आशबिनाको विद्यार्थी राजनीति

समाधान संवाददाता २०७६ असोज २८ गते १६:०२

स्मृति रानाभाट

अहिलेका राजनीतिकर्मीका आड भनेकै पुराना पुस्ताका अमर नाम हुन् । उहिल्यै स्थापित वाद, स्वर्गीय व्यक्तिका पुरातन सिद्दान्त र सीमित राम्रा कामका सहनाइँ फुकेर चलेका छन् आजका राजनीतिक पार्टीहरु ।

चुनावअघि दैलोदैलो चहार्दा जुनै दलका भए पनि नयाँ र अपत्यारिला भाषण सुनिन्छन् । तर ती कार्यान्वयनमा भने सायदै होला । ‘बोलीले हिरो, व्यवहारले जिरो’ आजका नेतृत्वका व्यवहार देख्दा लाग्छ – राजनीतिकर्मी पनि कलाकारजस्तै हुन् ।

Advertisement

आजको नेतृत्वप्रति जनताको तीब्र असन्तुष्टि छ । यसका जिम्मेवार शाषक स्वयं नै हुनपर्छ । राजनीतिक पार्टीको पहिलो खुड्किलो आजभोलि कलेज, क्याम्पस भइरहेका छन् । कलेज, क्याम्पसमा पार्टी निकट राजनीतिक समूहले गरेको व्यहार र काम गराइको शैली हेर्दा नै भोलिको नेतृत्वप्रति वितृष्णा पैदा भएको छ ।

क्याम्पस मूलद्वार छिर्नासाथ बोर्डमा झुन्डिएका नारा र कथित् महान नेताको अनुहारले स्वागत गर्छ । कक्षा कोठामा पढाइको सुगन्धभन्दा राजनीतिको दुर्गन्ध बढी आउँछ । उसो त युवालाई देशको राजनीतिबारे चासो हुनु नराम्रो कुरा होइन । तर, ती उब्जिएका चासो सकारात्मक बाटो उन्मुख छन् या छैनन् भन्ने दुविधा हामीमाझ प्रष्ट छ ।

Advertisement

विद्यार्थी संगठन क्याम्पसमा यति हाबी भएको देखिन्छ कि मानौं उनीहरु नै सत्ता हुन् र उनीहरु नै क्याम्पस चलाइरहेका छन् । क्याम्पसभित्र उनीहरुले गर्ने गतिविधि देख्दा लाग्दैन कि उनीहरुले भोलि देशको काँचुली फेर्ने महान कामको सुरुआत गर्न सक्लान् । उनीहरुको व्यवहार हेर्दा राजनीतिप्रति नै एक किसिमको वितृष्णा पैदा हुन थालेको छ ।

विश्व विद्यालयअन्तर्गतका क्याम्पसमा विद्यार्थी संगठनमा उनीहरु नै क्याम्पसको अभिन्न अंग जस्तै भइसके । तर, विद्यार्थी संगठन आवश्यक छ कि छैन छ भने किन छैन ? भन्नेबारे कसैले सोचेको देखिँदैन । वार्षिक रुपमा क्याम्पसबाट संगठनका निम्ति सहयोग रकम छुटिन्छ । यसबाट उनीहरु कार्यक्रम गर्छन्, प्रशासनको एउटा बोझ कम हुन्छ । तर, के यसले विद्यार्थी र प्रशासनलाई फाइदा गरिरहेको छ त ? यो एउटा यक्ष प्रश्न पनि हो ।

नैतिक हिसाबमा शिक्षण क्षेत्रका अनुशासनमा विद्यार्थी बस्नुपर्ने हो । तर, यहाँ त्यस्तो कमैमात्र देखिन्छ । विद्यार्थी संगठनको अराजक अनुशासनमा क्याम्पस बस्नुपर्ने बाध्यता छ । पदको सुरक्षाका लागि डिन, चिफ, कोर्डिनेटरदेखि लिएर हरेक साना–ठूला व्यक्ति विद्यार्थी संगठनका छायाँमूनी बस्न बाध्य छन् । यसले शिक्षक र विद्यार्थीबीचको सम्बन्धलाई कस्तो बनाउला ? अनुमानमात्रै गरौं अहिले ।

विद्यार्थीको हकहितका निम्ति स्थापना भएका विद्यार्थी संगठन अहिले राजनीतिक पार्टीका मुखपत्र भएका छन् । कसको संगठन ठूलो र कसको शक्ति ठूलो भन्ने प्रतिस्पर्धा भइरहेका छन् । विद्यार्थी हकहित होइन र राजनीतिक भर्तीकेन्द्र हुँदैछन्, विद्यार्थी संगठन ।

नयाँ कलेज पढ्ने सपना बोकेर आएका युवा पहिलो दिनमै विद्यार्थी नेताको जालमा फस्ने गरेका छन् । संगठनको प्रचारका लागि प्रशासनसँग मिलेमतोमा निशुल्क प्रवेश परीक्षा दिने व्यवस्था मिलाइदिने, २÷४ वटा किताब बाँड्ने, भर्ना फारम भरिदिनेजस्ता होडबाजी चल्छ । यो सेवा होइन, चुनाव प्रचारप्रसारको एउटा रणनीतिमात्रै हो भने कहिले बुझ्ने हामीले ?

विचार, आदर्श, सिद्दान्त, अध्ययन र तर्क पछ्याएर संगठनमा लाग्ने कमै छन् । राजनीति त लहैलहैले बिग्रिएको छ । बहकाउ र क्षणिक रमाइलोको लागि राजनीति हुँदैन भनेर उनीहरुलाई कसले बुझाउने र सम्झाउने ? अन्धाधुन्ध राजनीतिले उनीहरुकोमात्रै होइन समग्र देशकै एउटा सुनौलो भविष्य अँध्यारोमा धकेलिँदैछ भन्ने कुन राजनीतिक पार्टीले सम्झाउला ?

अहिले विद्यार्थी संगठनबिनाको विश्वविद्यालय कल्पनाभन्दा बाहिरजस्तो भइसक्यो । अध्ययनबिनाका विद्यार्थी नेताले त झन् पार्टीको अन्यौल भविष्य प्रष्टै छ । एउटा कुशल नेतालाई आफ्नो लगाबप्रति अत्याधिक अध्ययन चाहिन्छ । विद्यार्थी भनेको अध्ययनशील हुनुपर्छ । अध्ययन गर्नु भनेकै सिर्जनशील र चेतनशील हुनु हो । जबसम्म एउटा विद्यार्थी नेतामा विषय चेत हुँदैन । त्यसले अन्य विद्यार्थीको हकहितका लागि पनि आवाज उठाउन सक्दैन ।

नेपाली व्यवस्था परिवर्तनमा विद्यार्थीको संघर्ष अविस्मरणीय छ । नेपालको इतिहासमा २००४ सालमा ‘जयतु संस्कृतम्’ मार्फत पहिलो पटक संगठित विद्यार्थी आन्दोलनको उद्घाट भएको थियो । २००६ सालमा भूमिगत रुपमा अखिल नेपाल विद्यार्थी फेडेरेसन, २०२२ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, २०२७ सालमा नेपाल विद्यार्थी संघ हँुदै आजसम्म अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत दर्जनौं विद्यार्थी संगठन खुलेका छन् ।

इतिहास र आजलाई हेर्ने हो भने संगठन धेरै उपलब्धी थोरै छ । विद्यार्थी नेता आफ्नो विचारको आन्दोलन होइन पार्टीका झोला बाक्नै व्यस्त छन् । विद्यार्थी संगठन संस्कार सिक्ने होइन कि भ्रष्टाचार, गुन्डागर्दी र धाँधली कसरी सिक्ने भन्ने पाठशालाका रुपमा विकास हुँदैछ भन्दा अर्को अर्थ नलाग्ला ।

क्याम्पसमा अध्ययन गर्ने कक्षा कोठाभन्दा विद्यार्थी संगठनका बैठक हल ठूला र भव्य छन् । क्याम्पसमा पढ्नभन्दा राजनीति गर्न आउनेको हल्ला बढी सुनिन्छ । अचेल विद्यार्थीलाई सास्ती छ । मूलद्वार छिरेपछि कक्षा कोठा पुग्नै आधा समय खेर जान्छ । ज्यू, हजुर गर्नुपर्ने उसलाई बाध्यता छ । अहिले राजनीतिक संस्कार नै यस्तै भइसक्यो – आज उसले कुनै संगठनको नेतालाई पुजेन भने भोलि ऊप्रति आइलाग्ने फसादमा उभिने कोही हुने छैनन् । यो उसको दोष कदापी होइन, राजनीतिले नै बनाइदिएको वातावरणको प्रभाव हो ।

प्रशासनका उच्च पदका व्यक्ति पनि पार्टीगत टिसर्टका विद्यार्थीसँग तर्सेको देखिन्छन् । उनीहरु स्वतन्त्र छन् कि युनियनका इशारामा चलेका छन् थाहै हुँदैन । कुनै विद्यार्थी संगठनका कार्यकर्ताले गलत गरिदिँदा पनि केही नभएजसरी मुन्टो बटार्छन् ।

चित्त नबुझेका साना साना कुरामा एउटा संगठनले ताला लगाउने र अर्को संगठले विरोध गर्ने प्रक्रिया हेर्दा लाग्छ – एउटाले पिटेजस्तो गरेको र अर्को रोएजस्तो क्रिया चलिरहेको छ । कोहीकोही त आपसी झैंझगडाले क्याम्पसमा झ्याल ढोका फोड्न पनि पदैनन् । यसबाट कस्तो नागरिकको जन्म विश्वविद्यालयको राजनीतिले गरिरहेको छ ? सहजै अनुमान लगाउन सकिन्छ ।

विद्यार्थी संगठनमा विकृतिको आगो सल्काउने काम केही हदसम्म क्याम्पसका प्रध्यापक, शिक्षक र अरु कर्मचारीले गर्दछन् । दलीय भागबन्दाबाट उनीहरु पनि कहाँ अछूट छन् र ? आजको समयमा विद्यार्थी राजनीतिको परिभाषा नै परिणत भएको भान हुन्छ । सत्ता प्राप्तिका लागि गुटउपगुटको श्रृंखला विद्यार्थी राजनीतिबाटै आरम्भ हुन्छ । यही स्थिति चल्दै गयो भने भोलिको नेताबाट हामीले के आशा गर्ने ? जग नै बेथिति । विकृतिले स्थापित छ भने त त्यहाँ कसरी फुल्न सक्ला र भविष्यमा समृद्धिको सुन्दर फूल ?

तपाईको प्रतिक्रिया