जाेमसाेममा अव्यवस्थित पार्किङ गरे कारवाही

समाधान संवाददाता २०७६ असोज २७ गते १३:४८

एसके थकाली
जोमसोम

मुस्ताङ सदरमुकाम जोमसोममा शनिबारदेखि सवारी पार्किङमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको निर्देशनमा पार्किङ व्यवस्थित गराउन जिल्ला ट्राफिक कार्यालयले काम थालेको हो ।

मुस्ताङको सौन्दर्य र बाटोलाई व्यवस्थित गर्न पार्किङ व्यवस्थित गर्न लागिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । जथाभावी पार्किङ गरिँदा बजारको सौन्दर्य खल्बलिएको र आउजाउमा समेत कठिनाइ भएको उनले बताए ।

Advertisement

हिउँद ३ महिनाबाहेक अन्य समयमा मुस्ताङमा पर्यटकको चहलपहल हुन्छ । पर्यटक चढेर आएका सवारी साधन होटल तथा सडक छेउछाउमा पार्किङ गर्ने गरिएको छ । मुस्ताङमा दिनहु ५० देखि २ सयसम्म सवारी आउजाउ गर्छन् । होटल अगाडि राखिएका सवारी र टिकट काउन्टर अगाडि रोकेर राखिएका सवारी साधनले एअरपोर्ट तथा जोमसोम बजार क्षेत्र अव्यवस्थित भएको ट्राफिक इन्चार्ज बद्रीनाथ शर्मा बताउँछन् । ‘जथाभावी पार्किङ गर्न रोक लगाएका छौं । अटेर गरे कारवाही गछौं,’ उनले भने, ‘१ काउन्टर १ सवारी राख्न र होटलमा खाना खाने समयबाहेक अरु बेला बजार क्षेत्रमा सवारी रोक्न पाईदैन ।’

जोमसोम बजार तथा पुथाङ एअरपोर्ट नजिक अव्यवस्थित पार्किङ बढेपछि स्थानीय प्रशासनले चासो दिएको हो । जोमसोम सदरमुकाम पर्ने घरपझोङ गाउँपालिकाले ६ महिनाअघि पार्किङ व्यवस्थित गर्ने निर्णय गरे पनि कार्यान्वयन भएको थिएन । गाउँपालिकाले बर्सेनि पार्किङ शुल्क उठाउने गर्छ । शुल्क उठाउने जिम्मा पाएका कर्मचारीले जहाँ पायो त्यही र मनोमानी तवरले शुल्क लिने गरेको सरोकारवालाको गुनासो छ । स्थानीय प्रशासनले पटक पटक पालिकालाई यसबारे जानकारी दिए पनि पालिकाले ध्यान नदिएको बताइन्छ ।

Advertisement

बजार क्षेत्रका साना फुटपाथे व्यवसायीलाई समेत अस्थायी पूर्वाधार निर्माण गरी व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । घरपझोङ ३ र ४ नम्बर वडाका २ स्थानमा पार्किङ पूर्वाधार बन्दै गरे पनि निर्माणमा ढिलासुस्ती भएको छ । एअरपोर्ट बजारदेखि ३ सय मिटर दक्षिणमा बसपार्क बनेको भए पनि व्यवसायीले अपायक भएको गुनासो गरेका छन् ।

पालिकाले बसपार्क निर्माण तथा त्यसलाई चाहिने विद्युत, खानेपानीm शौचालय लगायतका पूर्वाधार तयार गरे पनि बसपार्क प्रयोगमा आएको छैन । पालिकाले ४८ लाख खर्चिएर १ सय ९ मिटर लम्बाई र ५० मिटर चौडा बसपार्क बनाएको हो । बसपार्कमा करिब २ सय सवारी अट्न सक्छन् ।

घरपझोङ ४ मा निर्माणाधीन जोमसोम बसपार्क अलपत्र छ । त्यहाँ सहरी विकास तथा भवन निर्माण विभाग तथा डिभिजन कार्यालय बागलुङले बहुवर्षीय योजना अन्तर्गत ३ करोड ५० लाख बजेट विनियोजन गरेको थियो । यता, जिल्ला प्रशासन कार्यालय मुस्ताङले पालिकाले निर्माण गरेको बसपार्क नजिकै पर्यटक प्रहरी चेकपोस्ट र ट्राफिक प्रहरीका लागि पूर्वाधार निर्माण गर्न पालिकालाई सुझाएको छ । प्रशासनले पूर्वाधार बनेमा नवनिर्मित बसपार्क प्रयोगमा सघाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया