बन्दीपुरका ६ होटललाई उत्तम स्टिकर

समाधान संवाददाता २०७६ कार्तिक ३ गते १५:२५

कृष्ण न्यौपाने
दमौली

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले जिल्लाको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल तथा रेस्टुरेन्टको वर्गीकरण गरेको छ । कार्यालयले बन्दीपुरमा सञ्चालित ६ होटल तथा रेस्टुरेन्टलाई अनुगमन पश्चात् खाद्य स्वच्छता स्टिकर प्रदान गरेको हो ।

बन्दीपुर माउन्टेन रिसोर्ट, हिमालयन दरबार, बन्दीपुर भिलेज इन, नेवा गेस्ट हाउस, बन्दीपुर इको होटल र श्रेष्ठ होटलमा उत्तम (ख) वर्गको स्टिकर टाँसिएको डिभिजन प्रमुख शिवजी बरालले बताए । होटलको अनुगमन र मूल्यांनका आधारमा खाद्य स्वच्छता स्टिकर टाँसिएको जानकारी दिँदै डिभिजन प्रमुख बरालले निकट भविष्यमा बन्दीपुरका अन्य गुणस्तरीय होटलमा समेत खाद्य स्वच्छता स्टिकर टाँसिने बताए ।

Advertisement

बरालका अनुसार होटल तथा रेस्टुरेन्टको बाहिरी परिधिको सरसफाइ अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणालीलाई मूल्यांकनका आधार बनाएर स्टिकर प्रदान गरिएको हो ।

कार्यालयले यसअघि जिल्लाका १४ होटल तथा रेस्टुरेन्टमा खाद्य स्वच्छता स्टिकर टाँस गरेको थियो । दमौलीस्थित प्रेरणा नेवा खाजा घर, लाङ्घाली होटल, विकास चिया पसल, सन्तोष होटल, सुरेश मिष्ठान्न भण्डार, सुनगाभा, होटल पञ्चम, सासा इनमा उत्तम (ख) वर्गको र टीका तास घर, मुन लाइट रेस्टुरेन्ट एन्ड विन्स क्याफे, हरि मिष्ठान्न भण्डार, ट्रान्जिट रेस्टुरेन्ट, मटन तास घर र हाइफाइभमा सन्तोषजनक (ग) वर्गको र श्रेष्ठ खाजा घरमा सामान्य (घ) वर्गको स्टिकर टाँसिएको छ ।

Advertisement

वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० वटा प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अंक ल्याउने व्यवसायले अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्र र लोगो पाउनेछन् । अति उत्तम श्रेणीको होटल रेस्टुरेन्टले ३ वटा तारा र (क) सहित अति उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यो लोगोे पाउन होटल रेस्टुरेन्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ ।

उत्तम श्रेणीको खाद्य व्यवसायले २ वटा तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् । यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्मको अंक प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक)) को लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेस्टुरेन्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् ।

सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखिएको स्टिकर हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० अंक प्राप्त गर्नुपर्ने छ । पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउन योग्य पानीको व्यवस्था लगायत मूल्यांंकन मापदण्डमा उल्लेख छ ।

किराना पसलमा छैन मूल्यसूची
बन्दीपुरमा सञ्चालित किराना पसलले मूल्यसूची नराखेको पाइएको छ । बन्दीपुर नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग वाणिज्य संघ र होटल व्यवसायी संघको संयुक्त अनुगमनका क्रममा किराना पसलले मूल्यसूची नराखेको भेटिएको हो । डिभिजन प्रमुख बरालले अनुगमन गरिएकामध्ये ६ वटा किराना पसलमा मूल्यसूची नरहेको जानकारी दिए । बरालका अनुसार मूल्यसूची नराखेका पसललाई तत्कालै मूल्यसूची उपभोक्ताले देख्ने गरी राख्न सुझाव दिइएको छ । ‘अनुगमन गरिएका पसलमा अखाद्य वस्तु भने भेटिएन,’ उनले भने, ‘मूल्यसूची राख्न व्यवसायीलाई सचेत गराएका छौं ।’

तपाईको प्रतिक्रिया