सकियो सप्ताहव्यापी उद्धार अभ्यास

समाधान संवाददाता २०७६ कार्तिक ३ गते १२:५४

समाधान संवाददाता
पोखरा

शनिबार बिहान हेर्दा पोखराको मुख्य चोकमा ५ सवारी साधन ठोक्किएर चलाउन नमिल्ने अवस्थामा थिए । मोटरसाइकल, तेल बोक्ने ट्यांकर, पोखरा नगर बस, पोखरा मिनी माइक्रो र ट्याक्सी टुटफुट थिए ।

पृथ्वीचोकमा यसरी सवारी ठोक्किएको देख्दा बिहान बाटोमा हिँड्ने यात्रुहरु त्रसित थिए । बिहान ७ बजेदेखि ती सवारीको वरिपरि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, रेडक्रस लगायतका संस्थामा प्रतिनिधि र गाडी राखिएको थियो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी रेडक्रसले त्यहाँ सडक दुर्घटनामा उद्धार नमुना अभ्यास गर्ने तयारी गरेको थियो ।

Advertisement

योजना अनुसार नै बिहान साढे ९ बजे शरीरको विभिन्न भागमा रगत जस्तो रंग लगाएर २ जना रोडमा सुते, केही व्यक्ति सवारी साधनमा थिए । २ जना मृतक जसरी रोडमा सुतेपछि यात्रुहरु र वरिपरिका मानिसको हेर्ने भीड लाग्यो । १० बजेपछि पृथ्वीचोक वरिपरि हल्लाखल्ला हुन थाल्यो । कसैले मेरो छोरा दुर्घटनामा प¥यो भन्दै थिए त कसैले दाजुभाइ दुर्घटनामा परेको भन्दै कराउन थाले । कराएको केही समयमा प्रहरी, सेना, सशस्त्र प्रहरी, पुगेर उद्धार कार्य सुरु ग¥यो । सवारी चालकलाई पक्राउ पनि ग¥यो । केही घाइतेलाई उद्धार गरेपछि उक्त ठाउँमा घाइतेका आफन्तले नाराबाजी गर्न लागे । प्रहरीले काम ढिलो गरेको कारण २ जनाको ज्यान गएको र मृतक परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आगजनी गर्दै थिए । आगजनीपछि प्रहरी र प्रदर्शनकारीबीच केही समय झडप भयो ।

केही समयमा घटनास्थल गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुुर चुमान पुगे । उनले प्रहरीसँग घटनाको विवरण बुझे र मृतक र आन्दोलनमा रहेका घाइतेका आफन्तलाई भेटे । मृतक र घाइतेका आफन्तलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने र उपचारमा कुनै कमजोरी हुन नदिने बाचा गर्दै मन्त्री चुमान फर्किए । सडक दुर्घटनाको नमुना अभ्यास अन्तर्गत पोखरामा शनिबार सडक दुर्घटना उद्धार नमुना अभ्यास सकियो । गण्डकी प्रदेश सरकारको आयोजनामा ३ वटै सुरक्षा निकाय मिलेर १ हप्ता अघिदेखि पोखराको विभिन्न ठाउँमा विपतसम्बन्धी तालिम गरेको थियो । पानीमा डुबेको मानिसको उद्धार, खोचमा फसेको मानिसको उद्धार, आगलागी नियन्त्रण लगायत अभ्यास पनि यस अघि भएका थिए ।

Advertisement

गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले जल, जमीन र सडक दुर्घटनामा कुशल तरिकाले उद्धार गर्न अभ्यास जरुरी रहेको बताए । उनले नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र रेडक्रसले संयुक्त रुपमा अभ्यास गर्दा सुरक्षा निकायलाई सजिलो हुने बताए । उनले सबै सुरक्षा निकायका लागि तालिम महत्वपूर्ण भएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया