माया त माया हो…

समाधान संवाददाता २०७६ असोज २८ गते १५:२६

सुमन थापामगर

गुल्मीका आर्यनकुमार श्रेष्ठको परिवार फेन्सी व्यवसायमा संलग्न थियो । त्यही पसलबाट नै परिवारको गर्जोटथ्र्यो । परिवारको चाहाना अनुसार आर्यन पनि त्यही व्यवसायमा संलग्न भए । नजिकै थियो हाजेरा खातुनका बाबुआमाले चलाएको फेन्सी पसल । दुवै पसलको व्यापार राम्रो थियो । हाजेरा र आर्यन परिवारलाई सहयोग गर्थे पसलमा । थाहा थिएन दुवैलाई भविष्यमा कुनै दिन हामी एकअर्काको साहारा बन्छौं भनेर ।

पसलमा आउँदा जाँदा दुवैको कहिलेकाहीं एकअर्कामा नजर पथ्र्यो । खासै ध्यान भने दिँदैनथे दुवैले । समय बित्दै गयो । सधैं पसल आउँदा जाँदा देखभेट हुन थालेपछि उनीहरुले एकअर्कालाई कतिबेला मन पराउन थाले पत्तै पाएनन् । मन मिल्यो, तर एकअर्कालाई भन्ने पो कसरी ? यो प्रश्न भने दुवैको मनमा थियो नै । तर आखिर माया त माया नै हो । नभनिकन नै दुवैले दुवैको भावना बुझे ।

Advertisement

नेपाली समाजमा अझै पनि जातीय आधारमा भेदभाव हुन्छ । यो समस्याबाट हाजेरा र आर्यन पनि मुक्त हुन सकेनन् । आर्यन र हाजेरा त अन्तरजातीय मात्र होइन, अन्तर धार्मिक पनि । माया गाढा थियो, तर धर्म सबैभन्दा अगाडि आउँथ्यो । हाजेरा मुस्लिम र आर्यन हिन्दू धर्म मान्थे । सम्बन्ध बढ्दै गएपछि परिवारले थाहा पाए । अनि दुवैको लागि समस्या बनिदियो माया नै ।

उनीहरुको माया र सम्बन्धलाई न त श्रेष्ठ परिवार स्वीकार गर्‍यो, न खातुन परिवारले । दुबैलाई थाहा थियो दुवैको परिवारले उनीहरुको सम्बन्धलाई कुनै पनि हालतमा स्वीकार गर्दैन । धर्मको विषय मायाको बीचमा आएपछि केही समय उनीहरुमा एकअर्काबाट छुट्टिने सोच आए पनि आखिर मायाले नै जित्यो । र जीवन एकअर्काको साथमा बिताउने गरेर परिवारको असहमतिका बीच विवाह गरे ।

Advertisement

कहिलेकाहीं यो जोडीलाई घरपरिवारको स्वीकृति बिना विवाह गरेकोमा पछुतो पनि लाग्थ्यो । तर पनि मायाले जात, धर्म केही हेर्दैन भन्ने मनमा आइहाल्थ्यो र एकअर्काको साहारा बनिदिन्थे । आर्यनले खातुनसँग अन्तरधार्मिक विवाह गरेपछि आफ्नो व्यापार÷व्यवसाय मात्र होइन परिवारको माया, साथ र सहयोग पनि गुमाए । यता खातुनले पनि सुखसयलको जीवनबाट हात धुनुपर्‍यो ।

परिवारमा विवाह स्वीकार हुँदैन भन्ने दुवैलाई थाहा थियो । त्यसैले पनि भागी विवाह गरेर उनीहरु गुल्मीबाट बुटवल बस्न थाले । कहिले परिवारको सम्झनामा आँसु त कहिले एकअर्काको साथ पाएकोमा खुसी साटासाट गर्दै उनीहरुको दैनिकी बित्यो । विवाहपछि कुनै दिन त परिवारले अवश्य पनि बोलाउने छन् भन्ने आश दुबैले आफ्नो परिवारबाट गरेका थिए । तर भइदियो ठीक उल्टो, दुवैको परिवारबाट करिब ६÷७ महिनासम्म कुनै खोजखबर नै भएन । एकअर्कामा नै आँसुहाँसो, सुखदुख दिन बित्दै गए ।

मन भुलाउन बुटवलमा नै बसिरहेको समयमा दुवै जना एकपटक दमौली महोत्सव अवलोकनका लागि आएका थिए । त्यो समयमा दुवैलाई लाग्यो, यतै केही गरेर बस्न सकिन्छ र परिवारका सदस्यलाई पनि मनाउन सकिन्छ । अनि उनीहरुले तनहुँको दुलेगौंडामा एउटा सटर खोलेर ग्यारेन्टी गहनाको व्यापार सुरु गरे । जेनतेन दैनिकी चलिरहेको थियो उनीहरुको । विवाह गरेको ७ महिना तथा व्यापार सुरु गरेपछि भने खातुन परिवारलाई आर्यन र हाजेराको विवाह स्वीकार गर्न कर लाग्यो । हाजेराको परिवारले उनीहरुलाई घर बोलायो ।

तर कुरानमा ‘केटाको धर्म र चरित्र बुझेमात्र अभिभावकले छोरी दिन सक्छन्’ भन्ने उल्लेख गरिएकाले श्रेष्ठको धर्म फेरी वाधक बनिदियो । उनीहरुलाई लाग्थ्यो भगवान, अल्लाह जे भएपनि भगवान् त एउटै हुन् ।त्यस्तो अवस्थामा आर्यनलाई के गर्ने भन्ने सोच नै आएन सुरुमा त । तर उनको लागि आफ्नो परिवार बिरानो बनिसकेको थियो मुस्लिमसँग विवाह गरेको भन्दै । आफ्नो परिवारले स्वीकार नगरे पनि हाजेराको परिवारले स्वीकार्ने भएपछिमुस्लिम परम्परा अनुसार नै उनी हाजेरासँग पुनः विवाह गर्न तयार भए । २०६८ सालमा इस्लाम धर्म अनुसार नै विवाह गरेपछि बल्ल समाजको नजरमा हाजेरा आर्यनको वैधानिक श्रीमती बनिन् । आर्यनलाई कुनै दिन अवश्य पनि परिवारका सदस्यले स्वीकार गर्लान् भन्ने आशा थियो र अझैपनि छ । तर त्यो आशा पूरा भएको छैन ।

विवाह वैधानिक भएपछि आर्यन र हाजेराको संघर्षको दिन सुरु भए । समाजमा स्थापित हुनका लागि धेरै संघर्ष गरेको छ यो जोडीले । परिवार सम्हाल्नका लागि आर्यनले हाजेरालाई विवाहमा लगाइदिएको सुनका गहना बेचेर र केही किस्तामा रकम निकालेर दुलेगौंडामा ग्यारेन्टीवाला गहनाको सानो पसल खोले तर सोचेको जस्तो व्यापार हुन सकेन । ‘किस्ता पनि तिर्न सक्ने स्थिति आयो त्यो बेलामा ।’ आर्यन भावुक हुँदै भन्छन् । हिन्दीमा एउटा उखान नै छ, ‘जब भगवान् देता हे तो छप्पड् फाड्के देता हे, कभी खुसी कभी गम ।’ आर्यन र हाजेरा जीवनमा पनि त्यस्तै भयो, बल्ल–बल्ल खातुन परिवारले विवाह सम्बन्ध स्वीकार गरेको थियो । सबै दुख एकैपटक आयो आँधीबेहेरी जस्तै यी २ को जीवनमा पनि ।

संघर्ष जारी रहँदा नै त्यही सानो ग्यारेन्टीको गहना पसलमा पनि चोरी भयो । केही समयका लागि यो जोडीले के गर्ने सोच्नै सकेनन् । देखेका सारा सपना ढल्मलाए, रातिमा देखेको सपना ब्युझँदा चक्नाचुर भए जस्तैउनीहरुको सपना पनि चक्नाचुर भइसकेको थियो । जे भएपनि उनीहरुले हार खाएनन् । संघर्षबाट पाएको एकअर्काको साथ कहिले पनि छोडेनन् । उनीहरुलाई लाग्थ्यो मेहनत गरे अवश्य पनि सफलता पाउन सकिन्छ । त्यसैले त हरेक पटक भाग्यले साथ नदिएपनि एकअर्काको साहारामा अगाडि बढ्दै गए ।चोरी भएर बाँकी रहेको सामानको व्यापार हाजेरा एक्लैले बेच्न थालिन् त्यो बेलामा । त्यो समयमा व्यापारले मात्र पुगेन । अब फेरी केही नयाँ काम सुरु गर्नुपर्छ भन्ने विचार आर्यनको मनमा आइसकेको थियो ।

अन्यौलकाबीचमा आर्यनलाई आफ्नो सीपको प्रयोग किन नगर्ने भन्ने लाग्यो । आर्यन कहिलेकाहीं मम बनाउँथे । यही सीपलाई प्रयोग गर्नका लागि आर्यनले श्रीमती हाजेरालाई ‘एक्लै पसलमा व्यापार गर,म ममको व्यापार गर्छु ।’ भन्दै दुलेगौंडा रहेको पञ्चमुनी विद्यालयको क्यान्टिनका काम गर्न थाले । ‘मम बनाउने सीप थियो, त्यही सीपलाई विद्यालयमा प्रयोग गर्न थाले श्रीमतीलाई व्यापार गर्न लगाएर, मलाई हरेक सफलता तथा असफलताका समयमा हाजेराले साथ दिएकी छिन् ।’ संघर्षका दिनका विषयमा उनी भन्छन् ।

विद्यालयमा मम बनाएर विद्यार्थी मात्र होइन, अन्य पसलका लागि ग्राहक पनि तान्न आर्यन सफल भए । ममका ग्राहक उनको पसलमा आउन थाले । ग्राहकको भीड बढ्दै गएपछि भने हाजेरालाई मात्र पसल धान्न सक्ने अवस्था रहेन । आर्यनलाई पनि पसलमा बस्नुपर्ने बाध्यता आयो । अनि उनले ममको व्यवसाय छाडेर व्यापारमा नै व्यस्त हुन थाले । पसलमा ग्राहकको भीड बढ्दै गएपछि आर्यन र हाजेराको जोडीले आफ्नो पसल केही भित्री स्थानमा रहेको स्थानबाट मेन रोडतर्फ सार्‍यो । त्यसरी सानो पसलबाट सुरु भएको व्यापार उनीहरुले अहिले ठूलो बनाउन सफल छन् । व्यापारले उनीहरुलाई सबै कुरा पुर्‍याइदिएको छ ।

व्यापार व्यवस्थित हुनुभन्दा केही समय अगाडि सबै कुरा छोडेर विदेश जाने चाहाना आर्यनमा नआएको होइन । विदेशीने अन्तिम तयारीमा रहेको अवस्थामा उनीहरु २ जनामा अर्को १ जना थपिए यो जोडीको सन्तानका रुपमा उनीहरुको छोरा । सुत्केरी अवस्थाकी श्रीमती तथा भर्खर संसारमा पाइला टेकेका छोरालाई छोडेर विदेश जान आर्यनलाई मन लागेन । त्यसपछि झन् पसल सोचेको भन्दा पनि राम्रोसँग चल्न थाल्यो, आफन्तको माया थपिदै गयो, अझ भनौं उनीहरुको खुसी फर्किएको छ अहिले ।

जति नै खुसी थपिएपनि आखिर परिवारको साथ र सहयोग भनेको बेग्लै हुन्छ । परिवारको साथ बिना प्राय खुसी खल्लो लाग्छ उनलाई । ‘अहिले मसँग हरेक खुसी छ, तर परिवारको याद त आउँछ, बोलाउनुहुन्छ कि मन फर्किएर भन्ने आशा त जहिले पनि हुन्छ,’उनी भन्छन् । हाजेरालाई पनि आर्यनको पीडा अनुभव हुन्छ । तर उनी केही गर्न सक्दिनन् । ‘उसलाई हिन्दूको चाडपर्वको समयमा परिवारको याद आउँछ, मसँग पनि सम्झाएर सबै ठीक हुन्छ भन्नुबाहेक केही गर्न नै सक्दिन,’ उनी भन्छिन्, ‘आशा छ कुनै दिन उहाँहरुले पनि मलाई त्यही घरको सदस्यका रुपमा स्वीकार गर्नुहुनेछ ।’ आर्यनलाई पनि यसको अभावले खाइरहन्छ जहिलेपनि ।

सबैभन्दा दुख त उनलाई आमाको निधन हुँदा खबर नगरिएकोमा लाग्छ । ‘मलाई अहिले सबै कुराको सुख छ, तर आमाको निधन हुँदा पनि बोलाइएन, त्यही एकदम दुख लाग्छ ।’ आर्यनको आमालाई क्यान्सर थियो, उनी आर्यनकै मामाघरमा बस्थिन् । औषधी उपचार गरेर आमालाई निको पारिसकेका थिए आर्यनले । तर आर्यनले अन्तरधार्मिक विवाह गरेपछि उनको आमाको रोग फेरि बल्झियो र त्यही रोगले उनको निधन भयो । ‘आमाको निधन भइसकेको रहेछ, तर मलाई खबर नै गरिएन, ११ दिनमा चोखिएपछि मात्र दाइले यो बारेमा थाहा दिए, त्यो समयको मेरो स्थिति के थियो, मलाई मात्र थाहा छ ।’ आमाको कुरा गर्दागर्दै उनी भावुक बने ।

जब आमाको निधनको खबर सुने अनि केही नसोचेर एउटा झोला मात्र बोकेर मामाघरका लागि बस चढे । बाटोमा जाँदा जाम थियो, त्यही जामको समयमा नै उनको मनमा आयो, ‘जब आमाको निधन हुँदा त खबर गरिएन भने अब गएर के गर्नु ? मलाई कसले पो खोज्छ र ?’ तर त्यसै फर्कन उनको मनले भने मानेन । आर्यनलाई आशा थियो, मामा घर पुगेपछि कस्तो छ तिम्रो अवस्था भनेर सोध्नेछन् । तर ठीक उल्टो मामाघर पुगेपछि पनि उनको विषयमा जान्न खाज्ने कोही भएनन्, आमाको निधनको पीडामा साथ दिनु त कता हो कता, झन् मुस्लिम युवतीसँग विवाह गरेका भन्दै गुनासो गर्नेको लाम नै लाग्यो । सबैले आर्यनको स्थितिको बारेमा जान्नेभन्दा पनि गुनासो सुनाउने हतार गरे ।

आमा गुमाउनुको पीडा त थियो, त्यहीमाथि पनि झन् सबैको गुनासो सुनेपछि उनको मन रोयो त्यो बेला । धेरै समय बस्न मन पनि लागेन । औपचारिकता पूरा गरेर आर्यन तनहुँ नै फर्किए मनभरी पीडा र सबैको गुनासो बोकेर । ‘मलाई कस्तो छ, के गर्दै छस् भनेर कसैले पनि सोधेनन् त्यो बेलामा झन् गुनासो मात्र गरे ।’ भावुक हुँदै आर्यन भन्छन्, ‘मलाई देखेर कोही खुसी छैनन् भन्ने लागेर अन्तिम समयमा आमाको मुख देख्न नपाएको पीडा लिँदै फरी तनहुँ फर्किएँ ।’ अन्तिम समयमा आमाको अनुहार हेर्न नपाएकोमा आत्मग्लानी हुन्छ आर्यनलाई ।

दिन, हप्ता, महिना गरेर आधा दशकभन्दा बढी भइसक्यो, तर अहँ…..आर्यनलाई परिवारले स्वीकार गरेर बोलाएको छैन अझै, फेरी पनि मनै त हो, उनलाई अझै पनि आशा छ, कुनै दिन अवश्य पनि परिवारले बोलाउने छ । अहिलेसम्म पनि स्वीकार गर्नु त टाढाको कुरा हो, उनको कुनै पनि परिवारको सदस्य आर्यनसँग बोल्न पनि बोल्दैनन् । कहाँ के गर्दै छस् भनेर सोध्ने पनि कोही छैन ।

उनको लागि अहिले श्रीमती हाजेरा र छोरा मात्र छन् जीवन जिउने बाहाना, बस् यति नै हो । जब चाडपर्व आउँछ, अनि उनलाई परिवारको खुबै याद आउँछ । दिदी, दाइ, भाइ, बहिनीसँग बिताएका हरेक पल आँखा अगाडि नै नाच्छन् उनको । इद लगायतका पर्व मनाउने आर्यनलाई दशैं, तिहार जस्ता चाडपर्वका समयमा परिवारको सम्झना झन् बढी आइदिन्छ । ससुराली भने उनी पुगिरहन्छन् ।

आर्यनको कहिलेकाहीं भएपनि भाइबहिनीसँग फोनमा कुरा हुन थालेको छ । परिवारका अन्य सदस्यसँग भने उनको कुरा हुँदैन । भाइबहिनीसँग कुरा भएपनि सञ्चो बिसञ्चो बाहेकको कुराकानीभन्दा हुँदैन उनीहरुबीच । लामो समयपछि फोनमा कुराकानी सुरु भएजस्तै परिवारका सदस्यले स्वीकारर्नेछन् भन्ने आशा छ उनलाई ।

मुस्लिम परिवार तथा रहनसहनमा हुर्किएकी हाजेरालाई पनि हिन्दु धर्मावलम्बीको पर्व मन पर्छ । दशैं तथा तिहारमा टिका नलगाएपनि खुसी लाग्छ रीतिरिवाज हेर्दा । ‘चाडपर्वमा टिका लगाइँदैन, तर सबै धर्म तथा चाडपर्व एउटै हो भन्ने लाग्छ ।’ हिन्दु संस्कारमा भिज्न थालेकी छिन् उनी । केही अनौठो चालचलन भए आर्यनले त्यो विषयमा सबै जानकारी दिन्छन् भने हाजेराले पनि आफ्नो माइतीतर्फको चलनका विषयमा सबै जानकारी दिएकी छिन् । आर्यन हिन्दू र हाजेरा मुस्लिम भएपनि दुवैलाई एकअर्काको धर्म तथा रीतिरिवाजप्रति सम्मान छ ।

मायामा यो र त्यो धर्म तथा सानो र ठूलो जात नहुने भन्दै विवाह गरेका आर्यन र हाजेराले आफ्नो सानो र छुट्टै संसार बसाएका छन् र खुसी पनि छन् । ‘हामीले एकअर्कालाई माया गरेर स्वीकार गरेका हौं, यसमा कुनै पछुतो छैन ।’ हाजेरा खुसी हुँदै भन्छिन्, ‘सबै जात धर्म एउटै हो भन्ने लाग्छ मलाई त, आशा छ कुनै दिन उहाँको परिवारले बुहारीको रुपमा अवश्य पनि स्वीकार्नु हुने छ ।’ वर्षौंको संघर्ष र हरेक दुखसुखमा एकअर्कालाई साथ दिँदै उनीहरु यो स्थानसम्म आएका छन् । अनि दुवैले एकअर्कालाई हेर्दै भन्छन्, ‘आखिर माया त मायाहो ।’

तपाईको प्रतिक्रिया