आजदेखि ३२जिल्लामा नेपाल टेलिकमकाे फाेरजी सेवा विस्तार, डाटामा शतप्रतिशत वोनस दिने

समाधान संवाददाता २०७६ असोज १५ गते १५:१८

समाधान संवाददाता, काठमाडाैं

काठमाडौं र पोखरामा मात्र फोरजी सेवा दिंदै आएको नेपाल टेलिकमले आजदेखि सातै प्रदेशका प्रमुख सहरमा सेवा विस्तार गर्न लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्ने यो सेवा एड्भान्स प्रविधिमा आधारित भएको टेलिकमले जानकारी दिएको छ ।

Advertisement

सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख सहरमा विस्तार गरिएको टेलिकमले जानकारी दिएको छ । उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने र मुलुकभर नै फोरजी सेवा उपलब्ध भएपछि उच्च गतिको मोबाइल ब्रोडव्याण्डमार्फत, श्रव्यदृश्य तथा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवाहरु र मनोरञ्जन लगायत विविध सेवा प्रवाहमा वृहत् सुधार हुने कम्पनीको विश्वास छ ।

फोरजी/एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

Advertisement

कम्पनीले सम्झौताको एक वर्षभित्रै देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ कार्य अघि बढाइरहेको बताएको छ।

कम्पनीले सातै प्रदेशमा फोरजी/एलटीई सेवाको सुरु गरेको अवसरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकहरुका लागि इन्टरनेट प्याकेजमा अफर पनि ल्याएको छ। यसअघि नै मोबाइलका उपभोक्ताहरुलाई प्रदान गरिएका केही अल टाइम डाटा अफरमा शत प्रतिशत डाटा भोल्युम थप गरी साविकको मूल्यमै दिइने कम्पनीले बताएको छ। 

यसअघि २५ रुपैयाँमा २ सय एमबी डाटा प्रदान गरिरहेकोमा फोरजी एलटीई सेवाका ग्राहकहरुलाई सोही दरमा २०० एमबी थप गरी जम्मा ४०० एमबी डाटा पाउने छन्।

त्यस्तै १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजी एलटीइका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनस पाउने छन्। २८ दिनसम्म प्रयोगमा गर्न सकिने २ सय ४० रुपैयाँमा १.५ जिबी डाटा प्याकेज फोरजी एलटीई मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ । यो अफर अर्को सूचना जारी नभएसम्मका लागि जारी रहने कम्पनीले जानकारी दिएको छ।

कसरी एक्टिभेट गर्ने फाेरजी ?

हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहक *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन् ।

ग्राहकले *444# डायल गर्दा आफ्नो सिम फोरजी सेवाका लागि परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । यो नम्बरमा रिक्वेष्ट गर्दा फोरजी सेवा एक्टिभ नहुने अवस्थाको सिम भए नयाँ लिन अनुरोधसहित नोटिफिकेशसन आउनेछ ।

र, ग्राहकले नजिकैको टेलिकमको ग्राहक सोव केन्द्रमा गएर सिम परिवर्तन गर्न सक्नेछन् । यस्तो सिम लिँदा ग्राहकले एक रुपैयाँ पनि पैसा तिर्न पर्ने छैन ।

पहिलोपटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधिसहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ ।

तपाईको प्रतिक्रिया