बलात्कार आरोपले पदच्यूतः महराको राजनीतिक ‘अवसान’

समाधान संवाददाता २०७६ असोज १५ गते ११:४८

समाधान संवाददाता, पोखरा

यौन दुव्र्यवहारको आरोप लागेपछि संघीय संसदको प्रतिनिधि सभामा सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । संसद सचिवालयकै महिला कर्मचारीले महरामाथि बलात्कार आरोप लगाएकी छन् । आइतबार राति आफूमाथि बलात्कार भएको भनेकी ती महिलाले मंगलबारसम्म महराविरुद्ध भने प्रहरीमा जाहेरी दिइनन् ।

महिलाले फोन गर्ने बित्तिकै प्रहरी टोली उनको कोठामा पुगेको महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले बताएका छन् । ‘हामीले लिखित उजुरी दिनुहोस् भन्दा भोलि आउँछु भन्नुभयो। अहिलेसम्म उजुरी दिनुभएको छैन,’ एसएसपी सुवेदीले भने । सुवेदीले लिखित जाहेरी पर्नासाथ अनुसन्धानका लागि प्रक्रिया सुरु गर्ने बताएका छन् ।

Advertisement

सत्तारुढ दल नेकपाले नै महरालाई राजीनामा दिन सुझाव दिएको थियो । घटनाबारे नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान छलफल भएको थियो । त्यसपछि बसेको पार्टी सचिवालय बैठकले महरालाई राजीनामा दिएर छानबिनको बाटो खुला गरिदिन निर्देशन गरेको थियो ।

मदिरा सेवन गरेर सभामुख महराले आफूमाथि बलात्कार गरेको महिलाको आरोप छ । तर महराले पनि सोमबार राति विज्ञप्ति निकालेर आफूमाथि लागेको आरोप पूर्ण रुपमा कपोलकल्पित र झुट रहेको दाबी गरेका थिए ।

Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख महराले पदबाट राजीनामा दिएको हो कार्यवाहक भन्ने प्रश्न गरेको छ । बलात्कारको आरोप लागेपछि सभामुख महराले मंगलबार पदबाट राजीनामा दिएका छन् । तर, उनले दिएको राजीनामा ‘पत्रमा नैतिकताका आधारमा आजैकै मितिदेखि छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’ भन्ने उल्लेख छ ।

६ पटक मन्त्री भइसकेका महरा २०४८ सालमा रोल्पाबाट प्रतिनिधिसभामा निर्वाचित थिए । माओवादी नाममा भूमिगत हुनुअघि संयुक्त जनमोर्चाले चुनावमा भाग लिँदा उक्त पार्टीले ९ सिट जितेको थियो । २०६२÷६३ को आन्दोलनपछि पुनःस्थापित संसदमा माओवादीबाट ८३ जना सांसद हुँदा त्यसको नेतृत्व गर्ने महरा नै थिए । त्यसपछि २०६४ र २०७० सालमा उनी रोल्पाबाट संविधान सभामा निर्वाचित भए । २०७४ मा भने दाङ उनको निर्वाचन क्षेत्र रह्यो ।

२०६३ चैतमा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा महरा सूचना तथा सञ्चार मन्त्री बनेका थिए । त्यसपछि २०६५ सालमा बनेको प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी सूचना तथा सञ्चार मन्त्री बने ।

शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेलामा उपप्रधान तथा परराष्ट्रमन्त्री, झलनाथ खनाल प्रधानमन्त्री भएका बेलामा उपप्रधान तथा गृहमन्त्री र पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेलामा उपप्रधान तथा अर्थमन्त्री भएका थिए ।

सभामुखबाट राजीनामा गर्ने महराको लिखित पत्रले उनको सभामुख पद गएको छ । तर, सोही पत्रका आधारमा मात्र उनको सांसद पद भने जाँदैन । तर बलात्कार आरोपकै कारण सभामुखबाट राजीनामा गर्नुपरेपछि महराको राजनीतिक जीवनको अवसान भएको टिप्पणी गरिएको छ ।

पार्टीले उनलाई सभामुख र सांसद पदबाट राजीनामा गर्न भनेकाले पार्टीको नजरमा अब महरा सांसद नरहेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । ‘पार्टीले सभामुख र सांसदबाट पनि राजीनामा गर्न भनेपछि पार्टीको नजरमा उहाँ सांसद पनि रहनुहुन्न,’ उपनेता नेम्वाङले भने । तर, कानुनको दृष्टिमा भने महरा आफैँले सांसद पदबाट समेत राजीनामा नदिँदासम्म सांसदको हैसियतमा भने रहनेछन् ।

तपाईको प्रतिक्रिया