गण्डकीका टोल टोलमा स्वास्थ्य इकाइः होम डेलिभरी’ शून्य बनाउने लक्ष्य

समाधान संवाददाता २०७६ असोज १६ गते १२:५७

गण्डकी गाउँपालिकाको वडा नम्बर ६ मा सामुदायिक स्वास्थ्य इकाइ उद्घाटन कार्यक्रममा अध्यक्ष होमबहादुर राना लगायत । तस्बिरः समाधान

मोहसिन अलि मियाँ
गोरखा

स्वास्थ्य सेवाको पहुँच बढाउन गण्डकी गाउँपालिकाले टोल टोलमा स्वास्थ्य इकाइ सञ्चालनमा ल्याएको छ । साविक गाविसमा रहेका ६ वटा स्वास्थ्य चौकीबाट वृद्धि गरी गाउँपालिकाले हाल थप १४ वटा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन गरेको हो ।

Advertisement

अधिकांश चेपाङ बस्ती रहेको गण्डकी गाउँपालिकाका स्थानीयलाई निशुल्क र सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन प्रत्येक वडाका गाउँगाउँमा इकाइ स्थापना गरिएको अध्यक्ष होमबहादुर रानाले बताए । ‘जनतालाई सहज रुपमा घरै नजिक सेवा दिन चाहन्छाैं’ उनले भने, ‘म निर्वाचित भएर आएपछि १४ वटा इकाइबाट सेवा सुचारु गरिसकेँ ।’

गाउँपालिका कै पहलमा अघिल्लो वर्ष १० र यस वर्ष ४ गरी १४ वटा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको हो । यससँगै गण्डकी गाउँपालिकामा हाल २० वटा स्वास्थ्य युनिटबाट सेवा प्रवाह भइरहेको छ । थप गरिएका इकाइबाट समेत स्वास्थ्य चौकी सरह सेवा पाइने गाउँपालिकाले जनाएको छ । ‘स्वास्थ्य चौकीमा जे जे सुविधा पाइने भनेर सरकारले भनेको छ, ती सबै सेवा इकाइबाट पनि निशुल्क दिने व्यवस्थापन मिलाएका छौं’ गाउँपालिका अध्यक्ष रानाले भने, ‘विकट भएकाले पनि टाढा धाउनुपर्ने बाध्यताका कारण मान्छे हेल्थपोस्ट जाँदैनथे, अहिले टोल टोलबाटै सेवा दिन थालेपछि जाँचेर औषधी खानुपर्छ भन्ने चेतनासमेत विकास भएको हामीले पाएका छाैं ।’

Advertisement

जनतालाई पायक पर्ने र भूगोलका हिसाबमा ठूलो बस्ती भएको स्थान छनोट गरी इकाइ सञ्चालनमा ल्याइएको हो । हाल गाउँमा भएका सामुदायिक भवनबाटै इकाइ राखेर सेवा सुरु गरिएको र केही भवन नभएको ठाउँमा घर भाडामा लिएर समेत सेवा सुचारु गरिएको छ । ‘धेरैजसोमा गाउँमै रहेका सामुदायिक भवन, महिला भवनमा इकाइ राखेका छांै, १÷२ वटा चाहिँ भाडामा छन्’ रानाले भने, ‘त्यसलाई पनि चाँडै सरकारी भवनमा सार्ने तयारीमा छाैं ।’ इकाइमा गाउँपालिकाले चिकित्सकसहित निशुल्क औषधी, चेकजाँच, सल्लाह सुझाव लगायतका सेवाको प्रबन्ध मिलाएको छ । साविकका ६ वटाबाहेक अन्य १४ वटामा १ जना चौंथो तहको कर्मचारी राखिएको गाउँपालिकाको भनाइ छ ।

८ वटा वडा रहेको गण्डकी गाउँपालिकाको वडा नम्बर १ मा २ वटा, २ मा ३ वटा, ३ मा १ वटा स्वास्थ्य इकाइ गरिएको छ । यस्तै ४ मा १, ५ मा १, ६ मा २, ७ मा २ र ८ मा २ वटा इकाइबाट सेवा सुचारु भएको बताइएको छ । यसअघि वडा नम्बर ४ र ७ मा एउटा पनि स्वास्थ्य चौकी वा इकाइ नभएकाले स्थानीय छिमेकी वडामा जान बाध्य थिए ।

‘होम डेलिभरी’ शून्य’
त्यस्तै गण्डकी गाउँपालिकाले ‘होम डेलिभरी’ को संख्या शून्य बनाउने अभियानसमेत सञ्चालन गरेको छ । सुरक्षित रुपमा सुत्केरी गराउन गाउँपालिकाले स्वास्थ्य चौकीमा प्रबन्ध मिलाएको हो । गत वर्षदेखि नै गाउँपालिकाले स्वास्थ्य चौकीमा सुत्केरी गराउने महिलालाई यातायात र पोषिलो खानाका लागि ७ हजार रुपैयाँ भत्ताको व्यवस्था गरेकोे छ । ‘घरमा सुत्केरी गराउँदा जोखिम धेरै भयो’, गापा अध्यक्ष रानाले भने, ‘होम डेलभरीलाई जिरो बनाउने लक्ष्य हो, अहिले हामीले हेल्थपोस्टमा डेलिभरी गराउनेलाई ७ हजार भत्ताको व्यवस्था गरेका छौं ।’

तपाईको प्रतिक्रिया