मुस्ताङको नेचुङमा सशस्त्रको बिओपी

समाधान संवाददाता २०७६ कार्तिक १ गते १४:१३

एसके थकाली
जोमसोम

मुस्ताङको उत्तरी कोरला नाका नजिकैको नेचुङ भन्सार कार्यालय रहेको स्थानमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना हुने भएको छ । मुस्ताङस्थित जिल्ला सुरक्षा समितिको हालै बसेको बैठकले नेचुङस्थित भन्सार तथा क्वारेन्टाइनको प्रयोगविहीन भवनमा सशस्त्र प्रहरीको बिओपी स्थापना गर्ने निर्णय गरेको हो ।

सशस्त्र प्रहरी बललाई नेचुङस्थित भन्सार तथा क्वारेन्टाइन भवनमा व्यवस्थापन गर्न पहल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए । उनले भने ‘सशस्त्र प्रहरी बललाई नेचुङमा स्थापना गर्न लागेका छांै, यसको आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा पत्राचार गरेका छौं । तिहार लगत्तै सशस्त्रको टोली नेचुङमा बस्छ ।’

Advertisement

भन्सारको पूर्वाधारमा सशस्त्र प्रहरी तत्कालका लागि स्थानान्तरण गर्न लागिएको हो । २ वर्ष अघि कोरला नाकालाई लक्ष्य गरी सशस्त्र प्रहरी बललाई नेचुङ नजिकै २७ रोपनी जग्गा प्राप्त भइसकेका छ । उक्त जग्गामा सशस्त्र प्रहरी बलको भौतिक संरचना निर्माण गर्ने तयारीसमेत भएको अर्यालले बताए । सशस्त्रको भौतिक संरचना निर्माणका लागि छिट्टै टेन्डर खुल्ने तयारीमा छ । यसअघि लोमन्थाङको लुंखुफाँटमा नेपाली सेनासमेत स्थानान्तरण भएको छ । सशस्त्रको बिओपी कोरला नाकाभन्दा करिब ५ किलोमिटर दक्षिणमा पर्छ ।

यस्तै जिल्ला सुरक्षा समितिले लोमन्थाङस्थित सीमा प्रहरी चौकीलाई क श्रेणीको इलाका प्रहरी कार्यालयको रुपमा स्तरवृद्धि गर्ने र इलाका प्रहरी कार्यालय छोसेरलाई सीमा प्रहरी कार्यालयको रुपमा रुपान्तरण गरी यसका लागि भौतिक पूर्वाधार तथा आवश्यक जनशक्ति उपलब्ध गराइदिन गृह मन्त्रालय समक्ष पत्राचार भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए ।

Advertisement

सुरक्षा समितिले कोरला नाकास्थित सीमा पिल्लर संरक्षण, चोरी सिकारी तथा अवैध गतिविधिको निगरानी र राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्रको बिओपी स्थापना आवश्यक भएको अर्यालले बताए । उनका अनुसार उत्तरी सीमा क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण तथा तल्लो मुस्ताङ हँुदै उपल्लो मुस्ताङतर्फ हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्न छुसाङ प्रहरी चौकीलाई सुविधा सम्पन्न गर्न आवश्यक देखिन्छ । मध्य मुस्ताङमा पर्ने छुसाङ प्रहरी चौकीलाई समेत इलाका प्रहरी चौकीमा स्तरवृद्धि गर्न सकिए अपराध तथा चोरी सिकारी नियन्त्रण हुने प्रजिअ अर्यालले खुलाए । उनले छुसाङमा ब्यारियल गेट राखेर यात्रु चेकजाँचको आवश्यकता औंल्याए ।

कोरला नाकामा चीनतर्फका भन्सार लगायत भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको छन् तर नेपाल पक्षमा कुनै पूर्वाधार निर्माण हुन सकेका छैनन् । सरकारले कोरला नाकाको दशगजा यता भन्सार लगायतको पूर्वाधार निर्माण गर्न १ हजार रोपनी जग्गा प्राप्त गरेको छ । सरकारले छिट्टै कोरला नाका नजिक अस्थायी पूर्वाधार निर्माण गर्ने संकेत देखाएको प्रजिअ अर्यालले बताए । चिनियाँ पक्षले ढुंवादेखि कोरलासम्म कालोपत्रे सडक विस्तार गरेको छ । नेपाल पक्षबाट निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना बेनी÷जोमसोम÷कोरला सडक सुस्त भएको सरोकारवालाले गुनासो गरेका छन् ।

सरकारले कोरला नाका खुलाउने दीर्घकालीन योजना अनुसार कोरला सडक विस्तार गर्न लागेको हो । कालीगण्डकी करिडोरले बेनी÷जोमसोम सडक ६० प्रतिशत र जोमसोम÷कोरला सडक ८० प्रतिशत सम्पन्न भएको जनाएको छ । यस्तै नेपाल दुरसञ्चार संस्थानले कोरला नाकासम्म भिटिएस मोबाइल सेवा विस्तार गरेको छ ।

तपाईको प्रतिक्रिया