हिमालबाट झर्दै भेडाच्यांग्रा

समाधान संवाददाता २०७६ असोज ८ गते १२:२४

मुस्ताङको जोमसोममा भित्रिएका भेडा च्याग्रा । तस्बिरः एसके थकाली

एसके थकाली
जोमसोम

दसैं नजिकिएसँगै विभिन्न जिल्लाका व्यापारी हिमालपारिको जिल्ला मुस्ताङको जोमसोम आउन थालेका छन् । कास्की, म्याग्दी, स्याङ्जा, तनहुँ, पर्वत लगायत जिल्लाबाट व्यापारी सोमबारदेखि नै जोमसोम आउन थालेका हुन् ।

Advertisement

जोमसोम–कोरला यातायात सडक सञ्जाल सहज भएकाले कतिपय व्यापारी उपल्लो मुस्ताङसम्म पुगेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए । सोह्रश्राद्ध परेकाले वारागुङ मुक्तिक्षेत्रको कागबेनी तीर्थधाममा श्राद्ध गर्ने तीर्थालुसँगै भेडाच्यांग्रा व्यापारीको जोमसोममा रौनक बढेको छ । जोमसोमका स्थानीय होटेल व्यवसायीका खोरमा हुलिएका भेडा च्यांग्राको स्थानीय व्यापारी र जिल्ला बाहिरका व्यापारीबीच मोलमोलाइको दृश्य देखिन्छ ।

यसवर्ष भेडाच्यांग्रा जोमसोम झरेको म्याग्दी रघुगंगा गाउँपालिका २ का व्यापारी ध्रुव खत्रीले बताए । उनका अनुसार यस पटक कोरला नाका हुँदै जोमसोममा भेडा–च्यांग्रा कम झरेकाले उकालो लागेको हो । व्यापारी खत्री भन्छन्, ‘विगत २६ वर्षदेखि बर्सेनि च्यांग्राको व्यापार गर्दै आइरहेको छु । जोमसोममै भेडा–च्यांग्राको मूल्य प्रतिगोटा ३ हजारले महँगो भएको छ । यहीँ च्यांग्रा महँगो भएपछि बेंसी बजारमा लगेर बेच्न मुश्किल पर्ने देखेको छु ।’ खत्रीका अनुसार मंगलबारसम्म करिब १३ हजार भेडा च्यांग्रा झारिएको छ ।

Advertisement

म्याग्दी बेनी नगरपालिका १० का टेकबहादुर पाइजा पनि दसंैका लागि च्यांग्रा खरिद गर्न मुस्ताङ आएका छन् । विगत ७ वर्षदेखि च्यांग्रा व्यापार थालेका पाइजाले मुस्ताङका स्थानीय व्यापारी र डोल्पाबाट च्यांग्रा जोमसोम झरेको उल्लेख गरे । तिब्बतबाट भेडा च्यांग्रा कम भित्रिएकाले जोमसोममा च्यांग्र्राको मूल्य बढेको बताए ।

मुस्ताङबाट गत वर्ष २३ हजार भेडा च्यांग्रा जिल्ला बाहिरिएकोमा यस पटक गतवर्षको तुलनामा ३० प्रतिशत कम बाहिरिने देखिएको छ । जोमसोम भित्रिएका र मुस्ताङबाट बाहिरिने भेडाच्यांग्रा निकासीमा चरिचरनका नाममा स्थानीय कर लिने गरेको डोल्पाका भेडाच्यांग्रा व्यापारी काजी बुढाले जानकारी दिए ।

स्थानीय तहले मनोमानी रुपमा कर लिन थालेपछि महँगो मूल्यमा च्यांग्रा बिक्री गर्नु परेको बताए । जोमसोममा भित्रिने च्यांग्रालाई स्थानीय प्रशासनले अनिवार्य भेटेरिनरी परीक्षण गर्न लगाएको छ । वरिष्ठ पशु चिकित्सक डा. लक्ष्मण ढकालले मुस्ताङबाट बाहिरिने च्यांग्राको अनिवार्य भेटेरिनरी परीक्षण गर्नुपर्ने बताए । उनले भेटेरिनरी परीक्षणका लागि पशुस्वास्थ्यकर्मी खटिएको जानकारी दिए । स्वच्छ मासुका लागि पशु मेडिकल परीक्षण आवश्यक भएको जनाए ।

डा. ढकालका अनुसार यसवर्ष खाद्य संस्थानले मुस्ताङबाट २ हजार च्यांग्रा खरिद गर्ने भएको छ । खाद्यले गत वर्ष मुस्ताङबाट १ हजार च्यांग्रा खरिद गरेको थियो । डा. ढकालका अनुसार मुस्ताङबाट जिउँदो च्यांग्रा ५ सय ६० र गोठाला खर्च २ सय २५ जोडेर प्रति केजी ८ सय २५ मूल्य निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया