प्रदेश सरकारले थाल्यो बजार अनुगमन

समाधान संवाददाता २०७६ असोज १४ गते ११:४८

समाधान संवाददाता
पोखरा

उपभोक्ता संरक्षण ऐन र नियमावलीले बजार अनुगमनको जिम्मा जिल्ला प्रशासन कार्यालयलाई दिएको थियो । तर उक्त ऐन २०७५ मा परिमार्जन भयो । संघीयता कार्यान्वयनसँगै बजार अनुगमनको जिम्मा प्रदेश र स्थानीय सरकारमा आयो । तर नियमावली र निर्देशिकाको अभावमा गण्डकी प्रदेशमा अनुगमनको काम हुन सकेको थिएन ।

संघीले बनाएको उपभोक्ता ऐन २०७५ मा टेकेर प्रदेशले तयार पारेको बजार अनुगमन असोज २ पारित गण्डकीको मन्त्रीपरिषद बैठकले पारित गर्‍यो । उक्त नियमावली असोज ६ मा राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन सुरु भएको छ । लामो कसरतपछि प्रदेशले नियमावली बनाएको र अब यही नियमावली अनुसार नै ११ वटै जिल्लामा क्लस्टर अनुसार बजार अनुगमन हुने उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले बताए । यही नियमावलीमा आधारित रहेर स्थानीय तहले बजार अनुगमन निर्देशिका बनाउन सक्ने उनले जानकारी दिए ।

Advertisement

प्रदेशको नियमावली पारित भएपछि सोमबारबाट पोखरामा प्रदेश सरकारको तर्फबाट पहिलोपटक बजार अनुगमन सुरु भएको छ । दसैंको मुखमा उपभोक्ताबाट धेरै गुनासो आएकाले मूल्य र गुणस्तर निर्धारणका लागि अनुगमन थालिएको उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले बताए । सुरुमा कारवाही गरिहाल्ने भन्दा पनि सुधारका लागि मौका दिइएको उनले जनाए ।

सोमबार पोखराका विभिन्न स्थानमा खाद्यान्न पसल, खाजा पसल र खाद्य उद्योगमा अनुगमन गरी सुधारका लागि निर्देशन दिइएको अनुगमन टोली संयोजक निर्देशक गोकुल शर्मा पौडेलले बताए । हरिचोकमा रहेको लक्ष्मी सन्तोष दालमोट उद्योगको अवस्था अत्यन्तै नाजुक रहेकाले १५ दिनका लागि अनुगमन टोलीले उत्पादनमा रोक लगाएको छ । निकै फोहोर अवस्थाको उद्योगले कुनै पनि मापदण्ड पूरा नगरेकाले उत्पादनमा रोक लगाइएको हो । १५ दिनभित्र सरसफाइ गरी मापदण्ड पूरा गरेर मात्र उद्योग चलाउन निर्देशन दिइएको प्रदेश अनुगमन समिति सदस्य सचिव भरतमणि बरालले बताए । दालमोट भुट्न प्रयोग गरेको बासी तेल २० लिटर भन्दा बढी नस्ट गिरिएको छ । पटकपटक पकाइएको तेलमा साङ्ला र किरा मरेको पाइएको टोलीमा सहभागीले बताए ।

Advertisement

यसैगरी मानवअधिकार चोकको विनयकुमार महेन्द्रकुमार स्टोर्सबाट ३० किलो चनाको दाल नियन्त्रणमा लिएर नष्ट गरिएको छ । उक्त पसलमा मूल्य सूची नभएकाले राख्न टोलीले निर्देशन दिएको छ । चिप्लेढुंगाकै दोलखा नेवारी खाजाघरमा तयार पारेको खाद्य पदार्थमा रातो र पहेंलो रङ प्रयोग भएको खान योग्य रङ मा प्रयोग गर्न निर्देशन दिइएको छ ।

यसैगरी बगरको विन्ध्यवासिनी स्टोर्समा लेबल नलगाएका गेडागुडी, मसलाजन्य सामान बेचेको पाइएको उपभोक्ता मञ्च अध्यक्ष कोइरालाले बताए । सन्देश किराना स्र्टोस हरिचोकमा खाद्य पदार्थ(ढुंग्रा) बाहिर धुलोमा राखेको पाइएकाले १ बोरा नस्ट गरिएको छ । नारायण प्रोभिजनल सप रामबजारमा म्याद गुज्रेका कफी, मसला, कर्नफ्लेक्स लगायत सामग्री टोलीले नस्ट गरेको छ ।

यो दसैंका निर्देशनालयले कृषि, भेटेरिनरी, दूध र दुग्धजन्य पदार्थ गरी ४ वटा क्लस्टरमा अनुगमनका लागि टोली बनाइएको छ । सोमबारको अनुगमनमा उपभोक्ता मञ्च अध्यक्ष कपिलनाथ कोइराला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख प्रशान्त पोखरेल, नापतौल तथा गुणस्तरका रघुनाथ पौडेल, जिल्ला प्रशासन कार्यालयका अधिकृत लक्ष्मण बराल, इन्स्पेक्टर पोषण थापा, पोखरा महानगरपालिका दुर्गाराज गिरी र पत्रकार सहभागी रहेको निर्देशनलायका उपभोक्ता हित शाखा प्रमुख तथा भरतमणि बरालले बताए ।

तपाईको प्रतिक्रिया