पोखरामा अस्तव्यस्त पार्किङः सडकमा पार्किङ ठेक्कालाई छैटौं पटक टेन्डर

समाधान संवाददाता २०७६ असोज ३० गते १२:२०

विकास रोकामगर
पोखरा

पोखराका मुख्य क्षेत्रमामात्र नभई सबैजसो शाखा सडकमा एउटै समस्या हो पार्किङ । बढ्दो गाडी चाप व्यवस्थित गर्न महानगरले छुट्टै पार्किङस्थल बनाएको छैन । पार्किङ व्यवस्थित गर्न नसक्दा महानगर कार्यालय अघिल्तिरै अस्तव्यस्त रुपमा बाटोमै गाडी पार्किङ हुने गरेको छ ।

लाखौंका संख्यामा दैनिक गुड्ने गाडी सडकका दुवै किनारामा अस्तव्यस्त पार्किङ गर्दा बेलाबेला ठूलो जामका साथै दुर्घटनासमेत निम्त्याइरहेको छ । मुख्य सडकमा बढी जाम हुने भएकाले शाखा बाटोबाट सवारी रोज्दा पनि अचेल समस्या छल्न सक्ने सम्भावना कम छ । दैनिक थेग्नै गाह्रो हुने साना तथा ठूला गाडीको आवतजावत र उनीहरुले निम्त्याउने पार्किङ समस्याबारे महानगरले ध्यान दिन सकेको छैन । पोखरा मुख्य बजार क्षेत्रको सवारी चाप र पार्किङ समस्यालाई कम गर्न महानगरले प्रदर्शनी केन्द्र नजिक पार्किङ क्षेत्र बनाएको छ । तर, वैज्ञानिक तवरले व्यवस्थित नगर्दा त्यसले उल्टै गाडी धनीलाई ‘तनाव’ दिइरहेको छ ।

Advertisement

जिल्ला यातायात कार्यालयको प्रतिवेदन अनुसार पोखरामा दैनिक १ लाख ४० हजारभन्दा बढी गाडी गुड्छन् । निश्चित पार्किङस्थल बनाउने र पार्किङलाई व्यवस्थित गराउनेतर्फ महानगरले उचित योजना ल्याउन सकिरहेको छैन । महानगरले उल्टै सडकमै पार्किङ गर्न टेन्डर आह्वान गर्ने गरेको छ ।

सडकमा पार्किङ गर्न पटकपटक टेन्डर आह्वान गर्दा पनि कुनै पनि कम्पनीबाट आवेदन पर्दैन । अहिले महानगरले सडकमै पार्किङ गर्न अहिले छैटौं पटक सूचना आह्वान गरेको छ । जसमा २ वटा कम्पनीले आवेदन दिएको महानगर राजश्व अधिकृत छवि शर्मा बताउँछन् ।

Advertisement

७ करोडको टेन्डर ३ करोडमा !
महानगरले पहिलो पटक ७ करोड रुपैयाँमा टेन्डर आह्वान गरेको थियो । तर, पहिलो पटक कुनै टेन्डर परेन । टेन्डरको समय गुज्रिसकेपछि दोस्रो र तेस्रो पटक फेरि उही मूल्यमै टेन्डर आह्वान गर्‍यो । दोस्रो पटक पनि कुनै कम्पनी सडकमा पार्किङ शुल्क उठाउन इच्छुक देखिएनन् ।

‘बोलकबोल रकम’ बढी भएकाले टेन्डर नपरेको निश्कर्ष निकाल्दै महानगरले चौंथोे पटक ३० प्रतिशत घटाएर टेन्डर आह्वान ग¥यो । न्यूनतम् मूल्य ५ करोड ३९ लाख रुपैयाँ तोकेर आह्वान भएको टेन्डरमासमेत कुनै कम्पनीको आवेदन दिएनन् ।

चौंथो पटक महानगरले पहिले गरेको टेन्डरमा २० प्रतिशत मूल्य बढाएर फेरि आह्वान गर्‍यो । अघिल्लो पटक महानगरले २ करोड ८८ लाख रुपैयाँमा सम्झौता गरेको थियो । सोही सम्झौतामा आधारित रहेर २० प्रतिशत बढ्ने गरी ३ करोड ६ लाख रुपैयाँमा टेन्डर आह्वान गरेको थियो । तर चौंथो पटक महानगरको योजनामा कोही जोडिन चाहेनन् ।

पाँचौ पटक कम्पनीको आशयपत्र माग गरेर महानगरले सूचना निकाल्यो । पाँचौ पटकको सूचनामा ३ कम्पनी महानगरसँग काम गर्न इच्छुक देखिए । तर, उनीहरुसँग पनि सम्झौता हुन सकेन । आवेदन दिएका ३ कम्पनीको नियमविपरीत भएको भन्दै सम्झौता हुन नसकेको अधिकृत शर्मा बताउँछन् । ‘आवेदन दिएका ३ वटा कम्पनीमध्ये २ वटा कम्पनीले पछि आएर आफैं काम गर्दैनौं भने । अर्को कम्पनीले बैंक धरौती राख्न नमानेपछि सम्झौता हुन सकेन,’ उनले भने ।

अहिले महानगरले छैंटौ पटक टेन्डर आह्वान गरेको छ । छैंटौ पटकको टेन्डरमा २ वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका छन् । जसमध्ये सुस्मिता कन्स्ट्रक्सनले ३ करोड ३० लाखमा काम गर्न प्रस्ताव गरेको छ भने सबस्वीकृति कम्पनीले ३ करोड ६ लाखमा आवेदन दिएको छ ।

महानगरका अधिकृत छवि शर्मा दुवै कम्पनीलाई मूल्यांकन समितिले छनोट गरिसकेको बताउँछन् । ‘मूल्यांकन समितिले दुवै कम्पनीलाई छनोट गरेको छ । अब महानगरको बैठकमा पेश गर्छौं । बैठकको निर्णयपछि मात्रै ती कम्पनीले सडक पार्किङ शुल्क उठाउन पाउने वा नपाउने निश्चित हुन्छ,’ उनले भने ।

पहिलेकै कम्पनीबाट पैसा असुल्न बाँकी
पोखरा महानगरले पोखराका मुख्य क्षेत्रमा पार्किङ व्यवस्थित गर्न र शुल्क उठाउन ७३ सालमा अशेष निर्माण सेवालाई जिम्मा दिएको थियो । त्यसबेला महानगरले २ वर्षको सम्झौतासहित २ करोड ८८ लाखमा उक्त कम्पनीलाई टेन्डर दिएको थियो । जसको अवधि सकिएको १ वर्ष बितिसकेको छ ।

महानगरले उक्त कम्पनीबाट अहिलेसम्म १ करोड २५ लाख उठाउन बाँकी छ । महानगर राजस्व शाखाका अनुसार उक्त कम्पनीबाट पैसा असुल्न ‘प्रक्रिया’ सुरु भइसकेको छ । ‘महानगरले कम्पनीको बैंक ग्यारेन्टीवापतको १ करोड रुपैयाँ जफत गरिसकेको छ,’ अधिकृत शर्माले भने, ‘बाँकी २५ लाख उठाउन तनहुँमा रहेको कम्पनीको जग्गा लिन करिब १ महिनाअघि उच्च अदालतले फैसला गरिसकेको छ ।’

कम्पनीले धरौटी राखेको तनहुँको जग्गा तेस्रो पक्षको भएकाले उक्त पक्षले जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेकाले काममा ढिलाइ भइरहेको अधिकृत शर्माले प्रष्ट्याए । उनले भने, ‘जिल्ला अदालतले कारण मागेको थियो । महानगरले बुझाइसकेको छ । हामीले जग्गा लिलामी गर्न पाउने फैसला उच्च अदालतले गरिसकेकोले पनि फरक नपर्ला,’ उनले भने, ‘कम्पनीसँग बाँकी भएको रकम केही समयमै सबै जफत गरिसक्छौं ।’

कहाँ कति पार्किङ शुल्क तिर्ने ?
महानगरको टेन्डर सूचना अनुसार महनगरभित्र सेती नदी पुल पृथ्वीचोक, सभागृह चोक जिरो किमी, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, सिद्धार्थचोक, महेन्द्रपुल, नागढुंगा लगायत ठाउँमा मिनी बस, माइक्रो बस पार्किङ गरेबापत प्रतिघन्टा ३० रुपैयाँको दरले उठाउन पाउने छ । कार, जिप प्रतिघन्टा २० र मोटरसाइकल स्कुटर प्रतिदिन १० का दरले ठेक्का लिने कम्पनीले पार्किङ शुल्क उठाउन पाउनेछ ।

अन्य सडकअन्तर्गत अमरसिंह चोकदेखि पृथ्वीचोकसम्म, मुस्ताङचोकदेखि बिरौटा हुँदै छोरेपाटनसम्म, पालिखेचोकदेखि नदीपुर बगर हुँदै केआइसिंह पुलसम्म लगायतका ठाउँमा पार्किङ शुल्क उठाउन पाउने छ । उक्त ठाउँमा ठूला बस ट्रकको प्रतिघन्टा ३० रुपैयाँ, मझौला मिनीबस, माइक्रोबस प्रतिघन्टा २० तथा कार, जिप, भ्यान प्रतिघन्टा १५ रुपैयाँ र मोटरसाइकल, स्कुटरको प्रतिदिन १० रुपैयाँ पार्किङ शुल्क उठाउन पाउनेछ ।

तपाईको प्रतिक्रिया