विमानस्थलमा तोडफोड गर्ने सांसद साहमाथि अनुसन्धान गर्न अदालतले दियो ४ दिनको म्याद

समाधान संवाददाता २०७६ असोज २९ गते १२:५३

समाधान संवाददाता, काठमाडाैं

जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साहमाथि अनुसन्धान गर्न अदालतले ४ दिन म्याद दिएको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश तीर्थ प्रसाद केसीको इजलासले मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका साहबारे हिरासतमै राखेर ४ दिन अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा धनुषा अदालतले मंगलबारै सांसद साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको थियो । पूर्जी जारी भएको केही घन्टामै साह पक्राउ परेका थिए ।

समयमा जहाज नआएको भन्दै सांसद साहले सोमबार दिउँसो बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र अभद्र व्यवहार गरेका थिए ।

Advertisement

उनले काउन्टरमा बसेका कर्मचारीलाई धकेलेका पनि थिए । सोमबार बिहान ११:४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएको भन्दै उनले आक्रोश पोखेका थिए ।

आक्रोशकै क्रममा भनाभन भएपछि सांसद साहले काउन्टरमा मुक्का बजार्दै कर्मचारीलाई धकेलेको प्रहरीले जनाएको छ ।

अढाइ बजे बल्ल बुद्ध एयरको जहाज आएपछि सांसद साह शान्त भए पनि बुद्ध एयरका कर्मचारीले चढाउन मानेका थिएनन् । तर, प्रहरी र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले झगडा मिलाएर साहलाई काठमाडौं उडाएका थिए ।

तपाईको प्रतिक्रिया