चाडपर्वलाई पर्यटनसँग जोडौं

समाधान संवाददाता २०७६ असोज ३ गते १४:५८

लक्ष्मण गिरी
मानव जाति तथा समुदायको जगमा एउटा सांस्कृतिक परिवेश निर्माण भएको हुन्छ, यिनै सांस्कृतिक परिवेशको निरन्तरता र संरक्षणका निम्ति धार्मिक आस्थाका विकास भएको पाइन्छ । हरेक राष्ट्रको पहिचानमा संस्कृतिले महत्वपूर्ण योगदान पुर्याएको हुन्छ । त्यसैले भनिएको हुनु पर्छ, ‘कला संस्कृति राष्ट्रको पहिचान हो, कुनै पनि देशलाइ कमजोर पार्नु छ भने पहिला त्यस देशको संस्कृति माथी प्रहार गर्नुपर्छ र देशको राष्ट्रियता मजबुद बनाउनु छ भने संस्कृतिको संरक्षण गर्नुपर्छ ।’ चाडपर्व यिनै संस्कृतिका अवयव हुन् । हरेक चाडपर्वसँग गहिरो गरी सांस्कृतिक पक्ष जोडिएको हुन्छ । हामीलाई थाहा छ र महसुस पनि गरिरहेका छौं । हाम्रो भूमि नेपाल क्षेत्रफलका हिसाबले सानो होला तर यसको धार्मिक एवं सांस्कृतिक पक्ष विशाल र महत्वपूर्ण छ ।

हामी कहाँ अब राष्ट्रिय पर्वको (दशैं, तिहार, छठ, ल्होछार लगायत) मौसम सुरु भइसकेको छ । नेपाली नारीको महत्वपूर्ण पर्व तिज त मनाइनै सकिएको छ । यहाँ यस अर्थमा यी पर्वलाई राष्ट्रिय पर्व भन्न खोजिएको हो कि, कुनै बेला हिन्दु धर्मलम्वीको पर्वका रुपमा मात्र मनाइने र भनिएपनि अब यी पर्व कुनै जाति विशेष र धर्म विशेषका मात्र रहेनन् । यी पर्वले जन–जनमा पर्वको उल्लासमय वातवरण सृजना गरिदिएको हुन्छ । समाजमा एउटा सकारात्मक सन्देश प्रवाह गरेको अनुभूत हुन्छ र परिवार तथा आफन्तजनमा प्रेम पूर्वक आत्मियताको प्रवाह ।

प्रसंग जोडौं, यी बहुपक्षिय महत्व बोकेका राष्ट्रिय चाड पर्वलाई कसरी देशको पर्यटन प्रवद्र्धनमा जोड्न सकिएला भनेर । चाडपर्वलाई लक्षित गरेर पर्यटन प्रवद्र्धन गर्न खोजिएको हुन्छ भने पर्यटकीय भाषामा यसलाई फेस्टिबल टुरिजम, धार्मिक या सांस्कृतिक टुरिजम पनि भनिन्छ । यहाँ अघिनै भनिसकेको छ कि हरेक पर्वसँग समाज एवं मानव सभ्यताको गहिरो सांस्कृतिक पक्ष जोडिएको हुन्छ भनेर । मानव सभ्यता तथा विविधापूर्ण सांस्कृतिक पक्षको अध्यन गर्ने ध्ययले संसारमा थुप्रै मानिस १ ठाउँबाट अर्को ठाउँमा जाने गरेको पाइन्छ । यस उद्देश्य राखेर घुमफिर गर्ने पर्यटकलाई कल्चरल टुरिस्ट भन्ने गरिएको छ ।

यहाँ भनिरहनुपर्दैन कि हाम्रो देश नेपालका यी ३ ठूला पर्व लगायत अन्य थुप्रै चाडपर्व मानव सभ्यताका दृष्टिकोणले होस या बहुपक्षिय सांस्कृतिक महत्वका दृष्टिकोणले कम महत्व पक्कै छैनन् । त्यसैले कल्चरल पर्यटकका लागि हाम्रा सबै चाडपर्व अध्ययनका दृष्टिले पनि महत्वपूर्ण नै छन् । नेपाल कल्चरल टुरिजम प्रवद्र्धनका दृष्टिबाट समेत १ महत्वपूर्ण गन्तव्यमा रुपमा थप विकास गर्न सकिन्छ नै । बहुभाषिक बहुसांस्कृतिक विविधता रहेको नेपाली समाजमा हरेक महिना एउटा न एउटा पर्व परिरहन्छ । जुन पर्वले यहाँको सांस्कृतिक, प्राकृतिक तथा समग्र मानविय सभ्यताको महत्वपूर्ण अर्थ अनिवार्य बोकेको हुन्छ ।

पर्यावरणीय दृष्टिकोणबाट पनि हाम्रा प्रमुख पर्व मनाइरहेका महिनालाई पर्यटकीय मौसमका रुपमा लिँदै आइरहेका छौं । वर्षमा सबैभन्दा बढी पर्यटकको प्रवाह पनि यसै मौसममा भएको तथ्यांकले देखाउने गरेको छ । अझ पछिल्ला केही वर्ष यता दशैं र तिहारको समय अवधिमा आन्तरिक पर्यटकको प्रवाह ह्वात्तै वृद्धि हुन थालेको पाइन्छ । यो प्रवाहले अन्तर्राष्ट्रिय पर्यटकलाई पनि सकरात्मक प्रवाह छोडेकै हुन्छ । यो बेला मौसम खुल्ला रहने धेरै गर्मी पनि नहुने र धेरै जाडो पनि नहुने अनि प्राकृतिक दृश्यावोलकन गर्न पनि आनुकुल हुने हुँदा पर्यटकका लागि उपयुक्त भएको हो ।

प्रमुख चाडपर्वलाई कसरी बढी भन्दा बढी पर्यटन मैत्री बनाउने ? यस सन्दर्भमा सम्बन्धित निकायबाट ध्यान पुग्न थाल्यो भने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय पर्यटन प्रवाहमा थप वृद्धि ल्याउन सकिन्छ भन्ने विश्वास छ । दृष्टान्त जोडौं, तीजमा रातो सारी पहिरिएर विदेशी पर्यटकलाई नचाउँदा, दशैंमा फुल टिका जमरा लागाइदिँदा, तिहारमा नेपली टोपी सहितको सप्तरंगी टिका र माला तथा होली या अषाढ १५ लागाएत अन्य पर्वमा विदेशी पर्यटक समावेश गरेर मानइएको दृश्य कति रमाइलो हुन्छ होला । यसको सांस्कृतिक तथा मानविय पक्षको महत्व त एउटा छँदै छ सँगसँगै आनन्दका दृष्टिले पनि त पर्यटकका लागि कम महत्व पक्कै छैन ।
भर्खरै सम्पन्न इन्द्र जात्रामा केही विदेशी पाहुना सहभागी गराइयो, सहभागी पाहुनाले दिएको पृष्ठपोषणका आधारमा पनि अनुमान गर्न सकिन्छ कि चाडपर्वलाई कसरी पर्यटन प्रर्वद्धनसँग जोड्न सकिन्छ भनेर । अहिले सम्म पर्यटकलाई चाडपर्व मनाएर रमाइलो गर्ने वातवरण जति भएका छन् जानकारी भए अनुसार निजी स्तरबाट नै भएको देखिन्छ । राज्य स्तरबाट नै यसको अगुवाई गरेर विदेशी पर्यटकका लागि यस्ता चाडपर्व मनाउने वातवरण तय गर्न सकियो भने चाड पर्वका बेला पर्यटकको प्रवाहमा वृद्धि कसरी नहोला र !

हामीलाई थाहा छ, धार्मिक दृष्टिकोणले इसाई जीवनकालमा १ पटक जेरुसेलम जानुलाई ठूलो पुन्यका रुपमा लिने गर्छन्, यसलाई पर्वलाई इज्रायलले आर्र्थिक उपार्जनसँग जोडर लावान्भित भइरहेको छ । मुस्लिम जीवनकालमा १ पटक मक्कामदिना जानुलाई जीवनको पुन्य ठान्छन् । यसलाई साउदीले पनि आर्थिक अवसरमा रुपान्तरण गर्न सवल रहेको छ । यसबाट हामीले पनि सिक्नुपर्ने कुरा छ । नेपाल बुद्धको पवित्र जन्मभूमि हो नै । संसारभरका बौद्ध धर्मलवम्वीलाई जीवनकालमा बुद्धभूमि लुम्बिनी पुग्नैपर्छ भन्ने सन्देश किन प्रवाह नगर्ने र यसलाई आर्थिक अवसरमा रुपान्तरण गर्न किन नसोच्ने अब ? हो संसारका बौद्ध धर्मलम्वीलाई बुद्ध पूर्णिमामा १ पटक लुम्बिनी पुग्नैपर्ने भन्ने खालको सन्देश प्रवाह गराउन सकियो भने इज्रायल र साउदीले झैं हामीले पनि यसलाई आर्थिक अवसरका रुपमा लिन अवश्य सक्छौं । त्यस्तै हिन्दु धर्मवलम्बीको पवित्र शक्ति पिण्ड पनि हामी कहाँ रहेका छन् हिन्दुका लागि पनि कम महत्वको भूमि नेपाल पक्कै होइन ।

यति बेला देशले समृद्धिको नारा बोकेर अगाडि बढिरहेको छ । समृद्ध मुलुक निर्माणमा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहने विश्वास राख्दै सरकारले सन् २०२० लाई २० लाख पर्यटक भित्र्याउने उद्देश्य राखेर नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको छ । फ्रान्सले वार्षिक ८७ करोड, टर्कीले ३५ करोड तथा थाइल्याण्डले ३६ करोडको हाराहारीमा पर्यटक भित्र्याउछन् । हामीले २० लाखको लक्ष्य राखेर भ्रमण वर्ष मनाउँदै छौं । यो महत्वकांक्षी योजना पक्कै होइन । पहल गरौं र विश्वास राखौं । हाम्रा चाडपर्वले भ्रमण वर्षको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान अवश्य पुर्याउने छन् ।
गिरी नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका केन्द्रीय सदस्य हुन् ।

तपाईको प्रतिक्रिया