सत्यवती सामुदायिक विद्यालयमा २ लाखको अक्षयकोष

समाधान संवाददाता २०७६ असोज ३० गते १३:२०

कृष्ण न्यौपाने
दमौली

व्यास नगरपालिका ३ निवासी राजकुमार श्रेष्ठले सत्यवती सामुदायिक विद्यालयमा २ लाखको अक्षयकोष स्थापना गरेका छन् । श्रेष्ठले सत्यवती माविका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेका हुन् ।

अक्षयकोषको रकम श्रेष्ठले छोरा शान्तकुमार श्रेष्ठको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गरेका छन् । ८४ वर्ष उमेर पूरा गरेको अवसरमा सामाजिक क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित विद्यालयमा अक्षयकोष स्थापना गरेको श्रेष्ठले जानकारी दिए ।

Advertisement

विद्यालयका प्रधानाध्यापक पौडेलले अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए । उक्त रकम शुभश्री बचत तथा ऋण सहकारी संस्थामा मुद्दति खाता सुरु गरिएको र वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट छात्रवृत्ति प्रदान गरिनेछ ।

श्रेष्ठले यसअघि पनि सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन् । श्रेष्ठले व्यास नगरपालिका ३ स्थित दुर्गा मन्दिरमा पाटी, दमौली शवदाह घाटमा सर्वसाधारण बस्ने पाटी निर्माण गरेका थिए भने व्यास ३ स्थित व्यास गुफा क्षेत्रमा निर्माणाधीन किरियापुत्री भवनका लागि १ लाख र व्यास ५ चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रमलाई ३ लाख सहयोग गरेका छन् ।

Advertisement

सत्यवती माध्यमिक विद्यालय यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सामुदायिकतर्फ उत्कृष्ट भएको थियोे । विद्यालयको शैक्षिक गुणस्तर राम्रो भएकै कारण विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयका प्रधानाध्यापक पौडेलका अनुसार गत वर्ष विद्यालयबाट ३ सय ९० जनाले एसइई दिएका थिए । जसमध्ये ५६ जनाले ए प्लस ल्याएका थिए । यस वर्ष पनि सत्यवतीबाट ३ सय ८५ जनाले एसइई दिँदै छन् ।

विद्यालयले ४ पटक पश्चिमाञ्चल क्षेत्रको सर्वोत्कृष्ट विद्यालय, १ पटक राष्ट्रिय स्तरको प्रथम र २ पटक राष्ट्रिय स्तरमा दोस्रो पुरस्कार तथा प्रमाणपत्र प्राप्त गर्न सफल भएको थियो । ‘यस विद्यालयका व्यवस्थापन समितिको मिहिनेत, शिक्षक तथा कर्मचारीको परिश्रम तथा अभिभावकको भरोसाका कारणले नै आजको अवस्थामा आइपुगेका छाैं,’ प्रधानाध्यापक पौडेलले भने । सत्यवतीमा अध्यापन गराउने सबै शिक्षकले आफ्ना छोराछोरी सोही विद्यालयमा नै अध्ययन गराएका छन् । उक्त विद्यालयमा सोही विद्यालयका शिक्षककका छोराछोरीमात्रै १ सय ८५ जना छन् । विद्यालयमा ८९ जना शिक्षक रहेको बताइएको छ । कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिङ विषय अध्यापन गरिएको छ ।

तपाईको प्रतिक्रिया