व्यावसायिक उत्पादनमा लागौंः कोइराला

समाधान संवाददाता २०७६ असोज २८ गते १४:२१

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि फार्म निरीक्षण गरेका छन् । कोइरालाले आफ्नो प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत कास्कीको रूपा गाउँपालिका ३ पोल्याङमा सञ्चालित नमूना कृषि गाउँको अवलोकन गर्दै त्यहाँका गतिविधिबारे जानकारी दिए । उनले स्थानीयवासीलाई फार्ममा पूर्वाधार निर्माण भएकाले अब व्यावसायिक उत्पादनमा लाग्न आग्रह गरे ।

कृषकहरूले आफूहरूलाई प्राविधिकको समस्या भएको बताउँदै पूर्वाधारको काम पनि केही पूरा हुन बाँकी रहेको जानकारी दिए । सभापति कोइरालाले मन्त्रालयसँग समन्वय गरी केही दिनमा प्राविधिक पठाउने विश्वास व्यक्त गरे । गण्डकी प्रदेशका ३६ वटा गाउँलाई नमूना कृषि गाउँको रूपमा विकास गर्ने गरी २०७५ चैत १० गते गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको औपचारिक सुरुआत गरेको थियो ।

Advertisement

प्रदेशसभा सदस्यको सिफारिसमा ‘१ निर्वाचन क्षेत्र, १ नमूना कृषि गाउँ’का रूपमा विकास गर्ने गरी गण्डकी प्रदेशमा अहिले ३६ निर्वाचन क्षेत्रमा ३६ वटा वातावरणमैत्री कृषि फार्म सञ्चालन भएका छन् । रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले फार्म व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने बताउँदै अन्य ठाउँको भन्दा राम्रो गरी सञ्चालन गर्न आग्रह गरे ।

यहाँ २ समूहले बंगुरपालनसँगै प्लास्टिक घरभित्र गोलभेँडा खेती गर्दै आएका छन् । मन्त्रालयले सञ्चालित कार्यक्रमका साथै चालु आर्थिक वर्षमा प्रदेशसभाका थप ३६ निर्वाचन क्षेत्रमा सो कार्यक्रम सञ्चालन गर्ने गरी ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया