रेमिट्यान्सबाट ७ सय सरकार कसरी धान्नेः चित्र बहादुर केसी

समाधान संवाददाता २०७६ असोज १६ गते १३:०८

समाधान संवाददाता
पोखरा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता देशले धान्नै नसक्ने दाबी गरेका छन् । १ नेपाल चलाउन नसकेका बेला ७ वटा नेपाल चलाउनु महाभारत भएको उनको भनाइ छ । केसीले रेमिट्यान्सले ७ सय ६१ सरकार चलाउनु पर्दा नेपालमा उद्योग कलकारखाना खोल्न नसकिएको जिकिर गरे ।

नेपालमा गणतन्त्र असफल भए सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दोष लाग्ने बताएका छन् । अध्यक्ष केसीले करवृद्धि, महंगी र भ्रष्टाचारले गणतन्त्र संकटमा परेको दाबी गरे । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा र संघीयता खारेजीको माग राख्दै राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशले बुधबार आयोजना गरेको विरोध सभामा अध्यक्ष केसीले नेपाली जनताले ठूलो संघर्ष गरेर नेपालमा गणतन्त्र ल्याएको बताए । ‘अहिलेको सरकार गणतन्त्र र धर्म निरपेक्षतालाई सिध्याउने पक्षमा छैन,’ अध्यक्ष केसीले भने, ‘गणतन्त्र असफल भए त्यसको भागिदार सत्तारुढ नेकपा हुनेछ ।’

Advertisement

उनले दुई तिहाईको सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाए । साना साना भ्रष्टाचारीलाई कारबाही गरे पनि ठूला भ्रष्टाचारीलाई सरकारले कारवाही गर्न नसकेको उनको जिकिर छ । केसीले नेकपालाई भ्रष्टाचार नियन्त्रणका लागि आफ्नैं पार्टीबाट सुरुवात गर्न सुझाव दिए । विगतमा भएको भ्रष्टाचारका काण्डमा प्रतिपक्षी नेपाली कांग्रेस पनि फसेको दावी गर्दै अध्यक्ष केसीले भ्रष्टाचारमा प्रतिपक्षी कांग्रेसको पनि मिलीभगत भएको बताए ।

राष्ट्रिय जनमोर्चाले वर्तमान सरकारको नै समर्थन गरेको जानकारी दिदै अध्यक्ष केसीले देश टुक्राउने मधेस केन्द्रीत दल र नाकाबन्दीमा चूँ पनि बोल्न नसक्ने कांग्रेसको पक्षमा आफ्नो पार्टी कहिल्यै नभएको उनको भनाइ छ । उनले राष्ट्रियताको रक्षा, जनताको जीविका, मंहगी नियन्त्रण र समाजवादसम्म जानका लागि नेकपासँग सहकार्य गरेको जनाए । गणतन्त्रमा संघीयता लादिएको आरोप लगाउँदै अध्यक्ष केसीले नेपालीको आवश्यकताभन्दा पनि संघीयता आयातीत विषय भएको दावी गरे ।

Advertisement

राष्ट्रिय जनमोर्चाका नेता कृष्ण अधिकारीले सरकारका मन्त्रीको आचरण र कार्यशैलीमा सुधार नभए गणतन्त्र खतरामा पर्ने संकेत गरे । जनताको गणतान्त्रिक व्यवस्थामा संघीयता महंगो सावित हुने उल्लेख गर्दै नेता अधिकारीले सरकारले जनताको अपेक्षा अनुसार काम नगरेको आरोप लगाए ।

सभामा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, सचिव पुष्पलाल श्रेष्ठ, कास्की अध्यक्ष रविमोहन ढकाल, नवलपुर अध्यक्ष दीपक पाण्डे लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया