आलमलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

समाधान संवाददाता २०७६ कार्तिक ३ गते १४:५३

समाधान संवाददाता, काठमाडाैं

१४ जनाको हत्याको आरोपमा पक्राउ परेका मोहम्मद आफताब आलममाथि अनुसन्धान गर्न रौतहट जिल्ला अदालतले पाँच दिनको म्याद थप गर्न अनुमित दिएको छ ।

आइतबार न्यायाधीश चाणकमणि अर्यालको इजलासले आलमलाई अनुसन्धानका लागि अझै पाँच दिन म्याद थपेको हो ।

Advertisement

आलमको बयान बाँकी रहेकाले आजैबाट लागू हुने गरी पाँच दिन म्याद थप गरिएको  स्रेस्तेदार गुणराज पराजुलीले बताए ।

यसअघि मंगलबार न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद दिएको थियो ।

Advertisement

अदालतले यसअघि दिएको समय अपुग भएकाले प्रहरीले आलमलाई फेरि म्याद थप्न माग गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले जानकारी दिए ।

आलमलाई प्रहरीले घटना भएको १२ वर्षपछि २६ गते (आइतबार) रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।

उनलाई प्रहरी प्रधान कार्यालयबाट गएको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो ।

१२ वर्षअघि पहिलो संविधानसभा चुनावका बेला आलमकै घर नजिक भएको बम विष्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । विष्फोटमा घाइते भएका ११ जनालाई इँटाभट्टाको भुङ्ग्रोमा हालेर हत्या गरेको आरोपमा पक्राउ परेसँगै उनले सांसदको हैसियतमा कुनै पनि अधिकार प्रयोग गर्न पाउने छैनन् ।

उक्त हत्याकाण्डबारे जाहेरी दिने शेख रूक्साना खातुनलाई गोली हानेर मारेको आरोप समेत उनलाई लागेको छ ।

आलम अदालतबाट दोषी ठहर भएमात्र उनी निलम्बनमा पर्नेछन् ।

तपाईको प्रतिक्रिया