महाधिवेशन तयारीमा मोना

राकेश शर्मा
म्याग्दी
म्याग्दीको घोडेपानीमा हुन लागेको म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको तेस्रो महाधिवेशन तथा पाँचौ साधारणसभाको तयारी तीव्र पारिएको छ । असोज १४ देखि १६ गतेसम्म हुने महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरी तयारी तीव्र पारिएको मोनाले जनाएको छ ।
मोनाका पदाधीकारी बेनीमा अधिवेशनको तयारी गरिरहेका छन् । विभिन्न देशबाट महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउन थालेका छन् । प्रवासी म्याग्देलीलाई आफ्नो जिल्लाको पर्यटकीयस्थल चिनाउनुका साथै ग्रामीण पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका ६ मा पर्ने घोडेपानीमा महाधिवेशनको आयोजना गरिएको मोनाका अध्यक्ष चक्र थापाले जानकारी दिए । बेनीमा रहेको सचिवालयमार्फत समन्वय र तयारी गरिरहेको उनले बताए । पहिलो अधिवेशन र दोस्रो साधारणसभा बेनीमा भएको थियो । दोस्रो अधिवेशन दरवाङ, चौंथो साधारणसभा पोर्चुगलमा भएको थियो । मोनाले फरक फरक ठाउँमा साधारणसभा र अधिवेशन गर्ने नीति लिएको छ ।
महाधिवेशनको व्यवस्थापन संयोजक जंगबहादुर पुनले घोडेपानीबासी प्रवासी पाहुनाको स्वागतका लागि जुटेको बताए । स्थानीयबासीसँग समन्वय गरी तयारी तीव्र बनाइएको बताए । गाउँपालिकाले महाधिवेशन स्थलमा दीर्घकालीन प्रयोग हुने गरी पूर्वाधार निर्माण गरिरहेको छ । अधिवेशनको अवसरमा घोडेपानीमा दन्त शिविर सञ्चालन गर्न मंगलबार बेनी अस्पताल व्यवस्थापन, चिकित्सक र स्वास्थ्यकमीरुसँग छलफल गरिएको छ । यसअघि अधिवेशनको सुरक्षा तयारीका विषयमा जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारीसँग छलफल भएको थियो । अधिवेशनको अवसरमा बेनीमा वडास्तरीय पुरुष, महिला भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ । बेनीमा सुरु हुने प्रतियोगिताको फाइनल प्रतियोगिता घोेडेपानीमा सञ्चालन गरिने संयोजक तजेन्द्र बानियाले जानकारी दिए ।
महाधिवेशनमा वडास्तरीय भलिबल प्रतियोगिता, कलाकारद्वारा गीत तथा नृत्य प्रस्तुत, निशुल्क दन्त परीक्षण, समृद्ध म्याग्दीका लागि सामूहिक लगानी भित्र्याउने सम्बन्धमा बृहत छलफलसमेत गरिने भएको छ ।
आगामी २ वर्षे कार्यकालका लागि मोनाको नयाँ नेतृत्वसमेत चयन हुनेछ । मोना विश्वभर छरिएर रहेका म्याग्देलीको साझा संस्था हो । पछिल्लो कार्यसमितिको पहलमा विश्वका २० वटा देशमा मोनाको कार्यसमिति विस्तार भएको छ । यसैगरी समस्यामा परेका महिला तथा बालबालिकाको सहयोगका लागि कोष स्थापना भएको छ । विद्युतीय पुस्तकालय अभियान सञ्चालन गरेको छ । प्रवासी म्याग्देलीको अगुवाइमा २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ ।
अन्य आयोजनामा पनि प्रवासी र गैरआवासीय नेपालीको लगानी भित्र्याउन पहल गरिएको मोनाका पदाधीकारीले बताएका छन् । प्रवासमा समस्यामा परेका म्याग्देलीलाई मोनाको समन्वयमा सहयोग गरिएको छ । प्रवासी म्याग्देलीले मोनामार्फत म्याग्दीको शिक्षा, स्वास्थ्य र सामाजिक तथा परोपकारी क्षेत्रमा सहयोग गर्दै आएका छन् । प्रवासीले म्याग्दीको विकास गतिविधिमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् ।







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया