नदीपुरमा क्लब स्तरीय भलिबल प्रतियोगिता

समाधान संवाददाता २०७६ असोज ९ गते १२:४४

समाधान संवाददाता
पोखरा

नदीपुरस्थित छन्त्याल समाजको प्रांगणमा तेस्रो संस्करणको क्लब स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा आगामी ११ गतेसम्म सञ्चालन हुने प्रतियोगिता बुधबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा छन्त्याल युवा क्लब म्याग्दी चोकले पोखरा भलिबल प्रशिक्षण केन्द्र निलोलाई २५–१९, १९–२५ र २५–१९ को सेटले पराजित गर्याे । त्यस्तै दोस्रो खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्र पहेँलोले १९–२५, २५–१२ र २५–२२ को सेटले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्र रातोलाई पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्‍यो ।

Advertisement

बुधबार भएका अन्तिम खेलमा पर्वतले २७–२५ र २५–१५ को सोझो सेटले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्र निलोलाई पाखा लगाउँदै दोस्रो चरणमा स्थान बनायो । यसअघि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

कार्यक्रममा गुरुङले खेलकुद विकासका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मौका नपाएका खेलाडीका लागि प्रतियोगिता राम्रो अवसर बन्न सक्ने उल्लेख गर्दै गुरुङले सबै खेलाडीलाई सफलताको शुभकामना दिए ।

Advertisement

खेलकुदले शरीर स्वस्थ्य राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले मर्यादित र अनुशासित भएर खेल खेल्नुपर्नेमा जोड दिए । उनले खेलाडीको सेवा सुविधाका लागि सम्बन्धित निकायले ध्यान दिनपर्ने बताउँदै आफ्नोतर्फबाट सदैब पहलकदमी थाल्ने बताए ।

प्रतियोगितका खेल संयोजक तथा राष्ट्रिय रेफ्री अनील गुरुङले क्लब स्तरीय पुरुष भलिबलतर्फ १८, महिलातर्फ ८ र भेट्रान्सतर्फ ७ टिम सहभागी भएको बताए । गुरुङले प्रतियोगिताकोे पुरुषतर्फको बिजेता टिमलाई सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने बताए ।

उनका अनुसार उपविजेता टिमले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ३५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ भने महिलातर्फको विजेता र उपविजेता टिमलाई क्रमश सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद २० र १३ हजार प्रदान गरिनेछ ।

भेट्रान्सतर्फ विजेता र उपविजेता बन्ने टिमले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित खसी प्राप्त गर्नेछ । संयोजक गुरुङले प्रतियोगितामा विधागत रुपमा पुरस्कारको व्यवस्था गरिएको बताउँदै प्रतियोगिता अवधिभर विविध सांस्कृतिक कार्यक्रमसमेत समावेश गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया