आज सबै सरकारी कार्यालय बिदा

समाधान संवाददाता २०७६ असोज १२ गते १३:००

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेश सरकारले पुस १५ मा ल्होसारको बिदा दियो । तर, संघीय सरकार अन्तर्गतका कार्यालय खुले । गण्डकी प्रदेश सरकारले माघे संक्रान्तिमा दोस्रो बिदा दियो । प्रदेश मातहतबाहेकका कार्यालय माघे संक्रान्तिमा बन्द भए, संघीय कार्यालयहरु खुलै रहे ।

फागुन ४ गते प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले दिएको तेस्रो बिदा पनि संघीय सरकारले मानेन । प्रदेश मातहतबाहेक अन्य कार्यालयलाई बिदा गर्ने निर्देशन नरहेको बताउँदै संघीय सरकारका कार्यालय सञ्चालन भए ।

Advertisement

आइतबार प्रदेश सरकारले घटस्थापनाको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ । यस पटक भने संघीय र प्रदेश मातहतका कार्यालयले बिदा मनाउने भएका छन् । यसअघि न्यायालय बाहेकका संघ मातहतका कार्यालय र बैंकले बिदा मनाएका थिएनन् । घटस्थापनाका अवसरमा भने जिल्लाका सबै सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्था लगायत सबै बन्द हुने भएका छन् ।

प्रदेश सरकारको बिदा दिन ११ वटै जिल्ला प्रशासन कार्यालयले सर्कुलर जारी गरेका छन् भने राष्ट्र बैंकको निर्देशन अनुसार सबै बैंकिङ कार्यालय पनि बन्द हुने भएका छन् । राष्ट्रियबाहेक प्रदेशले ६ दिन बिदा दिन सक्ने संघीय सरकारले अधिकार दिएको छ । सोही अधिकारलाई उपयोग गर्दै सरकारले दिएको यो चौंथोे बिदा हो ।

Advertisement

वैशाख ३० गते प्रदेशले दिने ६ दिनको बिदामा पनि सबै कार्यालयले बिदा मनाउन सक्ने गरी राजपत्रमा प्रकाशित गरेको थियो । त्यसै अनुसार प्रदेशले दिएको घटस्थापनाको बिदा सबै कार्यालयले मनाउने भएका हुन् । ‘संघीय सरकारले नै राजपत्रमा प्रकाशित गरेर बिदा दिनसक्ने बनाएपछि सबै कार्यालय बन्द हुने भएका हुन्,’ कास्कीका सिडिओ रमेशकुमार केसीले भने ।

तपाईको प्रतिक्रिया