महराले सबैको शिर निहुर्‍याई दिएः सुरेन्द्रराज पाण्डे

समाधान संवाददाता २०७६ असोज १६ गते १३:२०

मोहसिन अली मियाँ
गोरखा

सभामुख कृष्णबहादुर महराको हर्कतका कारण सारा नेपालीको शिर निहुरिएको राष्ट्रिय सभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति तथा गोरखा नगर समितिले दसैंको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पाण्डेलसभामुख महराले नेपाल र नेपालीको बेइज्जत गरेको बताएका हुन् । ‘मलाई त भन्न पनि लाज लाग्छ । आज देश विदेशमा रहेका सारा नेपालीको शिर निहुरिएको छ’, उनले भने, ‘महराजी नेकपाको मात्रै सभामुख होइन । हामी सबैको साझा व्यक्ति हो । उनले घटनाको सत्यतथ्य छानबिन गर्नसमेत सरकार माग गरेका छन् ।

पाण्डेले नेकपाका कार्यकर्ताको अहमताका कारण देशमा असहज परिस्थिति पैदा भएको टिप्पणी गरेका छन् । नेकपाका कार्यकर्ताबाट बाँके, तनहुँ लगायतमा कांग्रेस नेता तथा कार्यकर्तामाथि भएको हमलातर्फ संकेत गर्दै उनले अरु दलको अस्तित्व स्वीकार नगर्ने मनस्थिति हटाउन आग्रह गरे । ‘पछिल्लो समय हाम्रा नेता कार्यकर्तामाथि नेकपाका कार्यकर्ताबाट आक्रमण हुने क्रम बढेको छ । यो गम्भीर बिषय हो’, पाण्डेले भने, ‘अहिलेसम्म हामी आत्तिएका, उत्तेजित भएका छैनौं । यस्तो क्रम अब पनि रोकिएन भने कांग्रेस सहेर चूप बस्न सक्दैन ।’

Advertisement

कांग्रेसले सहमति र सहकार्यको सिद्धान्तलाई अघि बढाउन चाहे पनि सरकारी पक्षबाट त्यसको उल्लंघन हुँदै आएको उनको दाबी छ । २०७२ सालमा सबैको सहमतिमा संविधान जारी गरे पनि अहिले बिभिन्न विधेयक र नीतिका नाममा सरकारले जनताको अधिकार खोस्दै गएको उनको भनाइ छ । ‘संविधान सबैको साझा दस्तावेज थियो, आज बहुमतको आडमा मनोमानी ढंगबाट संसदमा विभिन्न विधेयक र कानुन दर्ता गर्ने जस्तो गलत बाटो अपनाइएको छ’, उनले भने, ‘यो राम्रो भएको छैन । सरकार साच्चै अधिनायकवादतर्फ बढेकै हो त ?’

नेपाली कांग्रेस जिल्ला सभापति हरिबहादुर घलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका गोरखा नगर सभापति चन्दनबाबु खत्री, नेकपाका यादव बस्नेत, समाजवादी पार्टीका जिल्ला सचिव विपिनचन्द्र ढकाल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया