उद्घाटन गरेका थिए । एग्बोसाका संस्थापक रवीन्द्र श्रेष्ठले शिविरका लागि आवश्यक रकम पूर्वविद्यार्थी तथा हाल कार्यरत संघसंस्था तथा कार्यालयबाट संकलन गरिएको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया