जलवायु परिवर्तनले पानी मुहान सुके

समाधान संवाददाता २०७६ भदौ ३१ गते १५:३७

‘जलवायु उत्थानशिलता खानेपानी सुरक्षा योजना’ विषयक अभिमुखीकरण कार्यक्रमका सहभागी । तस्बिरः एसके थकाली ।

एसके थकाली, जोमसोम

विश्वका औद्योगिक राष्ट्रले उत्पादन गरेको बढ्दो कार्बन उत्र्सजनका कारण नेपाल पनि जलवायु परिवर्तनको चपेटामा परेको छ । हिमाली जिल्ला मुस्ताङ पनि जलवायुको प्रभावमा परेको कार्यक्रमका सहभागीले बताएका छन् । जलवायु परिवर्तनले जमिनको तापमान वृद्धि भई विस्तारै हिमाली क्षेत्रका खानेपानी मुहान बर्सेनी सुक्दै गइरहेको उनीहरुको भनाइ थियो ।

Advertisement

जोमसोम खानेपानी उपभोक्ता समितिले सोमबार आयोजना गरेको ‘जलवायु उत्थानशीलता खानेपानी सुरक्षा योजना’ विषयक अभिमुखीकरण कार्यक्रममा सहभागीले यस्तो धारणा राखेका हुन् । उनीहरुले जलवायु परिवर्तनले पर्यावरणीय क्षेत्रमा समेत नकारात्मक असर परेको बताए ।

गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले उपल्लो मुस्ताङका २ वटा गाउँ जलवायु परिवर्तनको असरले विस्थापित भएको बताए । जमिनको तापक्रम बर्सेनि वृद्धि हुँदा उच्च हिमाली क्षेत्रको विकट गाउँ समजुङ र ध्ये खानेपानी मुहान सुकेपछि ५ वर्षअघि बस्ती विस्थापित भई अन्यत्र सार्नु परेको सांसद थकालीले सुनाए ।

Advertisement

सांसद थकालीले मानव स्वास्थ्यका लागि खानेपानी सुरक्षा मुख्य प्राथमिकताको विषय भएको बताए । गण्डकी प्रदेशले घरघरमा शुद्ध खानेपानी धाराको अवधारणा ल्याएको थकालीले जानकारी दिए । उनले नेपालमा २० प्रतिशत जनता शुद्ध खानेपानी उपयोगको पहुँचमा रहेको उल्लेख गर्दै प्रदेशले शुद्ध खानेपानी उपयोग वृद्धिदर बढाउने नीति रहेको उल्लेख गरे । खानेपानी असुरक्षाकै कारण विभिन्न प्रकोप र संक्रमण फैलिनेतर्फ सचेत रहन आग्रह गर्दै सांसद थकालीले मुहानदेखि मुखसम्म खानेपानी स्रोत संरक्षण र अनुगमन गर्नुपर्ने सुझाए ।

जोमसोम खानेपानी उपभोक्ता समितिका अध्यक्ष भीषण थकालीले सदरमुकाम जोमसोममा घरधुरी र सेवाग्राही बढेकाले खानेपानीको संकट परेको बताए । उनले सुरुमा एउटै मुहानको पानीले जोमसोम बजार थेग्ने गरेको उल्लेख गर्दै हाल ३ वटा अलगअलग मुहानको खानेपानी पनि अपुग भएको जनाए । जलवायु परिवर्तनको असरले मुहानहरु सुक्दै गइरहेको र समितिले मुहान संख्या वृद्धि गर्ने योजना बनाएको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठन एनपिओ इन्जिनियर राजाराम श्रेष्ठ र खानेपानी तथा ढल व्यवस्थापन विभागका इन्जिनियर दिवाकर घिमिरेले खानेपानी सुरक्षा विषयमा प्रस्तुतीकरण गरेका थिए । उनीहरुका अनुसार खानेपानी सुरक्षा योजनाका ७ वटा सुरक्षा सम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने र खानेपानी प्रणालीको विश्लेषण, अनुगमन र व्यवस्थापन र सञ्चारलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिए । नागरिकले उपयोग गर्ने खानेपानी सुशासनतर्फ सरकारले शुद्ध खानेपानीको अवधारणा ल्याएको उल्लेख गर्दै उनीहरुले यसका लागि उपभोक्ता समितिले नै मुहान संरक्षणदेखि खानेपानी परीक्षणलाई अनुगमन र संरक्षण गर्नुपर्ने सुझाए ।

जलवायु परिवर्तनले खानेपानी स्रोतलाई पुर्‍याउने असरबारे पूर्व तयारी गर्नुपर्ने सुझाइएको छ । यसका लागि टोली गठन, खानेपानी प्रणालीको गठन र विश्लेषण, प्रदूषणका तथा जोखिम घटनाको पहिचान, नियन्त्रणका उपाय पहिचान र ठोस सुरक्षा योजना अपनाउन उपभोक्ता समिति सक्रिय रहनुपर्ने जनाइयो । उनीहरुले खानेपानीको मुहान सुक्दै जानु र सोही अनुसार सेवाग्राहीको माग बढ्नु जलवायु परिवर्तन अर्थात जमिनको तापक्रम वृद्धि मुख्य कारण भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया