यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराद्वारा राजीनामा

समाधान संवाददाता, काठमाडाैं
बलात्कारकाे आरोपमा मुछिएका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।
आइतबार साँझ संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरामाथि बलात्कार आरोप लगाएकी थिइन् ।
उनीमाथि चौतर्फी दबाब आएपछि उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका हुन् ।
संविधान र प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सभामुखले उपसभामुख समक्ष राजीनामा दिनुपर्ने हुन्छ ।
नियमावलीको दफा २११ मा सभामुखले उपसभामुख समक्ष लिखित राजीनामा दिनुपर्ने नियम छ ।
सोमबार साँझ उनको सचिवालयले भने घटनाबारे अस्वीकार गर्दै विज्ञप्ति निकालेको थियो ।
ती कर्मचारीले आइतबार राति महरा आफ्नो डेरामा आएर मादिरा सेवन गरेको र पछि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।
आइतबार साँझ सभामुख महराले ती कर्मचारीलाई फोन गरेर आफू उनीकहाँ आउन लागेको बताएका थिए । महराले मदिरा सेवन गरी राती ८ बजे उनीकहाँ पुगेका थिए ।
महराले आफ्नो कोठामा आएर पनि मादिरा सेवन गरेको र आफूलाई जबर्जस्ती करणी गरेको महिलाले बताएकी छन् । उनले आफूमाथि हातपात गरेको आरोप पनि लगाएकी छन् ।
आफू बलात्कृत भएपछि उनले तुरुन्तै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले राति नै आएर आफूसँग कुरा गरेको उनले बताएकी छन् ।
आफूमाथि जबर्जस्ती करणी भएको कुरा ती महिला कर्मचारीले नेकपाका महिला नेतृहरु ओनसरी घर्ती र पम्फा भुसाललाई म्यासेज गरेर जानकारी गराएको बताएकी छन् । आफ्ना पति पनि नेकपामै रहेकाले महरा पहिले पनि आफ्नो कोठामा आएको उनको भनाइ छ ।
ती महिला कर्मचारीका अनुसार सोमबार बिहान आफूलाई ‘फरगेट एस्टरडे’ भन्ने म्यासेज पठाएर आइतबारको घटना बिर्सन र अघि नबढाउन भनेका थिए ।
प्रहरी उच्च स्रोतले पनि राति नै तीनकुने प्रहरी वृत्तबाट खटिएको प्रहरी उनको डेरामा पुगेको र घटना विवरण लिएको पुष्टि गरेको छ।
‘ती महिला कर्मचारीले आफूमाथि सभामुख महराले बलात्कार गरेको बताइन् । प्रहरीलाई आफ्नो कोठा देखाइन्,’ प्रहरी स्रोतले भन्यो, ‘त्यहाँ रक्सीको एउटा बोत्तल, गिलास र कपडाहरु लथालिंग अवस्थामा थिए । ती महिलाले आफूमाथि कुटपिट भएको भन्दै शरीरमा चोट तथा निलडामसमेत देखाएकी थिइन् ।’
तपाईको प्रतिक्रिया