दसैं यात्राः जोखिमसँगै तेब्बर भाडा

समाधान संवाददाता २०७६ असोज २८ गते १३:४२

मोहसिन अलि मियाँ
गोरखा

अहिले जिल्लाका अधिकांश सडकमा चल्ने यातायातका साधनमा दसैं मनाएर फर्किनेको भिडभाड छ । गोरखा घर भई विभिन्न जिल्लामा बसोबास गर्दै आएका सर्वसाधारणले दसैं सकिएसँगै आफ्नो गन्तव्यको यात्रा तय गरेपछि जिल्लाका अधिकांश छोटो तथा लामो दूरीका यातायातका साधन यात्रुले खचाखच भरिएका छन् । यात्रु बोक्न पाउने बस, ट्याक्सीमात्रै होइन, अहिले जिल्लाका अधिकांश ग्रामीण सडकमा ट्रक, ट्रिप्पर, ट्याक्टर र जिपमा समेत सर्वसाधारण सकस र जोखिमयुक्त यात्रा गर्न बाध्य छन् ।

त्यसो त यात्रामात्रै सकसपूर्ण छैन, भाडा पनि साविकको भन्दा ‘डबल’ तिर्नुपर्ने बाध्यता छ । जिल्लाभित्र सञ्चालनमा रहेका यातायातका साधनले यात्रुसँग मनोमानी भाडा लिने गरेको पाइएको हो । टिकट काउन्टरबाट टिकट नदिने र बस, माइक्रोले रिजर्भ भन्दै साबिकभन्दा तेब्बरसम्म भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ । ‘काउन्टरमा टिकट सबै बुक भइसक्यो भन्छन्, बसमा गए रिजर्भ हो जहाँ ओर्लिए पनि ५ सय लाग्छ भन्छन्,’ आरुघाटबाट सदरमुकाम आएका सुकमान गुरुङले भने, ‘२ सयको ठाउँमा ५ सय, त्यही पनि सिटमा बस्न पाइने होइन, खुट्टामात्रै टेक्न पनि मुश्किल ।’

Advertisement

बसले मात्रै होइन दसैं हो भन्दै ट्याक्सी, जिप, भ्यान, ट्रक लगायतले मनोमानी भाडा असुल्ने गरेको यात्रुहरुको गुनासो छ । ‘४ घन्टा बाटोमा बस कुरैँ, कुनैले रोकेनन्’ देउरालीका समीर श्रेष्ठले भने ‘बोलेरोको पछाडि झुन्डिएर ७ सय तिरेर आएँ ।’

यता सदरमुकामबाट जिल्ला बाहिर जाने सवारी साधनले पनि आफु खुसी भाडा लिने गरेको पाइएको छ । काउन्टरबाट आफ्ना चिने जानेका र आसेपासेलाई मात्रै टिकट दिने गरेको र अन्यलाई भने टिकट बुक भइसक्यो भन्दै फर्काउने गरेको यात्रुहरुको दुखेसो छ । ‘काउन्टरबाटै टिकट फुल भइसक्यो भनेर फर्काए,’ काठमाडाैं जान हटरमटारीमा बस कुरिरहेकी हिरा अधिकारी भन्छिन्, ‘पछिपछि बसवाला आएर रिजर्भ बस छ, जाने भए ७ सय लाग्छ भने ।’ जिल्लामा मनोमानी भाडाको समस्या यो नै पहिलो भने होइन । अघिल्ला वर्षमा समेत यातायात व्यवसायीले यात्रुलाई दसैंका नाममा ठग्दै आएका छन् ।

Advertisement

हाल यात्रुवाहक बस, माइक्रो, जिप लगायतले क्षमताभन्दा बढी यात्रु चढाएर जोखिमयुक्त यात्रासमेत गराइरहेको पाइएको छ । ‘३०÷३५ जना बोक्ने बसले ५०–५५ जनाभन्दा बढी मान्छे हालेको छ, कच्ची खाल्डाखुल्डी बाटो छ’ बुंकोटकी सिर्जना विकले भनिन्, ‘गाडी चढेदेखि नझरुञ्जेल साह्रै तनाब हुने, चढे पनि नहुने, नचढे पनि नहुने ।’ सकसपूर्ण यात्रासँगै झुण्डिएर यात्रा गर्नुपर्दा गन्तव्यसम्म पनि नपुगिने होकी भन्ने त्रास यात्रुमा छ ।

गुनासोपछि प्रहरीको छड्के जाँच
सार्वजनिक सवारी साधनको यात्रा सकसपूर्ण र मनोमानी भाडा असुलेको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालयले छड्के चेकजाँच गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासनको टोलीले आइतबारमात्रै ६ स्थानमा छड्के चेकजाँच गरेको थियो । ‘सिडियो साप र एसपी सापसहितको उपस्थितिमा हामीले हरमटारी, लक्ष्मी बजार, १२ किलो बजार, छेवेटार, मझुवा देउराली र आहाले बजारमा चेकजाँच गर्नुका साथै यात्रुसँग सोधपुछ गर्‍याैं,’ ट्राफिक प्रमुख सुकबहादुर विकले भने । चेकजाँचका क्रममा ३ वटा बोलेरो जिप र २ वटा बसले सिट क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराएको भन्दै कारबाही गरिएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया