जस्ट इन टाइमको ठगीधन्दाः एउटै नम्बरको ३ थरि बिल

समाधान संवाददाता २०७६ असोज १२ गते १३:३७

विकास रोकामगर
पोखरा

पोखरा २७ तालचोकस्थित कालिका इलेक्ट्रोनिक्सले फोहोरमैला संकलन गरेबापत महानगरलाई रकम बुझाएको बिल पायो । उक्त बिल ५१५१ नम्बरको थियो । पोखरा महानगरपालिकाको छापसहित पाएको बिल नम्बर कालो रङमा थियो । इलेक्ट्रोनिक्सले महानगरलाई ६ सय ७५ रुपैयाँ बुझाएको थियो ।

असोज ७ गते पोखरा ३१ नहरचोक बस्ने रामजीप्रसादले महानगरलाई ५ महिनाको १ हजार रुपैयाँ रकम बुझाए । उनले रकम बुझाएबापत पाएको बिल पनि ५१५१ नम्बर कै थियो । तर, बिल नम्बर रातो रंगमा थियो र महानगरको छापसमेत थिएन ।

Advertisement

भोलिपल्टै अर्थात असोज ८ गते पोखरा २७ डाँडाको नाक बस्ने सुनमाया तामाङले पनि १ सय ५० रुपैयाँ बुझाइन् । उनले पाएको बिलमा पनि रामजीले बुझेको बिल नम्बर र रङसँग हुबहु मिल्यो । एउटै नम्बरको बिल फरक फरक व्यक्तिलाई दिएको भेटेपछि कुरा महानगरसम्म पुग्यो ।

एउटै प्रकृतिको गुनासो पटक पटक महानगरमा आएपछि महानगरले यसबारे छानबिन थाल्यो । छानबिन पश्चात खुल्यो, ‘महानगरको नाममा वितरण भएका रातो नम्बरका सबै बिल नक्कली पो रहेछन् । फोहोर उठाउने जिम्मा लिएको कम्पनीले महानगरको नाममा ठगीधन्धा चलाइरहेको रहेछ !’

Advertisement

महानगरको नाममा नक्कली बिल छापेर त्यसरी दुरुपयोग गर्ने कम्पनी हो, जस्ट इन टाइम । कम्पनीले साविक लेखनाथका ८ वटा वडाबाट फोहोरमैला संकलन गर्ने जिम्मा लिएको छ । महानगरका अधिकृत भरतराज पौडेलसहितको टोलीले कम्पनीले नक्कली बिल प्रयोग गरी राजश्व छलिरहेको पत्ता लगाएको हो । ‘सक्कली बिलमा महानगरको छाप हुन्छ । नम्बर पनि कालो रङमा हुन्छ । तर, कम्पनीले महानगरको छापबिहीन रातो नम्बरको बिल प्रयोग गरिरहेको खुल्यो,’ पौडेलले भने ।

पोखरा महानगरले पब्लिक प्राइभेट पार्टनरसिप (पिपिपि) मोडल अनुसार सम्झौता गरेर फोहोर मैला संकलन गरिरहेको छ । त्यसरी फोहोर मैला संकलन गर्ने कम्पनीले सेवाग्राहीबाट रकम बुझ्न महानगरले नै उपलब्ध गराएको बिल प्रयोग गर्नुपर्दछ । महानगरले उपलब्ध गराएको बिलबाट कम्पनीले सेवाग्राहीसँग पैसा बुझ्ने र महानगरमा बुझाउने गर्नुपर्दछ ।

सार्वजनिक निजी साझेदारी अन्तर्गतका फोहोरमैला संकलन गर्ने कम्पनीले महानगरमा बुझाएको रकमबाट ८० प्रतिशत कम्पनीलाई फिर्ता गरेर २० प्रतिशत महानगरले राख्ने गरेको छ । कम्पनीले २०७४ चैत महिनामा महानगरसँग फोहोर मैला संकलन गर्न सम्झौता गरेको हो ।

चालु आर्थिक वर्षमा जस्ट इन टाइमले महानगरको आधिकारिक बिल १ पटकमात्रै लगेको भेटिएको छ । महानगरको जिन्सी शाखाका अनुसार कम्पनीले भदौ महिनामा ९ वटा बिलको ठेली कम्पनीले लगेको छ । ‘एउटा ठेलीमा ५० वटामात्रै रसिद हुन्छ । कम्पनीले नक्कली बिल लगेपछि सक्कली बिल देखाउनका लागिमात्रै लगेको जस्तो भयो,’ अधिकृत पौडेलले भने ।

अधिकृत पौडेलका अनुसार कम्पनीले जिम्मा लिएका क्षेत्रमा ७० वटाभन्दा बढी बिल जानुपर्नेमा १० वटामात्रै गएको देखिएको जानकारी दिए । ‘उक्त क्षेत्रमा ५ सयभन्दा बढी ठेली जानुपर्ने हो । तर ९ वटा पनि नकटेपछि शंका उत्पन्न भएको हो,’ उनले भने ।

जस्ट इन टाइमले महानगरले बनाएको व्यापारिक भवन प्रयोग गरेवापत भाडा नबुझाएकाले प्रत्येक भुक्तानीमा २५ प्रतिशत काटेर मात्रै दिने निर्णय गरेको छ । ‘महानगरमा पैसा बुझाएपछि फिर्ता पाउँदिनँ भनेर नक्कली बिल छापेको हुन सक्छ,’ अधिकृत पौडेलले भने, ‘कहिलेदेखि नक्कली बिल प्रयोग गरिरहेको हो छानबिन हुँदैछ ।’

महानगरको नाममा नक्कली बिल छापेर राजश्व छली गरेको पाएपछि फोहोरमैला संकलनबापत महानगरले गर्नुपर्ने सम्पूर्ण भुक्तानी रद्द गरेको अधिकृत पौडेलले जानकारी दिए । उनले भने, ‘यो आय ठेक्का हो । अब कम्पनीलाई कस्तो कारबाही गर्ने भन्नेबारे कार्यपालिका बैठकले नै निर्णय गर्छ ।’

पोखरा तथा साविक लेखनाथ गरेर महानगरले अहिले दैनिक १ सय ६० टन फोहोर संकलन गरिरहेको छ । महानगरले त्यसरी फोहोर व्यवस्थापन गर्न प्रति घरधुरी ८ रुपैयाँदेखि ९ हजार रुपैयाँसम्म मासिक सेवा शुल्क उठाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया