साना किसान सहकारी बेगनासको २०औं वार्षिक साधारणसभा

समाधान संवाददाता २०७६ कार्तिक ३ गते १३:३१

समाधान संवाददाता
पोखरा

साना किसान कृषि सहकारी संस्था बेगनासको २० औं वार्षिक साधारणसभा शनिबार भएको छ । साधारणसभाकै अवसरमा किसान, विद्यार्थी, ज्येष्ठ नागरिक, सहकारीका ऋणी तथा बचतकर्तार्लाइ सम्मान गरिएको छ ।

साधारण सभा उद्घाटनपछि जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले सहकारीको ध्येय सहकार्य र सहअस्तित्व भएकाले समुदायका सबै एकताबद्ध भएर काम गरेमात्रै सहकारीको उद्देश्य सफल हुने बताए । कृषि सहकारी भन्ने कृषिको काम नगर्ने प्रवृत्ति देखिन थालेकोप्रति चिन्ता व्यक्त गर्दै यस्ता कमजोरी चिर्ने गतिमा सहकारी लाग्न उनले सुझाए । स्थानीयस्तरमा माछा उत्पादन, दुग्धजन्य वस्तु उत्पादन, तरकारी उत्पादन लगायत गतिविधिबाट सहकारीहरु निकै लाभान्वित हुन सक्ने उनले बताए ।

Advertisement

कार्यक्रमका सहभागी अतिथि तथा वक्ताले सेयर सदस्यको सहकार्यमा सहकारी स्थापना हुन्छ भने अब सहकारी सहकारीबीच कार्यगत एकता गरी आयमूलक क्षेत्रमा सामूहिक लगानी गरी कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष सोमलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्वविद्यालय मानविकी संकायका डिन डा. इन्द्रप्रसाद तिवारी, लेखनाथ उद्योग वाणिज्य संघ महासचिव गोपीचन्द्र बास्तोला, पोखरा महानगरका कानुनी सल्लाहकार राममणि अधिकारी, लेखनाथ नगरपालिकाका पूर्व नगर प्रमुख विष्णुप्रसाद पोखरेल र किसान कालिका घिमिरे लगायतले सहकारीले कृषिको क्षेत्रमा लगानी बढाएर सेयर सदस्यको आय आर्जन वृद्धि हुने खालका योजना ल्याउनुपर्ने सुझाए ।

Advertisement

साधरणसभाका अवसरमा सहकारीका ज्येष्ठ सदस्य, तरकारी उत्पादक किसान, मत्स्यपालक किसान नियमित बचतकर्ता र असल ऋणी लगायत विभिन्न विधामा सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानाले स्वागत गरेको कार्यक्रम सञ्चालन सदस्य भरतप्रसाद तिवारीले गरेका थिए । सहकारीेको सेयर पुँजी ३ करोड २६ लाख ३३ हजार ८ सय छ । सहकारीमा १ हजार ५ सय सेयर सदस्य रहेका छन् ।

तपाईको प्रतिक्रिया