जनजातिले दसैं मनाउने कि नमनाउने ?

समाधान संवाददाता २०७६ असोज १६ गते १४:५६

सुमन थापा मगर

असत्यमाथि सत्यको जित, परिवारका सदस्यको हातबाट आशीर्वादसहित टीका थाप्ने चाड हो हाम्रालागि दसैं । यो चाडले वर्षौं विदेशिएका तथा रोजगारका लागि आफ्नो जन्म ठाउँभन्दा टाढा रहेकालाई समेत एक गराइदिन्छ । परिवारका सदस्य एकै ठाउँमा भेला भएर टीका लगाएर रमाइलो गर्छन् । यो त सबैलाई थाहा भएकै कुरा हो । हो, नेपालीको महान् पर्व भनेर चिनिने दसैंको रमझम नेपालीको घरआँगनमा भित्रिइसकेको छ । रौनक छाएको छ महान् पर्वको, चाहे त्यो गाउँ होस् या सहरमा । पोखरा, काठमाडौं लगायतका सहर रित्तिइसकेका छन्, दसैंका लागि धेरै मानिस गाउँतर्फ लागिसकेका छन् । यो क्रम अझै जारी छ । बजारमा हुनेलाई पनि किनमेल गर्ने हतारो छ । अहिले हिँड्न पनि सहज छैन सडक र बजारमा ।

जब दसैं आउँछ, दसैं कसरी मनाउने या फेरि मनाउँदै नमनाउने भन्ने विषयमा तर्कहरु आउँछन् । विशेष गरी केही आदिवासी जनजातिले दसैं हाम्रो होइन, मनाउनु हुँदैन भनिरहेका हुन्छन् । सामाजिक सञ्जालका कयौं भित्तामा दसैं चाड हाम्रो होइन, नमनाऔं जस्ता विषयवस्तु छरपस्ट भेट्न पाइन्छ । हामीले खासमा के बुझ्नु जरुरी छ भने दसैं कुनै एउटा जाति विशेषको मात्र पर्व होइन, यो त सबै नेपालीको हो । हामी आदिवासी जनजाति पनि नेपालीभित्र नै पर्छौं । त्यसैले पनि दसैं मनाउनु हुँदैन भनेर विरोध गर्नुको कुनै तुक छैन ।

Advertisement

केही दिन अगाडि फेसबुकको एउटा ग्रुपमा देखेको थिएँ, ‘यो ग्रुपमा दसैंको शुभकामना नदिनु होला, दसैं हामीले मनाउने पर्व होइन ।’ जब हामीले क्रिसमसको दिन मेरी क्रिसमस तथा इदको उपलक्ष्यमा पनि शुभकामना दिन्छौं भने दसैं त हाम्रो आफ्नै पर्व हो । मनाउने नमनाउने आफ्नै इच्छा हो भने शुभकामना त दिन सकिन्छ अवश्य पनि । यसमा कुनै समस्या हुनु हँदैन ।

म आफैं पनि आदिवासी जनजाति हुँ र यसमा गर्व पनि छ । मलाई आदिवासी जनजातिमा भएको आफ्नै भाषा, संस्कृति, चालचलन तथा रीतिरिवाजप्रति गर्व छ । तर यो भन्दैमा हामीले दसैंलाई मनाउनै हुँदैन भन्ने अवश्य पनि होइन । यसलाई म कपादि मान्दिनँ । दसैंको समयमा नै केही आदिवासी जनजातिले यो हाम्रो पर्व होइन भनिरहेका हुन्छन् । पर्वलाई यो हाम्रो, यो उसको मात्र भन्नुभन्दा सबै मिलेर मनाउनुपर्छ, रमाउनुपर्छ । अनि मात्र धार्मिक सहिष्णुता कायम हुन्छ । हामी आदिवासी जनजातिभन्दा पहिले नेपाली हौं ।

Advertisement

हाम्रो पहिचान नै नेपाली हो । जब हामी नेपाली रोजगार तथा अन्य कुनै काममा विदेश गइरहेका हुन्छौं, त्यो समयमा परिचय दिँदा पहिले हामी नेपाली भन्छौैं, जनजाति होइन । जब नेपाली हौं भन्छौं भने दसैं सबै नेपालीको चाड हो भने मनाउन किन हिच्किचाउनु ? दसैं हाम्रो होइन भन्नेले जब नेपाल नै रहन्न भने हामी जनजातिमात्र भनेर के हुन्छ होला भन्ने सोच्ने कि नसोच्ने ? जब हामी नेपालीभन्दा गर्वका साथ भन्छौं भने चाडपर्व पनि मनाउनुपर्छ, आ–आफ्नै प्रचलन अनुसार ।

हामी आदिवासी जनजातिमा केहीले रातो टीका नै प्रयोग गर्ने भए पनि धेरैले सेतो टीका नै दसैं लगायत अन्य उपलक्ष्यमा प्रयोग गर्छन् । सेतो टीका लगाएर नै किन नहोस्, दसैं हामी सबैले मनाउनुपर्छ । यो जात, त्यो जात, यो धर्म, त्यो धर्म भनेर बस्नुभन्दा धार्मिक सहिष्णुता कायम गर्नु राम्रो हो । यहाँ अनेकौं जातजाति छन् र उनीहरुका आफ्नै चालचलन पनि । सबै मिलेर सबैको चाडपर्व किन नमनाउने ?

दसैं कुनै जाति विशेष नेपालीको मात्र चाड होइन, यो त हामी सबैको पर्व हो । म आफैं पनि घरमा पहिले रातो टीका लगाउँथें परिवारका सदस्यको हातबाट । प्राय घरका ज्येष्ठ सदस्यले पहिले रातो टीका निधारमा लगाइदिन्थे हामीलाई । जब जनजातिको चलनमा रातो टीका लगाउने होइन भन्ने बुझ्न थालियो त्यसपछि सेतो टीका लगाउन थालियो । मलाई अझै पनि दसैं भनेपछि छुट्टै रमाइलो लाग्छ ।

अहिलेसम्म पनि दसैंको समयमा टीका लगाउन पाउँदा मनमा उमंग छाउँछ । यदि आदिवासी जनजातिले दसैं लगायतका अन्य पर्वको विरोध गर्छन् भने हामी नेपाली हौं भन्न छोड्नुपर्छ । नेपालको नै महत्व छैन भने आदिवासी जनजाति भएरमात्र केही उपलब्धि छ जस्तो मलाई लाग्दैन । हो, म आदिवासी जनजाति हुँ, यसमा कुनै शंका छैन । मलाई हाम्रो चलन तथा रीतिरिवाजमा गर्व लाग्छ । दसैं होस् या अन्य चाड, म सबै मनाउँछु खुसी र हर्षोल्लासका साथ । म दसैं मनाउँदिनँ र टीका पनि लगाउँदिनँ कहिल्यै पनि भन्दिनँ । किनकी जनजातिभन्दा पहिले म नेपाली हुँ । हरेक नेपालीले मनाउने चाडपर्व मनाउन मलाई मन पर्छ । यिनै चाडपर्वले त नेपालीलाई एक ठाउँमा बाँधेर राखेको छ ।

कतिपयले मलाई जनजाति भएर जनजातिकै विरोध गर्ने पनि भन्लान् । तर म कुनै पनि हालतमा आदिवासी जनजाति विरोधी होइन । मेरो भनाइ यतिमात्र हो कि हरेक चाडपर्व मनाउनुपर्छ, रमाउनुपर्छ । चाडपर्व मनाउने तरिका फरक होला । आफ्नै चलन अनुसार मनाएर सबैमाझ जातीय सद्भाव कायम गर्नुपर्छ । हामी नेपाली एकरुपताका लागि परिचित छौं । तर केही समययता भने जातीय द्वैष फैलाउने किसिमका विषय बढी नै उठान हुन थालेका छन् । हामी राष्ट्रिय भन्दा अन्य अनावश्यक मुद्दामा बढी ध्यान दिन थालेका छौं । आदिवासी जनजातिले पनि दसैं मनाउनुपर्छ ।

तपाईको प्रतिक्रिया