थानकोट-नागढुंगा सडकखण्डमा ओभरटेक गर्न नपाइने

समाधान संवाददाता २०७६ असोज ८ गते १४:१६

रासस, काठमाडाैं

ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर सार्वजनिक तथा निजी सवारी साधनलाई चार पटकसम्म जाँच गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वका बेला निजी तथा सार्वजनिक सवारी साधन घट्न सक्ने सम्भावित घटनालाई लक्षित गरेर बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष जाँचको व्यवस्था गर्न लागेको हो ।

Advertisement

 महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सवारी साधन विशेष जाँचका लागि ४३० जनशक्ति थप गरिएको जानकारी दिए ।

‘हाल ३६८ स्थानमा नियमित जाँचका लागि ७५० जनशक्ति परिचालन गरेकामा चाडपर्वलाई लक्षित गरेर ४३० जनशक्ति थप गरेका छौं’, उनले भने ।

Advertisement

चाडपर्वको समयमा थानकोट–नागढुंगा सडकखण्डमा सवारी चलाउँदा ओभरटेक गर्न नपाइने व्यवस्थासमेत गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विगतमा जस्तै चाडपर्वको समयमा कलंकी-नौबिसे सडकखण्डमा सवारी साधन बिग्रेर घण्टौंसम्म जाम हुने परिपाटीको अन्त्यका लागि प्रहरी प्रधान कार्यालयबाट ‘र्‍याकर’ (बिग्रेको सवारी तान्ने साधन)को व्यवस्था गरेका छन्। जसले गर्दा कुनै पनि सवारी साधन बिग्रेमा तत्काल तानेर बाटो खुलाउन सकिन्छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला दसैं मान्न झण्डै २५ लाख यात्रु बाहिरिने भएकाले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन यातायात व्यवसायी गम्भीर भएर लागेका बताउँछन्।

जाँचका क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरे/नगरेको, लामो दूरीका सवारी साधनमा दुई चालक भए/नभएको, सवारी साधनभित्र भाडादर राखे/नराखेको, मोटरसाइकलले हेल्मेटको प्रयोग गरे/नगरेको, क्षमताभन्दा धेरै यात्रु वा सामान राखे/नराखेकोलगायतका कुरा हेर्नेछ। चाडपर्वको समयमा तीव्र गतिमा सवारी साधन चलाउने चालकलाई कारबाही गर्ने महाशाखाले जनाएको छ।

यसैगरी, यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गरी सञ्चालनमा ल्याएको यात्रु सहायताकक्षमा समेत ट्राफिक प्रहरी खटाइने महाशाखा प्रमुख ढकाल बताउँछन्।

नयाँ बसपार्कबाट उपत्यका बाहिरिने सम्पूर्ण सार्वजनिक सवारी साधनको यान्त्रिक परीक्षणसमेत गरिने भएको छ।

नयाँ बसपार्क सञ्चालनको जिम्मेवारी पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुवँर यान्त्रिक परीक्षणसँगै चाडपर्वको समयमा हुने दुर्घटनामा कमी आउने बताउँछन्।

‘नयाँ बसपार्कबाट छुट्ने अधिकांश सार्वजनिक सवारी साधनलाई परीक्षण गरेर उपत्यका बाहिर पठाउँछौं’, उनले भने।

यात्रु, चालक तथा सहचालकलाई लक्षित गरेर सवारी साधन छुट्नुभन्दा अगाडि संस्कार समाज नेपालको सहकार्यमा महाशाखाबाट निर्माण गरिएको जनचेतनामूलक अडियो एक हजार थान पेनड्राइभ वितरण गरिने महाशाखाले जनाएको छ।

संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले सार्वजनिक सवारी साधनमा असल संस्कारसम्बन्धी जनचेतनामूलक अडियो वितरण गरेसँगै समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताइन्।

महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन आइतबारदेखि ५०० ट्राफिक स्वयंसेवक सडकमा खटाएको छ।

तपाईको प्रतिक्रिया