महरालाई ३ दिन हिरासतमा राख्न अनुमति

समाधान संवाददाता २०७६ असोज २९ गते १३:३३

समाधान संवाददाता
काठमाडौं

यौन दूव्र्यहार आरोपपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई थप ३ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले यसअघिको १० दिन र अहिले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहारको आरोपमा असोज १९ गते सरकारी निवासबाटै महरालाई प्रहरीले पक्राउ गरेको थियो । दसैंका बेला पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै मंगलबार म्याद थपका लागि अदालत लगिएको थियो ।

Advertisement

आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा पीडित महिलाले किटानी जाहेरी दिएपछि प्रहरीले निवर्तमान सभामुख महरालाई पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको छ । प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई अदालत लगेको थियो । म्याद थपपछि महरालाई अस्पताल नै फर्काइएको छ ।

महराले आफूलाई जबर्जस्ती गरेको भन्दै महिलाको भिडियो सार्वजनिक भएपछि सभामुख पदबाट राजीनामा दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएको थियो । त्यसलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए । प्रहरीले पक्राउ गरेसँगै महराको सांसद पद पनि निलम्बनमा परेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया