नेपाल चीनबीच ९ बुँदे सहमति

समाधान संवाददाता २०७६ असोज १५ गते १२:०८

चीनको स्वशासित क्षेत्रको ढुङ्वा जिल्लामा भएको नेपाल र चीन पक्षका प्रशासन अधिकारी । तस्बिर सौजन्यः वेदप्रसाद अर्याल प्रजिअ ।

एसके थकाली
जोमसोम

उत्तरी सीमावर्ती क्षेत्र कोरला नाकासँग जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको झोङ्वा, सिगात्से र सागाका स्थानीय प्रशासन र मुस्ताङ प्रशासनबीच तिब्बतको ढुङ्वा जिल्लामा शुक्रबार नेपाल चीन मैत्रीवार्ता भएको छ । २ देशका प्रशासनिक समकक्षी अधिकारीबीच भएको वार्ताले ९ बुँदे सहमति गरेको हो ।

Advertisement

चीनको ढुङ्वा जिल्लामा भएको नेपाल र चीनको मैत्री वार्ताले यसअघि भएका वार्ता र छलफलको समीक्षा ग¥यो । सहमति पत्रमा नेपालले १ चीन नीति र बेल्ट एन्ड रोड इनिसियटिभप्रति पूर्णप्रतिबद्धता जनाएको छ । नेपाल र मुस्ताङी समुदाय यसप्रति सचेत रहने सहमति भएकोे हो । दुवै देशका अधिकारीले सीमा सुरक्षालाई गतिशील पार्ने र यसका लागि सीमा कानुन लागु गर्ने र संयुक्त कार्य स्थापना गर्न केन्द्र सरकार समक्ष पहल गर्ने जनाएका छन् ।

दुवै देशले सीमा नाका आसपास अवाञ्छित गतिविधि रोक्न र सीमा नाका चुस्त राख्न सूचना आदानप्रदान लगायतका संयन्त्र निर्माण गर्न माथिल्लो निकायमा लेखी पठाउने सहमति गरेका हुन् । हातहतियार, खरखजाना र अमेरिकी डलरको अवैध कारोबार र सीमा क्षेत्रबाट हुने मानव तस्करी नियन्त्रण गर्न दुवै पक्षबाट एकआपसमा समन्वयात्मक रुपमा अघि बढ्ने निर्णय गरेका छन् ।

Advertisement

सीमावर्ती क्षेत्रमा नेपाल र चीन पक्षबीच बर्सेनि २ पटक हुँदै आएको नियमित व्यापार मेला यसपटक हुन नसकेको र नेपाल पक्षको सीमा क्षेत्रका बासिन्दाको मागलाई ध्यानमा राख्दै असोज २४ गते व्यापार मेला सञ्चालन गर्ने र भावी दिनमा साविक अनुसार व्यापार मेला सञ्चालन गर्ने सहमति भएको छ । व्यापार मेलामा चिनिया पक्षले सामानको गुणस्तर वृद्धि गर्न सहमति जनाएको छ । दुवै देशका प्रशासन र सुरक्षा अधिकारीले सीमा स्तम्भको संयुक्त रुपमा अनुगमन र संरक्षण गर्न कटिबद्ध रहने बताइएको छ ।

नेपालका पशु चौपायाको भ्याक्सिनेसन हुने भएकाले यसबाट उत्पादित स्थानीय पस्मिनाको चीनतर्फ सहज निकासी गर्न चिनिया पक्षले पहल गर्ने जनाएको छ । सीमा कानुन लागु गर्ने र संयुक्त कार्य स्थापनाका लागि नेपाल पक्षलाई पेस भएको ९ बुँदे पत्रको निकासका लागि दुवै देशले माथिल्लो निकायमा पहल गर्ने जनाइएको छ । दुवै पक्षले यस प्रकारको बैठकलाई निरन्तरता दिने र आगामी बैठक जोमसोममा आयोजना गर्ने सहमति गरेका छन् ।

चिनिया भूमिको ढुङ्वा जिल्लामा भएको नेपाल चीन वार्तामा मुस्ताङ प्रशासनतर्फ प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की, सशस्त्र प्रहरी नायव उपरीक्षक निर्मल कार्की, अनुसन्धान प्रमुख ओमबहादुर खड्का, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुर्वणकुमार विष्ट, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट, २ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य कार्यालयका कर्मचारी उपस्थित थिए ।

चीनको तिब्बत झुङ्बातर्फका प्रतिनिधिमा सिगात्से सीमा प्रशासन प्रमुख गेरी, झोङ्वा सीमा प्रशासन प्रमुख नीमा, सागा प्रशासन प्रमुख वाइन्वा जिल्ब , सिगात्से सीमा प्रशासन शाखा प्रमुख बाईन्वा छिरिङ र सिगात्से सीमा प्रशासन अन्तर्गत लाराङ प्रहरी चौकीका प्रमुख लु यर्साङ छन् ।

यस पटक भएको नेपाल–चिन पाँचौ तहको वार्तामा यसअघि जोमसोममा भएको कोरला नाका खुलाउन उपल्लो निकायमा पहल गर्ने सहमति छलफलमा उठेन । यस्तै नेपाली सीमा क्षेत्रमा तिब्बतीको खुला चरन क्षेत्र रहने गरेको भए पनि ५ आंै बैठकमा जस्तो नेपाल पक्षका चौपाया पनि चिनिया चरिचरन उपयोेग गर्न पाउने सहमति छलफलमा उठेन ।

यसपटक दुवै देशले सीमा क्षेत्रबाट अवैध गतिविधि नियन्त्रणमा जोड दिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । उनले चिनिया पक्षले सीमा क्षेत्रमा पूर्वाधार निर्माण गरेको र नेपाल पक्षले पनि सडक स्तरवृद्धि गर्दै गरेकाले नाका सञ्चालन तथा पहल गर्ने विषयमा छलफल नभएको जनाए । प्रमुख जिल्ला अधिकारी अर्यालले बैठकमा ठोस निर्णय नभए पनि २ देशबीचको वार्ता र संवादले आपसी सम्बन्ध सुधारमा योगदान पुग्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया