भुजुङ्गेमा स्टोन भिलेज होमस्टे

समाधान संवाददाता २०७६ असोज २९ गते १४:५९

समाधान संवाददाता
पोखरा

बागलुङको गलकोट नगरपालिका वडा नं. ६ भुजुङ्गेमा पनि घरबास कार्यक्रम सुरु भएको छ । गलकोट स्टोन भिलेज सामुदायिक होमस्टेको सोमबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले औपचारिक रुपमा सुरुआत गरे । मन्त्री गुरुङले आन्तरिक पर्यटन प्रवद्र्धनमा होमस्टे प्रभावकारी हुने भएकाले प्रदेश सरकारले समेत यसलाई प्राथमिकता दिएको बताए ।

गण्डकी प्रदेश सरकारको सहयोगमा २ सय ७३ स्थानमा होम स्टे सुरु भएको उनले बताए । प्रदेश सरकारको समृद्धिको आधार पर्यटन भएकाले पर्यटकीय गतिविधिमा प्रदेश सरकारको साथ रहने उनको भनाइ छ । होटलको सुविधा नभएको स्थानमा खाना र बासको व्यवस्थाका लागि होमस्टेको अवधारणा आएको बताउँदै उनले होटलसरह पर्यटकको रुचि अनुसार खाना र बासको व्यवस्थापनमा ध्यान दिन अनुरोध गरे । लामो समयसम्म होमस्टेले नथेग्ने भन्दै सुविधा सम्पन्न होटल ग्रामीण भेगमा स्थापना नहुने बेलासम्मका लागि विकल्पको रुपमा होमस्टेको अवधारणा अघि सारिएको हो ।

Advertisement

गण्डकी प्रदेशसभा सदस्य दिलमाया रोकाले गाउँ रित्तै हुन लागेको अवस्थामा प्रदेश सरकारको यो अभियानले सहयोग पुग्ने धारणा राखिन् । बाँझा बारीलाई हरियाली बनाउँदै पाहुनाको स्वागतबाट आर्थिक उपार्जन गर्न उनले आग्रह गरिन् । परिवर्तन र समृद्धिको आधार भएकाले सबै मिलेर उत्पादनसँगै जोडिएर होमस्टे सञ्चालन गर्न सकेमा बेरोजगारी समस्यासमेत न्यूनीकरण हुने उनको विश्वास छ ।

सल्लाहकार यामबहादुर श्रीसले स्लेट ढुंगाको खानी रहेको भुजुङ्गेमा निर्माण गरिने सबै भौतिक पूर्वाधार ढुंगाका हुने बताए । ‘घर, आँगन, गोरेटो बाटो, पानी धारा सबै ढुंगाले निर्माण गरेर स्टोन भिलेजको रुपमा गाउँको विकास गरी पर्यटन आकर्षण गर्ने हाम्रो लक्ष्य हो’, उनले भने । कार्यक्रम गलकोट स्टोन भिलेज सामुदायिक होमस्टेकी अध्यक्ष कमला श्रीसको अध्यक्षता तथा पर्यटन व्यवसायी फरेन्द्र थापाको सञ्चालनमा भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया