लामाचौरमा किसान बजार सञ्चालनमा

समाधान संवाददाता २०७६ असोज १६ गते १३:२३

पोखरा १६ र १९ को सिमाना ठूलीपोखरीमा स्थापना गरिएको किसान बजार उद्घाटन गर्दै पोखराका मेयर मानबहादुर जिसी ।

समाधान संवाददाता
पोखरा

पोखरा महानगरको सहयोगमा पोखरा १६ लामाचौरस्थित ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएको छ । किसानले उत्पादन गरेका वस्तु सिधै उपभोक्ताले खरिद गर्न सक्ने गरी किसान बजार सञ्चालनमा ल्याइएको हो । पोखरा १६ र १९ को सिमानामा पर्ने ठूलीपोखरीस्थित गौरबारीमा स्थापना गरिएको किसान बजारको बुधबार पोखराका मेयर मानबहादुर जिसीले उद्घाटन गरे ।

Advertisement

उद्घाटन कार्यक्रममा मेयर जिसीले किसान बजारले किसानलाई हौसला प्रदान गर्दै बिचौलियालाई निरुत्साहित गर्ने बताए । उनले किसान बजार किसानले उत्पादन गरेका वस्तु संकलन गर्ने र वितरण गर्ने थलो भएको बताए । उनले किसानले उत्पादन गरेका वस्तुलाई सिधै उपभोक्तामा पुर्‍याउन किसान बजारले सहयोग गर्ने र बिचौलिया निरुत्साहित हुने बताए । उनले बजारमा किसान र उपभोक्ताले उपयुक्त वस्तु पाउने विश्वास व्यक्त गरे । यसले विशेष गरी पोखरा १६ र १९ मा व्यावसायिक रुपमा उत्पादित कृषिका वस्तुले सजिलै बजार पाउने उनको भनाइ थियो ।

पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले किसार बजार स्थापना भएपछि किसानले सहज रुपमा आफ्नो उत्पादनलाई बिक्री गर्न सक्ने वातावरण बनेको बताए । पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्यले वडा नम्बर १६ र १९ का किसानलाई लक्षित गरी किसान बजार स्थापना गरिएको बताए । पोखरा महानगरपालिका कृषि तथा पशु सेवा महाशाखाका प्रमुख मनहर कडरियाले किसान बजार निर्माणका लागि महानगरपालिकाले करिब १० लाख लगानी गरेको बताए । कार्यक्रममा किसान दुर्गा बस्नेत र जीतबहादुर बस्नेतले किसान बजार स्थापनापछि वस्तु बिक्री गर्न सहज हुने र उचित मूल्य पाउने आशा व्यक्त गरे ।

Advertisement

पोखरा १६ र १९ को कृषि सञ्जालका अध्यक्ष मेहरमान थापाको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका सदस्य कृष्ण गौतम र सञ्जालका सचिव सुवास अधिकारीले पनि किसान बजारको बारेमा बोलेका थिए । कार्यक्रममा कृषि भजन समेत प्रस्तुत गरिएको थियो । महानगरपालिकाको सहयोगमा बिरौटामा कृषि बजार सञ्चालनमा आइसकेको छ भने अन्य ५ ठाउँमा पनि कृषि बजार निर्माण गर्ने योजना महानगरपालिकाले बनाएको छ ।

तपाईको प्रतिक्रिया