साग बक्सिङको बन्द प्रशिक्षण पोखरामा

समाधान संवाददाता २०७६ असोज २९ गते १५:०२

समाधान संवाददाता
पोखरा

नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङको बन्द प्रशिक्षण पोखरामा सुरु भएको छ ।

बन्द प्रशिक्षणका लागि पोखरा आएको बक्सिङ टोलीको स्वागतका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई आफ्नोतर्फबाट १ तोला सुनको मेडल दिने घोषणा गरे ।

Advertisement

स्वागत कार्यक्रममा राखेप सदस्य गुरुङले खेलाडीबिनाको खेल कल्पनासमेत गर्न नसकिने बताउँदै खेलाडीलाई उचित सुविधा दिन सकेमात्र मेडलको आश गर्न सकिने बताए । उनले खेलाडीलाई सम्बोधन गर्दै भने– ‘हाम्रो अन्तिम लक्ष्य भनेको नै पदक ल्याउनु हो, पदक ल्याउने खेलाडीलाई राज्यले संरक्षणका लागि अगाडि आउनुपर्छ ।’ पोखराको बन्द प्रशिक्षणका क्रममा कुनै समस्या परेमा आफ्नोतर्फबाट सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीको अध्यक्षतामा भएको कार्यक्रममा राखेप उपनिर्देशक तथा ह्यान्डबलका मुख्य प्रशिक्षक हिमाल दाहाल, पश्चिमाञ्चल क्षेत्रीय खेलकुदका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानी, उपनिर्देशक कृष्ण तिमिल्सिना, लेखाप्रमुख डिबी नेपाली लगायतले खेलाडी तथा अफिसियललाई स्वागत गरेका थिए ।

Advertisement

साग बक्सिङको बन्द प्रशिक्षणका लागि १६ जना खेलाडीमध्ये ११ जना खेलाडी पोखरा आइपुगेका छन् । नेपाली सेना विभागीय ५ जनाको टोली भने चीनमा आयोजना भएको वल्र्ड आर्मी च्याम्पियनसिपमा सहभागी हुन चिन गएको छ ।

साग बन्द प्रशिक्षणमा महिला ४८ केजीमा ललिता महर्जन, ५१ केजीमा माला राई, ५७ केजीमा चन्द्रकला थापा, ५४ केजीमा मिनु गुरुङ, ६० केजीमा संगीता सुनार, ६४ केजीमा पुनम रावल छन् ।

यस्तै पुरुषतर्फ ४९ केजीमा सुशील थापा मगर, ५२ केजीमा तेजबहादुर देउवा, ५६ केजीमा पुरन राई, ६० केजीमा शनील शाही, ६४ केजीमा भूपेन्द्र थापा, ६९ केजीमा विकास लामा, ७५ केजीमा दीपक श्रेष्ठ, ८१ केजीमा मनोहर बस्नेत, ९१ केजीमा अर्जुन सिगु, ९१ केजीभन्दा माथि तौलमा आशीष दुवाडी छन् ।

प्रशिक्षार्थी टिमलाई उजबेकिस्तानका अन्तर्राष्ट्रिय प्रशिक्षक अलि शेर राखिमोभले प्रशिक्षण दिने छन् भने अन्य प्रशिक्षकमा वरिष्ठ प्रशिक्षक प्रकाश थापा मगर, ओलम्पियन प्रविन तुलाधर, ओलम्पियन डम्बरदत्त भट्ट, दीपक महर्जन र किशोर लिम्बु छन् । पुरुष टिम प्रशिक्षकमा प्रेमबहादुर पौंजु, र महिलातर्फ प्रमिला राई छन् ।

१३ औं सागमा सहभागी हुने खेलाडीमध्ये पुरुषतर्फ ७५ केजी तौलमा प्रतिस्पर्धा गर्ने दीपक श्रेष्ठ र महिलातर्फ ५४ केजी तौलमा प्रतिस्पर्धा गर्ने मिनु गुरुङ १२ औं सागका काश्य पदक विजेता खेलाडी हुन् ।

तपाईको प्रतिक्रिया