शुक्लागण्डकीका मुख्य चोक तथा विभिन्न क्षेत्रमा सिसीक्यामरा

समाधान संवाददाता २०७६ असोज २७ गते १३:५७

राजन उपाध्याय
दुलेगौंडा

गत जेठ २ गते शुक्लागण्डकी ५ भिमादचोकमा दमौलीबाट पोखरातर्फ आउँदै गरेको एक मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको अर्को मोटरसाईकलले ठक्कर दियो । ग ११ प ३४७७ नं. मोटरसाईकललाई ठक्कर दिने ग १२ प ४८८२ नं. का मोटरसाइकल चालक फरार भए । सिसी क्यामेराको सहयोगमा स्याउलीबजारबाट प्रहरीले चालक र मोटरसाइकललाई नियन्त्रणमा लियो ।

केही हप्ता पहिले दुलेगौंडाको १ पसलबाट करिव १ तोलाको मिनीहार चोरी भयो । सिसी क्यामेराकै सहयोगमा प्रहरीले चोरी गर्नेको पहिचान गर्‍यो । शुक्लागण्डकी नगरपालिका, वडा कार्यालयहरु र निजी क्षेत्रको सहकार्यमा नगरका विभिन्न क्षेत्रमा जडान गरिएको सिसी क्यामराले अपराधिक घट्ना र सवारी दुर्घटनाको अनुसन्धान सहज भएको छ । नगरका १९ स्थानमा क्यामेरा जडान गरिएको छ । सबैको निगरानी इलाका प्रहरी कार्यालय बेलचौतारामा रहेको मोनिटरबाट भइरहेको प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिए ।

Advertisement

वडा नं. ४ का अध्यक्ष शिवकुमार श्रेष्ठले चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेटले ३ स्थानमा क्यामेरा राखिएको जानकारी दिए । वडाले हाल १ लाख २५ हजार रुपैयाँ लगानी गरेको छ । नगरको मुख्य व्यवसायिक स्थल वडा नं. ४ दुलेगौंडा हो । श्रेष्ठले चोरी, डकैती, दुर्घटना हुदा पहिचान गर्न सजिलो हुने भएकाले वडाले सिसीटीभीलाई प्राथमिकता दिएको बताए । ‘दुर्घटनाको अनुसन्धान र कुलतमा फसेका व्यक्तिलाई निगरानी गरी पहिचान गर्न पनि यसले ठूलो सहयोग पुर्‍याउनेछ,’ उनले थपे, ‘आगामी वर्षमा आवश्यकता हेरेर थप गरिनेछ ।’

वडा नं. ८ मा ३ स्थानमा २ लाख रुपैयाको लगानीमा जडान गरिएको अध्यक्ष कृष्ण रेग्मीले बताए । ‘कार्यालय परिसरमा समेत हामीले क्यामेरा राखेका छौं,’ उनले भने, वडाको सुरक्षा र गतिविधिका लागि पनि प्रहरीले निगरानी गरिरहेको छ ।’ सूर्य नेपाल प्रालिले केही दिनअघि ३ स्थानमा क्यामरा राखेर सहयोग गरेको नगरपालिकाले जनाएको छ । नगर र वडाले जडान गरेको १६ स्थानका क्यामराका लागि करिब १६ लाख लगानी भएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक गिरीले नगर छिर्ने राजमार्गको म्याग्दे गाउँपालिका र कास्कीको सिमानालाई कार्यालयमा बसेर नियालिरहेको बताए । क्यामरा जडान भएपछि सवारी दुर्घटनासमेत न्यूनीकरण भएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया