वुमेन्स बिकिनी एन्ड फिजिक च्याम्पियनसिप भोलि

समाधान संवाददाता २०७६ असोज १० गते १२:३०

समाधान संवाददाता
पोखरा

पोखरा सभागृहमा शनिबार हुने ‘वुमेन्स बिकिनी एन्ड फिजिक च्याम्पियनसिपको तयारी पूरा भएको छ । गोर्खा क्लासिक नेपालले आयोजना गर्ने पहिलो संस्करणको ‘वुमेन्स बिकिनी एन्ड फिजिक च्याम्पियनसिप’ को सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुनेछ । उनले शारीरिक सुगठन खेलप्रति महिलालाई सक्रिय गराई र व्यावसायिक बनाउने लक्ष्यसहित च्याम्पियनसिप आयोजना गरेको बताए । बिकिनी र फिजिक गरी २ विधामा खेलाडीले प्रतिस्पर्धा गर्ने उनले बताए ।

Advertisement

उनका अनुसार फिजिकतर्फका विजेताले २ लाख प्राप्त गर्नेछन् भने उपविजेता र सान्त्वना स्थान हासिल गर्ने खेलाडीले क्रमश १ लाख ५ हजार र ८० हजार प्राप्त गर्नेछन् ।

त्यस्तै बिकिनीतर्फको विजेता खेलाडीलाई ८० हजार प्रदान गरिने गुरुङले बताए । उनका अनुसार उपविजेता खेलाडीलाई ६० हजार र सान्त्वना हुने खेलाडीलाई ५० हजार प्रदान गरिनेछ ।

Advertisement

प्रतियोगितामा एउटा खेलाडीले १ विधामा मात्र भाग लिन पाउने बताउँदै उपाधिका लागि ३ चरण पार गर्नुपर्ने उनले जानकारी दिए । गोर्खा क्लासिक नेपालका सचिव भरत गुरुङले प्रतियोगितामा खेलाडीको उचाइको आधारमा सहभागी गराइने बताए ।

गुरुङले देशभरबाट अहिलेसम्म १५ भन्दा बढी खेलाडीले नाम दर्ता गरिसकेको बताए । कार्यक्रममा आइएफबीबी प्रो विनीता राईको विशेष प्रस्तुति रहने र जुम्बा तथा टिकटक सोसमेत समावेश गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया