पोखराका सबै वडामा संस्थानको पानी

समाधान संवाददाता २०७६ कार्तिक ४ गते १३:५६

केदार धमला
पोखरा

पोखरा महानगरपालिकाका ३३ वटै वडामा स्वच्छ पिउने पानी वितरण गर्ने योजनाका साथ खानेपानी संस्थानसँग सम्झौता भएको छ ।

नेपाल खानेपानी संस्थान र पोखरा महानगरबीच खानेपानी खानेपानीको दीर्घकालीन व्यवस्थापन गर्न ६ बुँदे सम्झौता भएको हो । आइतबार नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द प्रसाद र पोखरा महानगरका मेयर मानबहादुर जिसीबीच ६ बुँदे सम्झौता भएको हो । पोखरा महानगरपालिको समग्र खानेपानी व्यवस्थपानका लगि बृहत गुरु योजना बनाउन खानेपानी संस्थान र महानगरको प्राविधिक टोली तत्काल खटिने भएको छ । पोखरा महानगरको समग्र ३३ वटै वडामा सञ्चालित साना तथा ठूला सबै खानेपानी योजना एवं दैनिक सञ्चालनको व्यवस्थापन संस्थानबाट गर्ने गरी कार्यअघि बढाउने सम्झौता भएको छ ।

Advertisement

गुरुयोजना अनुसारका योजना कार्यान्वयनका लागि पानीको स्रोत तथा जग्गाको व्यवस्थापन महानगरले गर्ने, योजना एवं दैनिक कार्य सञ्चालनको आर्थिक व्यवस्थापन संस्थानले गर्ने, योजनाको निर्माण तथा विस्तार कार्यलाई दुबै पक्षले निरन्तरता दिने, एकीकृत खानेपानी व्यवस्थापनका लागि आवश्यक समन्वय एवं नियमित सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौतामा खानेपानी संस्थानका संस्थागत महाशाखा प्रमुख त्रिदीपकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थान पोखराका प्रमुख निरण महर्जन, पोखरा महानगरका इन्जिनियर राजु रेग्मी र ध्रुवराज भट्टराई, नेपाल खानेपानी संस्थान हेम्जा शाखाका प्रमुख दिनेश्वरप्रसाद यादव, संस्थानका इन्जिनियर रामचन्द्र लामिछाने र सन्तोष दासको हस्ताक्षर छ ।

Advertisement

यता नेपाल खानेपानी संस्थानले ट्रिटमेन्ट प्लान्टसँगै पोखरा महानगरभित्र १ सय १० किलोमिटर पाइप लाइन विस्तारको कामलाई निरन्तरता दिने भएको छ । पानी शुद्धीकरण आयोजनाको ८ प्रतिशत काम सकिएको छ । प्लान्टसँगै पाइप लाइनको काम अघि बढाउने भएको हो । पोखरा महानगरको सडक नाप्ने काम थालिएको छ । सडकमा रातो घेरो लगाउँदै जापानिज सहयोगी संस्था जाइका र खानेपानी संस्थानको टोली खटिएको नेपाल खानेपानी संस्थान पोखरा शाखाका प्रमुख इन्जिनियर नीरण महर्जनले जानकारी दिए ।

संस्थानको पाइप बिछ्याउने योजना जापानी सहयोगी संस्था जाइकाको आर्थिक सहयोगमा भएको हो । निर्माण थालिएको ३ वर्षभित्रमा काम सक्ने जापानी ठेकेदार कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जनाएको छ । नेपालका तर्फबाट सबकन्ट्याक्टर स्वच्छन्द निर्माण सेवाले कामलाई प्राथमिकता दिँदै आएको जनाएको छ ।

निर्माण सेवाका प्रमुख नारायण दुवाडीका अनुसार पोखराको यो योजनालाई निर्धारित समयमै सक्ने गरी काम अघि बढाइएको छ । उनले मजदुर अभाव, कच्चा सामग्रीको अभाव तथा डकुमेन्टको सवालमा कुनै समस्या नआउने बताए । पोखरामा खानेपानीको समस्या विस्तारै समाधान हुँदै आएको छ । जाइकाको सहयोगमा खानेपानीको मुहान मर्दीखोलादेखि बजार क्षेत्रका विभिन्न ठाँउमा पाइपलाइन विस्तार गरिनेछ ।

जाइकाको सहयोगमा खानेपानीको मुख्य वितरण लाइन, सर्भिस लाइन विस्तार गरिनेछ । पोखराका प्रमुख महर्जनले भने, ‘१३ किलोमिटर ट्रान्समिसन लाइन र ९ किलोमिटर मुख्य वितरण लाइन विस्तार गर्ने योजना छ ।’ उनले भने, ‘३ वर्षभित्रमा पूरा गर्ने अठोटसहित काम सुरु भइसकेको छ ।’ खानेपानीको मुहान मर्दी खोलाको ड्याम नजिकै ग्रिड च्याम्बर निर्माण गरिने योजना महर्जनले सुनाए ।

पुरञ्चौरमा प्रशोधन केन्द्र निर्माणक्रम जारी छ । जाइकाको सहयोगमा पोखरा ५ मालेपाटन, पोखरा ११ मनिपाल फूलबारी र पोखरा १५ कोलपाटनमा २० लाख लिटर क्षमताका ओभरहेड खानेपानी ट्यांकी निर्माण गरिने छ । संस्थानले ६ इन्चदेखि २० इन्चसम्मको पाइप विस्तार गर्ने भएको हो । संस्थानले मनिपाल क्षेत्रमा पाइप विस्तारको काम केही टुंग्याईसकिएको जनाएको छ । ५ अर्ब लागतको खानेपानीको योजना सन् २०२१ को अन्त्यसम्ममा टुंग्याउने लक्ष्य छ । योजनाले प्रशोधन हुने पानी पोखराको माग अनुरुप वितरण हुनेछ । पोखरामा दैनिक साढे ४ करोड लिटर पानीको माग छ ।

हालको अवस्थामा संस्थानले दैनिक ४ देखि ८ घण्टासम्म पानी वितरण गर्दै आएको छ । संस्थानले भौगोलिक क्षेत्र हेर्दै पानीको प्रेसर र पाइपलाइनको अवस्था जाच्दै १ दिन बिराएर वितरणसमेत गर्दै आएको छ ।

पोखरामा दैनिक १० करोड लिटर पानी आपूर्तिको लागि अध्ययन तयारी थालिएको संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले जानकारी दिए । डा. प्रसादले हर्पन खोला र विजयपुर खोलाबाट १÷१ करोड लिटर पानी आपूर्ति गर्ने योजनामा संस्थानले अध्ययन थाल्ने बताए । ४१ हजार धाराबाट पानी वितरण गर्दै आएको पोखरा शाखाले शाखा विस्तार अभियानलाई समेत ध्यान दिने भएको छ ।

संस्थानका महाप्रबन्धक प्रसादले उपभोक्ताको माग र चाहाना अनुरुप सेतीपारी, सेतीवारी र हेम्जासहित ३ वटा शाखा कार्यालयमार्फत पोखरेलीलाई सेवा दिने बताए । आइतबार पोखरा आएका महाप्रबन्धकले पोखरा महानगरको चाहना, मन्त्रालयको योजना र संस्थानको लगावले उपभोक्तालाई प्रभावकारी सेवा दिने उल्लेख गरे ।

खानेपानी संस्थानले हाल मर्दीखोला मुहान, भोटीखोला मुहान, कालीमुढा मुहान र बालधारा मुहानबाट उत्पादन हुँदै आएको पानी वितरण गर्दै आएको छ । संस्थानले पोखराको विभिन्न क्षेत्रमा बोरिङ सञ्चालन गरेको छ । फूलबारी, पार्दी, हिमालीटोल, अमरसिंहचोक, चाउथे, माटेपानी र घलेचोक रामबजार क्षेत्रमा जमीनको पानी निकालेर वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया