आफू डिप्रेसनकाे बिरामी र महरा निर्दाष भएकाे भन्दै राेशनीले दिइन् लिखित निवेदन

समाधान संवाददाता २०७६ असोज १६ गते १२:३२

रासस, काठमाडाैं

सभामुख पदबाट राजिनामा दिएका कृष्णबहादुर महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी रोशनी शाहीले प्रहरीमा लिखित निवेदन दिँदै आफूलाई महराले केही नगरेको बताएकी छन्। 

संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले बुधवार आफूमाथि कुनै दुर्व्यवहार नभएको प्रहरीलाई जानकारी गराइएकी हुन्।

Advertisement

तिनकुनेस्थित महानगरीय प्रहरीवृत्त बानेश्वरमा बुधबार साँझ आफैँ उपस्थित भएर आफू ‘डिप्रेसन’को बिरामी भएको र महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको जानकारी उनले गराइएकी हुन् ।

उनले दिएको लिखित निवेदनमा भनिएको छ, ‘म पहिलेदेखि नै डिप्रेसनको बिरामी हुँ, मिडियामा कसरी समाचार आए, मलाई थाहा छैन। सञ्चारमाध्यममा आएको जस्तो कुनै पनि घटना भएको होइन।’

Advertisement

ती कर्मचारीले महरासँग जोडिएर आएका समाचारमा कुनै सत्यता नरहेको र त्यस्तो कुनै पनि घटना नभएको लिखित जानकारी गराएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।

यसअघि उनले मिडियामा बोल्दै आइतबार साँझ महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। त्यसपछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए। नेपाल कम्युनिष्ट पार्टी नेकपाले उनलाई संसद र सभामुख दुवै पदबाट राजिनामा दिन भनेको थियो। अहिलेसम्म महराले सांसदपदबाट भने राजिनामा दिएका छैनन्।

तपाईको प्रतिक्रिया